आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस कायम भएको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको हो।
यसअघि आजै बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पछिल्लो हो।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ।
हिजो शुक्रबार भने काठमाडौँ उपत्यकाको अधिकतम २०.६ तथा न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थिए।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ, आकाश सफा रह्यो भने घट्छ। अनि यसको ठीक उल्टो दिउँसोचाहिँ बादल लाग्यो भने घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा रह्यो र दिनभर घाम लाग्यो भने बढ्छ।
न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।
मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
यसैबीच मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज दिउँसोदेखि काठमाडौँ उपत्यकाको मौसम पनि बदली हुने भएको छ।
‘आज दिउँसो काठमाडौँमा घाम–बादल, घाम–बादल हुने सम्भावना छ’, उनले भने, ‘दिउँसोलाई पानी नै पर्ने सम्भावनाचाहिँ देखिएको छैन, तर बादल लाग्ने, मौसम बदली हुने सम्भावना छ।’
उनले थपे, ‘त्यसैले आज काठमाडौँमा तुलनात्मक रूपमा मौसम चिसो हुने सम्भावना छ, रातिचाहिँ छिटपुट पानी पनि पर्छ कि भन्ने अनुमान गरेका छौँ।’
Shares

प्रतिक्रिया