२०७२ सालको भूकम्पका कारण भत्काउनुपर्ने सूचीमा रहेको भवनमा बागमती प्रदेश सरकारले दुईवटा मन्त्रालय राखेको छ। तत्कालीन समयमा भत्काउनुपर्ने सूचीमा परेपछि उक्त भवनमा रातो स्टिकर टाँसिएको छ। हेटौँडा-२ स्थित मुख्यमन्त्री कार्यालयसँगै रहेको तत्कालीन जिल्ला विकास समितिको पुरानो भवनमा प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालय राखिएका हुन्।
गत वर्षदेखि नै उद्योग मन्त्रालय रहेको उक्त भवनमा शुक्रबार (मंसिर ७) देखि सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि थपिएको हो। मन्त्रालय फुटाएर गत वर्ष उद्योग मन्त्रालय तथा गएको कात्तिक २७ गते मात्र सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको थियो।
बागमतीमा मन्त्रालयको संख्या बढेपछि घरभाडा खर्च जोगाउने भन्दै तत्कालीन उद्योगमन्त्री रामकृष्ण चित्रकारले खाली रहेको उक्त भवन मर्मत गरेर मन्त्रालय सारेका थिए। अहिलेका सहकारीमन्त्री मदुकुमार श्रेष्ठले पनि भाडाको घरमा नहुने भन्दै पुरानै भए पनि सरकारी भवनमै आफ्नो मन्त्रालय राख्ने निर्णय गरेका हुन्।
यसरी एउटै जीर्ण भवनमा दुईवटा मन्त्रालय सञ्चालन भइरहेका हुन्। मर्मत गर्दै बस्ने उद्देश्यले यसै भवनबाट मन्त्रालयका काम/कारबाही सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।
भूकम्पका कारण क्षतिग्रस्त भएकाले रातो स्टिकर टाँसिएको जोखिमपूर्ण भवनमा प्रदेश सरकार आफैँ बस्नु उचित हो त?
नेपालखबरको प्रश्नमा मन्त्री श्रेष्ठ भन्छन्, ‘अहिलेसम्म बस्न मिल्ने नै छ। हेर्दा जोखिम होला जस्तो देखिँदैन। राज्यकोषको रकम घरभाडामा खर्च नगरौँ भन्ने उद्देश्य हो। नत्र त राम्रो घर खोजेर पनि बस्न सकिन्थ्यो।’
यति मात्र होइन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत तत्कालीन जिल्ला विकास समितिकै जीर्ण भवनमा छ। बागमती सरकारमा ५ पटक मुख्यमन्त्री फेरिइसके तर अहिलेसम्म प्रदेश सरकारको स्थायी संरचना निर्माण अघि बढ्न सकेको छैन।
बागमतीमा हाल मन्त्रालयको संख्या १४ पुगेको छ। तीमध्ये ११ मन्त्रालय मात्र सरकारी भवनमा छन् भने संस्कृति तथा पर्यटन मन्त्रालय भाडाको घरमा छ।
प्रदेश सरकारको आफ्नै भवन नहुँदा प्रायः मन्त्री पनि भाडाको घरमा बसिरहेका छन्। मुख्यमन्त्री बहादुरसिंह लामा जिल्ला वन कार्यालय (मकवानपुर) का लागि बनाइएको भवनमा बस्छन्। यसअघिका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल पनि सोही भवनमा बस्थे।
यस्तै केही मन्त्री हेटौँडा सिमेन्टको आवासीय भवनमा बस्छन् भने केही भाडाकै घरमा बसेका छन्।
Shares

प्रतिक्रिया