बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११, पिप्लेमा गएको पहिरोमा पुरेका तीनवटा गाडी निकालिएको छ। तर, माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले गाडी सञ्चालनमा जोखिम भने कायमै रहेको काभ्रे प्रहरीले जानकारी दिएको छ।
काभ्रे प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले दिएको जानकारी अनुसार, बिहान पहिरोमा पुरिएका, लडेका र खसेका तीनवटै गाडीको उद्धार भएको छ।
बिहानको पहिरोमा सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई रोसी खोलामा खसालेको थियो भने खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको थियो। पहिरो पन्छाउन प्रयो गरिएको एक्स्काभेटर पनि पल्टिएको थियो।
अहिले बाटाको ट्र्याक खोल्नसम्म सम्भव भएको तर गाडी नै चलाउन सकिने गरी खुला भयो भन्ने अवस्था नरहेको एसपी खड्काले जानकारी दिइन्।
सडक विभागले बीपी राजमार्गमा आजबाट गाडी चलाउने भनेको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले बीपी राजमार्गमा यात्रा गर्न सिन्धुली जिल्लाभित्र समस्या नभए पनि काभ्रेतिर प्रवेश गर्ने अवस्था नरहेको बताए। उनले यस राजमार्गबाट काठमाडौँको यात्रा नगर्न चालक र यात्रुलाई आग्रह गरिएको पनि जानकारी दिए।
उनले काभ्रेको रोशी हुँदै काठमाडौँ हिँडेका गाडीलाई मदन भण्डारी राजमार्ग प्रयोग गर्न सूचित गरिएको बताए। ‘मूलकोटबाट रामेछाप निस्केर त्यताबाट काठमाडौँ निस्कन सकिन्छ,’ एसपी काफ्लेले भने।
Shares

प्रतिक्रिया