ad ad

बागमती


बागमतीमा प्रत्येक दिन थपिन्छन् डेंगीका सयजना बिरामी

बागमतीमा प्रत्येक दिन थपिन्छन् डेंगीका सयजना बिरामी

सुनिता विष्ट
भदौ २७, २०८१ बिहिबार १५:४२, हेटौंडा

लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमितको संख्या बागमती प्रदेशमा निन्तर बढ्दो क्रममा छ। चालु आर्थिक वर्ष २०८१/०८२ को साउन १ गतेदेखि हालसम्मको अवधिमा झण्डै २ हजार मानिस डेंगी संक्रमित भएका छन्।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार यस प्रदेशमा दैनिक ९० देखि देखि १ सय बढीको संख्यामा डेंगी संक्रमित भैरहेका छन्। चालु आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २६ गते अर्थात् बुधावारसम्मको अवधिमा २ हजार ४७७ जनामा डेंगी संक्रमण भएको छ।

मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषाललका अनुसार बुधवार (हिजो) ९४ जना डेंगीका नयाँ बिरामी थपिएका छन्। यस्तै मंगलबार १ सय ११ जना नयाँ बिरामी थपिएका थिए भने सोमबार ९८ जना डेंगीका नयाँ बिरामी फेला परेको बताइएको छ। सूचना अधिकारी डा. भुषालका अनुसार बागमतीमा प्रत्येक दिन १ सय को हाराहारीमा डेंगीका नयाँ बिरामी बढेका हुन्।

प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा डेंगीको प्रकोप फैलिएको मन्त्रालयले जनाएको छ। रसुवा बाहेक सबै जिल्लामा डेंगी संक्रमित भएको प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै बिरामी चितवनमा रहेका छन्। जहाँ १ हजार १० जना बिरामी भेटिएको मन्त्रालयको तथ्यांक छ।

यस्तै, चितवनपछि काठमाडौंमा देखिएको छ। काठमाडौंमा चालु आवको हालसम्मको अवधिमा ७१६ जनामा डेंगी संक्रमण भएको मन्त्रालयको तथ्यांक छ। जसमा गत साउन महिनामा १५७ जना डेंगी संक्रमित भएका थिए भने भदौ महिनाको हालसम्मको अवधिमा ५५९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

यस्तै, मकवानपुरमा हालसम्म ३२५ जनामा डेंगी संक्रमण भएको छ भने धादिङमा ६८, ललितपुरमा १७९, भक्तपुरमा ३४, काभ्रेमा ७०, नुवाकोटमा १९, दोलखामा १३, रामेछापमा ११, सिन्धुपाल्चोकमा १९ र सिन्धुलीमा १३ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ।

यद्यपि, चालु आर्थिक वर्षको हालसम्मको अवधिमा डेंगीका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको डेंगी संक्रमणकै कारण मृत्यु भएको थियो। सो अवधिमा ११ हजार ९०६ जना डेंगी संक्रमित भएको मन्त्रालयका सूचना अधिकारी भुषालले जानकारी दिए।

के हो डेंगी?
डेंगी सरुवा रोग हैन। तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ। डेंगी सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ। अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगी सर्ने खतरा हुन्छ। त्यसैले, बेडमा भर्ना भएका बिरामीहरूलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ।

खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगीका लागि जोखिमपूर्ण हुन्छ। गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ। त्यसैले डेंगीबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो। किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ।

एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ। जस्तो कि, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि। त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ नराख्न विज्ञको सल्लाह छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .