बागमती


बीपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण

बीपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण

बीपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण


नेपालखबर
असोज २३, २०८१ बुधबार ७:११, काभ्रेपलाञ्चोक

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ र रोसी गाउँपालिका-७ सीमास्थल चौकीडाँडामा रोसी खोलाको बाढीले दुई सय मिटर सडक बगाएको स्थानमा एकतर्फी यातायात सञ्चालन हुनेगरी सडक निर्माण गरिएको छ।

रोसी खोलाको बहावलाई सोझ्याएर खोला किनारमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो। 

पाँच दिनको अवधिमा उक्त स्थानमा एकतर्फी सवारीसाधन सञ्चालन हुनेगरी स्थायी सडक निर्माण गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी पाँच दिनमा सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको उनले बताए।

“रोसी खोलादेखि करिब २० देखि ५० मिटरसम्म उचाइमा अवस्थित उक्त स्थानको सडक तलसम्म नै कटान भएको थियो। सोमबारदेखि चौकीडाँडामा एकतर्फी सडक सञ्चालनमा ल्याएका छौँ”, कार्यालय प्रमुख योगेशले भने। खोलाको बहाव नघट्दा ‘क्रस–डाइभर्ट’ गर्न सजिलो र छिटो तरिका अपनाउन नसकिएको उनले बताए। 

अविरल वर्षाका क्रममा यही असोज १२ गते शनिबार उक्त स्थानमा सडकसम्पर्क टुटेपछि रोसी गाउँपालिकाका विपद्पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र परेका थिए। त्यसको भोलिपल्टदेखि हेलिकप्टरमार्फत उद्धार थालिएको थियो।

विभिन्न स्थानमा बाढीले सडक अवरुद्ध बनाएपछि उक्त राजमार्गमा रोकिएका सवारीसाधन सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी र सिन्धुलीको नेपालथोकबाट तेमालको सडक मर्मत गरी दुई दिनअघि खुलाइएकझो थियो।

“कार्यालयले उक्त राजमार्ग सञ्चालनार्थ काभ्रेतर्फबाट चार मेसिन प्रयोग गरेको थियो भने सिन्धुलीको नेपालथोकबाट काभ्रेपलाञ्चोकतर्फ पाँच डोजरलगायत मेसिन प्रयोग गरेको थियो। जनकपुरबाट आएका पाँच मेसिनबाट मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरेर केही सवारीसाधनलाई नेपालथोक हुँदै सिन्धुलीतर्फ नै फर्काएको थियो”, कार्यालय प्रमुख योगेशले भने। 

योगेशका अनुसार भकुण्डेदेखि नेपालथोकसम्मको सडक केकति क्षति भयो भन्ने एकिन तथ्याङ्क नआए पनि २९ मिलोमिटरको यस दूरीमा करिब दुई किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त रहेको अनुमान छ। यस्तै राजमार्गको कूल एक सय ६० किमिमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमि र नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमि गरी ८४ किमी सडकका विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले राजमार्ग सडक निर्माण गर्दा प्रति किमि रु ३५ करोड लागत थियो। उक्त रकम हालको हिसाबमा रु ५० करोडभन्दा माथि पर्नेछ। क्षति पुगेको करिब दुई किमि सडक र अन्य स्थानमा भएको क्षतिको मूल्याङ्कन गर्दा रु दुई अर्बभन्दा माथिको क्षति भएको  प्रारम्भिक अनुमान गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बीपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको थियो। अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड भने असोज १४ गतेदेखि एकतर्फी सवारीसाधन चल्नेगरी खुलाइएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमि सडक) निर्माण कार्य सुरु गरिएको थियो। विभिन्न खण्डमा विभाजन गरी निर्माण भएको सडक २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad