बागमती


काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि धुम्म, चक्रवातको प्रभाव हो?

काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि धुम्म, चक्रवातको प्रभाव हो?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार ८:२३, काठमाडौँ

काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि धुम्म देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार यतिबेला (शनिबार बिहान ८ बजे) उपत्यकाको आकाश बादलले ढाकेको छ। 

‘अहिले काठमाडौँ उपत्यकाको मौसम आंशिकदेखि साधारणतया बदली छ’, उनले भने, ‘यसको अर्थ घामलाई बादलले छेकेको अवस्था छ।’

उपत्यकाको मौसम बदली पश्चिमी र स्थानीय वायुका साथै भारतमा भीषण हावाहुरी र वर्षा गराएको ‘दाना’ चक्रवातको पनि थोरै प्रभावले भएको मौसमविद् लामिछानेको भनाइ छ। 

‘नेपालमा दाना चक्रवातको आंशिक प्रभाव परेको छ, तर यो चक्रवात कमजोर भइसकेकाले नेपालमा त्यसको प्रभाव पनि अब बिस्तारै घट्दो क्रममा छ,’ उनले भने। 

नेपालमा उक्त चक्रवातको त्यति ठूलो प्रभाव नपरेको, थोरैथोरै बादल ल्याउने काम मात्र गरेको लामिछानेले बताए। ‘अब त्यो क्रम पनि घट्दै गएको छ’, उनले भने, ‘किनभने त्यो चक्रवात अब डिप्रेसनमा गइसकेको छ।’

मौसमविद्का लामिछानेका अनुसार अहिले बिहान उपत्यकाको मौसम धुम्म रहे पनि दिउँसो बिस्तारै खुल्दै जाने सम्भावना छ। 

‘उपत्यकामा आज पानी पर्ने सम्भावनाचाहिँ एकदमै कम देखिन्छ’, उनले भने। 

बंगालको खाडीमा बनेको ‘दाना’ नाम दिइएको सामुद्रिक आँधी अर्थात् चक्रवात बिहीबार अबेर राति भारतको ओडिसा राज्यको जमिनमा बज्रिएको थियो। जसको प्रभावले भारतका ओडिसा र पश्चिम बंगालमा तीव्र हावाहुरीका साथ भारी वर्षा भएको थियो। 

जनधनको क्षति हुनसक्ने आशंकाले त्यहाँका सरकारले उद्धारको बलियो व्यवस्था गरेका थिए। तर सो चक्रवातले ती क्षेत्रमा रुख, बिजुलीका पोल लडाए पनि धनजनको खासै क्षति गरेको खबर अहिलेसम्म आएको छैन। 

मौसमविद्का अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि त्यो कमजोर हुँदै जान्छ।   

नेपालमा भने त्यसको सिधा प्रभाव नपरी आंशिक प्रभाव मात्र परेको र अब त्यो पनि कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्को भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad