बागमती


राक्सिराङ हाटबजार : साग, सिस्नु र गिठ्ठाले मूल्य पाउँदा स्थानीय दंग

राक्सिराङ हाटबजार : साग, सिस्नु र गिठ्ठाले मूल्य पाउँदा स्थानीय दंग

सुनिता विष्ट
पुस १६, २०८१ मंगलबार १८:१७, काठमाडौँ

मकवानपुरको राक्सिराङ गाउँपालिका–३ की ५१ बर्षकी विष्णुमाया थिङ सोमबार सबेरै उठिन्। करेसाबारीमा लहलह भएका रायोको साग, भान्साको र्याकमा राखिएको ३ बट्टा घिउ र अघिल्लो दिनै टिपेर मुठा बाँधेको १० मुठा तोरीको साग र ३ पोका सिस्नु ठिक पारिन्। ५ किलो जति वन तरुल र ३ किलो जति पिँडालुका सेलाहरुसहित सबै सामान मिलाएर एउटा डोका राखिन्। 

विष्णुमायाले बिहानको खाना हतारमै खाइन्। पिँढीमा राखेको उक्त सामानसहितको डोको बोकेर उनी लागिन् राक्सिराङ–५ चैनपुरमा लाग्ने कृषि हाटबजारतिर। बिहानको ११ बजेतिर हाटबजार स्थलमा पुगिन्। हाट भर्नका लागि हेटौंडा बजारदेखि मनहरीसम्मका स्थानीय पुगेका थिए। विष्णुमायाले आफ्नो डोको बिसाएर सामान भुँइमा राख्न नपाउँदै उनले ल्याएको रायोको साग बिक्री भयो। 

साग हातमा लिँदै हाट भर्न आएकी महिलाले सोधिन्–आमा यो सागको कति रुपैंया हो?

लामाले अकमक्क हुँदै जवाफ फर्काइन्–खै नानी भर्खर आको, अरुले कातिमा बेचेको छ थाहा छैन।

ती महिलाले भनिन्, ‘अन्त त ५० रुपैंया भनिराछन्, तँपाईकोमा कति होर?

लामाले मुसुक्क हाँस्दै भनिन्–अब साग त धेरै राम्रो छ नानी। आर्गानिक नै हो। ५० रुपैंया मुठामै लानुस् न त।

विष्णुमायाले त्यति भनेपछि ती महिलासँगै आएका अन्य दुईजनाले पनि एक/एक मुठा साग किने। क्षणभरमै ३ मुठा सागको १५० रुपैंया कमाइन्। त्यसको केहीबेरमा मनहरी बजारबाट पुगेका एक समूहले लोकल कुखुराको अण्डा र तरुल किनिदिए। उमेर ढल्किएर चाउरिएका गालाहरु पैसा सम्हालेर पोल्टामा राख्दै तनक्क बनाएर मुस्कुराइन् विष्णुमाया। 

‘बिक्ला नि नबिक्ला भनेर सामान धेरै ल्याकै थेन,’ उनले भनिन्, ‘यहीँका मान्छेले के किनेर लैजाला भन्ने लागेको थ्यो। त्यहीभर सामान पनि धेरै ल्याथेन। हाट भर्न सहरकै मान्छे धेरै आउँदो रै’छन्। साग बिक्यो। खुसी लागेको छ।’

यता, राक्सिराङ–५ सरिखेतकी केशरकुमारी कार्कीका घरमा दुहुनो भैंसी कहिल्यै टुट्दैन। पहिल्यैबाट दही, मोही खानकै लागि भैंसी पाल्दै आएकी उनको घरमा ५ मानाजति नै घिउ जम्मा भएको थियो। छोराछोरी बाहिर रहेका कारण दुई दम्पत्तिले मात्रै खाइनसकेको घिउ उनले सोमबार चैनपुरमा लागेको कृषि हाट बजारमा ल्याइन्। बारीमै फलेका साग, कागती र मुला समेत बेच्नका लागि ल्याइन्। 


घरमै पालेको लोकल भैंसीको सेतो घिउको बट्टा देख्नेबित्तिकै हाट बजार पुगेका धेरैका नजर पर्‍यो। दिनभरजसोमा उनले लगेका सबै सामान बिक्री भयो। पोल्टामा ६/७ हजार रुपैंया जम्मा भएपछि कार्कीले दंग पर्दै भनिन्, ‘घरमा अलिकति मास पनि थियो, त्यो पनि ल्याउन पाको भए बिक्री हुने रै’च। म त कहाँ यस्तो बिक्री होला भन्ने सोचेकी थिएँ।’

राक्सिराङ–८ देविटारका राजकुमार स्याङ्तानले हाटबजार भर्न आएका मानिसहरुलाई गिठ्ठाको स्वाद चखाइरहेका छन्। हिमाली देविटार कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका स्याङ्तान जंगलमा पाइने गिठ्ठा बेचेरै आम्दानी गर्न पाएकोमा उनी दंग छन्। 

उनलाई सघाउनका लागि सहकारीमा आवद्ध सदस्यहरु पनि सँगै आएका छन्। आफ्नो बारीमा कृषि उत्पादन सहकारीको लेबल लगाएर बिक्री गर्छन्। बिक्री गरेबाफतको २ रुपैंया सहकारीको लागि जम्मा हुन्छ भने बाँकी पैसा उनीहरुले आफ्नो घरखर्चमा प्रयोग गर्ने गरेका छन्।

गाउँमै फलेका गिठ्ठा–भ्याकुर, रायोको साग, कोदो, फापरको पिठो, पानी घट्टामा पिसेको मकैको पिठो पाइने भएपछि हाट बजारमा राक्सिराङका मात्रै होइन, हेटौंडादेखि मनहरीसम्मका ग्राहक पुग्ने गरेका छन्। 

स्थानीय उत्पादनलाई गाउँमै बिक्रि गरेर आम्दानीको स्रोत बढाउने लक्ष्यसहित गाउँपालिकाले हाट बजार सञ्चालन गर्ने निर्णय गरेको हो। पुस १५ गतेबाट यहाँ हाटबजार लाग्न सुरु भएको हो। अब हरेक १५/१५ दिनमा अर्थात् हरेक महिनाको १ र १५ गते हाट बजार लाग्नेछ। 

सोमबार राक्सिराङ–५ चैनपुरमा सञ्चालित हाट बजारमा गाउँमै उत्पादित रैथाने बालीदेखि सिस्नु र अर्गानिक च्याउदेखि वन तरुलसम्म बिक्री गर्नका लागि स्थानीयले ल्याएका थिए। अघिल्लो बर्षदेखि हिउँदमा लगाइने यो कृषि हाट बजारले राक्सिराङका नागरिकहरुमा उत्साह थपिएको छ। 

आफ्ना बारीमा लगाइएका थोरै तरकारीहरु बिक्री गर्ने ठाउँ नहुँदा गाईवस्तुलाई खुवाउनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै स्थानीयहरु खुसी देखिएका छन्। गाउँपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको हाट बजार बर्षा लागेपछि केही समय रोकिएको थियो। स्थानीय संस्कृती र रैथाने बालीको संरक्षणका लागि हाट बजार सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए। 

‘हामीले स्थानीयलाई आयआर्जनमा जोड्न र यहाँको संस्कृती संरक्षणका लागि हाट बजार सञ्चालन गर्ने निर्णय गरेका थियौँ,’ उनले भने, ‘सोही अनुसार सञ्चालन गरिरहेका छौँ। यसको जिम्मा प्रत्येक वडालाई दिएका छौँ। उत्कृष्ट हुने वडालाई पुरष्कृत गर्ने योजना पनि छ। अघिल्लो बर्ष उत्कृष्ट भएका वडालाई यो बर्षको उद्घाटन समारोहमा पुरस्कृत समेत गरेका छौं।’

उद्घाटन कार्यक्रममा चेपाङ जातिको पहिचान झल्काउने नाच, गान तथा नाटकहरु समेत प्रस्तुत गरिएको थियो। हाट बजारमा स्थानीय उत्पादनहरु जस्तै, चिउरीको मह, तरुल, गहत, मास, मस्याङ, भटमास, गोलभेँडा, काउली, गुन्द्रुक, लोकल कुखुरा, लोकल खसीको मासु, लोकल बंगुरको मासु, आरनमा उत्पादित फलामे औजारसहित स्थानीय उत्पादनको बिक्री हुने गरेको छ।

चालु आर्थिक वर्षमा १० पटक यहाँ हाटबजार मेला आयोजना गर्ने योजना छ। अध्यक्ष मल्लका अनुसार हाटबजारलाई अब नितान्त मौलिक उत्पादन, कला, साहित्यको चौतारीको रुपमा विकास गरिनेछ।अब हरेक हाट बजारमा फरक–फरक वडाले आफ्नो कला, साहित्य, संस्कृति प्रदर्शन गर्नेछन् भने प्रतियोगितात्मक रुपमा कार्यक्रमहरु गरिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad