ad ad

बागमती


लाइसेन्सका लागि कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने तयारी

बागमतीमा मात्रै ८ लाख बढी लाइसेन्स छाप्न बाँकी
लाइसेन्सका लागि कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने तयारी

नेपालखबर
भदौ २६, २०८१ बुधबार २१:५६, हेटौंडा

प्रदेश सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने भएका छन्।

गत २० साउनमा सबै प्रदेशका यातायात मन्त्रीहरू सहभागी बैठकले लाइसेन्स छपाइमा भएको ढिलाइलाई ध्यानमा राखेर प्रदेशहरूले नै लाइसेन्स छाप्न तयारी थाल्ने र लाइसेन्स जारी गर्दा वा नवीकरण गर्दा उपलब्ध गराइने राजस्व तिरेको रसिदमै क्युआर कोड र लाइसेन्सबाहकको फोटो राख्ने निर्णय गरेको थियो।

सो निर्णय प्रदेशहरूले कार्यान्वयनमा लैजाने तयारी थालेका छन्।

सोही अनुसार बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय मातहत रहेको यातायात व्यवस्था कार्यालयले कर तिरेको रसिदमै क्यूआर कोड र फोटोको राख्ने प्रक्रिया अघि बढाएको प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बताए।

लाइसेन्स छपाई ढिलाई भैरहेको अवस्थामा हाललाई सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटोको राख्ने तयारी गरेको उनले जानकारी दिए।

‘लाईसेन्स संघले छाप्न नसक्ने, प्रदेशले नै यसको जिम्मेवारी लिनुपर्छ भनिसकेको अवस्था छ,’ मन्त्री महर्जनले भने, ‘हामी लाइसेन्स छाप्न तयार छौं। अहिले लाइसेन्स छपाई मात्रै होइन, विभागले चलाइरहेको विद्युतीय सवारी लाइसेन्स (इडीएल) पनि वल्ड भर्सन भैसकेको छ। त्यसले काम नै गर्न सकिरहेको छैन।’

यातायात मन्त्री महर्जनले थपे, ‘त्यो सफ्टवेयरको फेज पनि घटेको छ। सधैं सर्भर डाउन हुने समस्याले सेवाग्राहीहरूले दुख पाइरहनु भएको छ। त्यो दुःखको निराकरणका लागि इडीएल हामी आफैं बनाउन लागिरहेका छौं। एक महिनाभित्र इडीएलको काम सकिन्छ। त्यसको एक महिना भित्र लाइसेन्स नै छपाई गरेर वितरण गर्छौं।’  

त्यस भन्दा अगाडिको अवस्थामा सेवग्राहीको सहजताका लागि क्यूआर कोडको व्यवस्था मिलाउने मन्त्री महर्जनले बताए। उनका अनुसार लाइसेन्स नआउँदासम्म क्यूआर कोड स्क्यानमै सबै विवरण आउनेगरी व्यवस्था मिलाउन लागिएको हो। रसिदमै क्युआर कोड राखिएपछि त्यही कोड स्क्यान गरेर ट्राफिक प्रहरीले लाइसेन्सको वैधता जाँच्न पाउने मन्त्री महर्जनको दाबी छ। यसलाई छिट्टै कार्यान्वयन गर्नेगरी छलफल सुरु भएको बताइएको छ।

सवारी चालक अनुपति पत्रको परीक्षा लिने, सवारी साधनबाट कर उठाउनेजस्ता यातायातसम्बद्ध अधिकार प्रदेश सरकारलाई मात्रै छ। २०७४ पछि यातायात व्यवस्था विभाग मातहतका तत्कालीन यातायात तथा लाइसेन्स कार्यालयहरू प्रदेश मातहत हस्तान्तरण भइसकेका छन्।

अहिले देशभर लाइसेन्स परीक्षा पास गरिसकेका २० लाख जनाको लाइसेन्स छाप्न बाँकी छ। जसमध्ये बागमती प्रदेशका मात्रै करिब ८ लाख ५० हजार लाइसेन्स छाप्न बाँकी रहेको मन्त्रालयले जनाएको छ।

अहिले दैनिक औसत ५ हजार वटा नयाँ लाइसेन्स जारी वा नवीकरण हुन्छन्। लाइसेन्स छपाईका लागि बागमती प्रदेश सरकारले प्रर्याप्त बजेट विनियोजन गरेको समेत प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .