बागमती


आज काठमाडौँका ३ स्थानमा प्रदर्शन हुने भएपछि खटाइयो ५ हजार प्रहरी र ५ सय ट्राफिक

सहकारीपीडित, एमाले र दुर्गा प्रसाईं समूहले गर्दै छन् यी ठाउँमा प्रदर्शन
आज काठमाडौँका ३ स्थानमा प्रदर्शन हुने भएपछि खटाइयो ५ हजार प्रहरी र ५ सय ट्राफिक

फाइल तस्बिर: बिहीबार सहकारीपीडितले काठमाडौँमा गरेको प्रदर्शन


नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार ९:५५, काठमाडौँ

काठमाडौँका तीन स्थानमा विभिन्न समूहले प्रदर्शन गर्दै छन्। 

माइतीघरमा केही दिनदेखि नै सहकारी पीडितहरूले प्रदर्शन गरिरहेका छन् भने आज सत्ताधारी नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले पनि काठमाडौँका फरक-फरक स्थानमा प्रदर्शन गर्ने भएका हुन्। 

एमालेले दरबारमार्गमा जागरण सभा गर्दै छ। जसअन्तर्गत उसले भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा सभा गर्नेछ। 

यस्तै हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले पनि कोटेश्वरमा प्रदर्शन गर्दै छ।

यसरी आज एकैदिन तीन ठाउँमा प्रदर्शन हुने भएपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुने भएकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन आज ५ हजारभन्दा बढी प्रहरी खटाइएको जानकारी दिए।

त्यस्तै ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्नाका लागि ५ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी पनि उनले दिए।

‘आज काठमाडौँका तीन स्थानमा फरक फरक समूहले प्रदर्शन गर्ने जानकारी पाइएकाले हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ’, प्रमुख जिल्ला अधिकारी आचार्यले नेपालखबरसँग भने, ‘मुख्य समस्या ट्राफिकको हो, त्यसैले आज हामीले ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएका छौँ। त्यसैगरी आम नागरिकको जनजीवनमा कुनै अप्ठेरो नपरोस् भनेर ५ हजारभन्दा बढी प्रहरी परिचालन गरेका छौँ।’

सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad