ad ad

बागमती


सरकारीलाई अर्गानिक खुवाउन चुनौती, बोर्डिङमा जंकफुडको बिगबिगी

सरकारीलाई अर्गानिक खुवाउन चुनौती, बोर्डिङमा जंकफुडको बिगबिगी

सुनिता विष्ट
भदौ ६, २०८१ बिहिबार ९:२२, हेटौँडा

सरकारले प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ। यसका लागि दैनिक प्रतिविद्यार्थी १५ रुपैयाँका दरले बजेट छुट्याएको छ। जसमा पोषणयुक्त खाजाको मापदण्ड बनाइएको छ। हरेक विद्यालयले स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी उक्त मापदण्डअनुसार क्यालोरी, प्रोटिन, फ्याट, आयोडिन, आइरन, जिंक र भिटामिन ‘ए’ मिलाएर खाजा तयार पार्नुपर्ने मापदण्ड छ।

सोहीअनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६, मा हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (मावि) को क्यान्टिनमा हरेक दिन खाजा पाक्छ। यसका लागि हेटौँडा उपमहानगरपालिकाले कक्षा ५ सम्म प्रतिविद्यार्थी १५ रुपैयाँका दरले खर्च दिन्छ।

जनप्रिय माविमा दिवा खाजा खाने विद्यार्थी झन्डै ५ सय जना छन्। मापदण्डअनुसार खाजा खुवाउन विद्यालय आफैँले अन्न, दूध, माछा, मासु उत्पादन गर्ने गरेको छ। 

‘स्थानीय सरकारले दिएको १५ रुपैयाँले खाजा खुवाउनै पुग्दैन’, विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईं भन्छन्, ‘बजारमा जे चिजको भाउ पनि छोइनसक्नु छ। बजारमै किन्नुपर्नेबाहेक धेरैकुरा हामी आफैँले उत्पादन गरेर खाजा खुवाइरहेका छौँ। जुन पोषिलो पनि हुन्छ। स्वस्थकर पनि।’

बागमती प्रदेश सरकारले ल्याएको ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रम लागू भएको यस विद्यालयमा उत्पादित हरियो तरकारी दिवाखाजामा प्रयोग गर्ने गरिएको छ। विद्यालय परिसरमै दुईवटा माछा पोखरी छन्। एउटा कुखुरा फार्म छ। गाईवस्तु पाल्ने गोठ पनि छ। गोठमा एउटा दुहुनो भैँसी र एउटा गाई छन्। दैनिक २५/३० लिटर दूध उत्पादन हुन्छ। सो दूध विद्यालयमै दिवाखाजाका लागि प्रयोग गरिन्छ। 

‘फार्ममा ब्रोइलर कुखुरा उत्पादन गरिन्छ। कुखुरा खाने बेला भएपछि हप्ताको दुई दिन मासु-चिउरा खुवाइन्छ’, प्रधानाध्यापक चौलागाईँले भने, ‘माछा पोखरीबाट उत्पादन भएका माछा बालबालिकालाई खुवाउँछौँ। जसरी भए पनि हामीले पोषिलो खानेकुरा खुवाइरहेका छौँ। खीर पकाउने दूध, चामल हामीले नै उत्पादन गर्दै आएका छौँ। नगरपालिकाले दिएको १५ रुपैयाँले अलिअलि भरथेग भएको छ।’

यता मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ३७ वटा विद्यालय छन्। ती सबै विद्यालयमा हप्ताको एक दिन बिहीबार रैथाने बालीको खाजा खुवाइन्छ। गाउँमै उत्पादित कोदो, फापर, मकै जुनेलोलगायत अन्नबाट बनेका परिकार विद्यार्थीलाई खाजाका रूपमा खुवाइने गरिएको छ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम घलानका अनुसार सबै विद्यालयले बिहीबार कोदोको सेलरोटी, फापरको रोटी, कोदोको हलुवा, भुटेको मकै-भटमासलगायत खाजा खुवाउने गरेका छन्। गाउँपालिकाले रैथाने बाली संरक्षणको कार्ययोजना ल्याएपछि प्रत्येक विद्यालयमा हप्ताको एकदिन रैथाने बालीको परिकार खुवाउने नियम बसालिएको हो। 

महँगो मूल्य 
स्थानीय स्तरमै उत्पादन हुने अन्नको प्रयोग गरिए पनि यो अन्य खाजाको तुलनामा महँगो पर्ने गरेको विद्यालयका शिक्षकहरूको गुनासो छ। बालबालिकालाई अर्गानिक खाजा खुवाउनु स्वास्थ्यका लागि लाभदायक भए पनि मूल्य महँगो पर्न जाने मकवानपुरगढी–४ कुसुमटारस्थित श्री मनकामना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक भोजराज चौलागाईं बताउँछन्। 

‘पालिकाले दिने एकजना बराबरको १५ रुपैयाँले अरू खाजा खुवाउन त मुस्किल पर्छ’, उनले भने, ‘हामीले धेरैजसो जाउलो, चिउरा तरकारी, गेडागुडीको रस र भुजा आदि खुवाउने गरेका छौँ। बिहीबार भने कोदो र फापरकै परिकार बनाएर खुवाउँछौँ। खाजा खुवाउन रकम अभावकै कारण थोरै पैसाले अघाउने खाजा के दिने भन्ने खालको तालिका बनाएका छौँ।’

रकम थप्दैनन् स्थानीय तह
विद्यालयमा खाजा खुवाउन प्रतिविद्यार्थी १५ रुपैयाँ अपुग भएको भनी शिक्षकहरूले पटक-पटक स्थानीय तहमा ध्यानाकर्षण गराइरहेका छन्। तर बजेट अभावका कारण रकम थप्न सक्ने स्थिति नरहेको मकवानपुरगढी गाउँपालिकाका शिक्षा शाखा अधिकृत राम घलान बताउँछन्।

‘चालु आर्थिक वर्षको बजेट बनाउने समयमा पालिका अध्यक्षज्यूलगायतसमक्ष थोरै भए पनि दिवाखाजाको रकम बढाउनुपर्ने माग आएको थियो, तर सम्भव भएन’, उनले भने।

संस्थागत विद्यालयमा ज‌ंकफुड​ 
सामुदायिक विद्यालयहरूमा पोषणयुक्त खाजा खुवाउन थालिए पनि संस्थागत विद्यालयमा भने ‘ज‌ंकफुड’ (पत्रु खाजा) कै बिगबिगी छ। हेटौँडा-३, बसामाडीमा रहेको सनसाइन इङ्ग्लिस बोर्डिङ स्कुलको क्यान्टिनमा हरेक दिन चाउमिन, पकौडा, चाउचाउ, समसाजस्ता खाजा पाक्छ। विद्यालयभित्रै रहेको क्यान्टिनमा जंकफुड बन्ने भएपछि विद्यालयका शिक्षकले साना कक्षाका बालबालिकालाई घरबाटै खाजा ल्याउन भन्ने गरेका छन्। 

घरबाट ल्याएका स्वस्थ खाजा खाने विद्यार्थीलाई पुरस्कार दिने सर्तमा हेल्दी फुड टिफिन ल्याउन भन्ने गरिएको विद्यालयकी एक शिक्षिका बताउँछिन्। तर विद्यालयको क्यान्टिनमा खाजाको सूची  परिवर्तन हुँदैन। विद्यालयमा पढ्ने प्रायः विद्यार्थीले त्यही पत्रु खाजा नै खाने गरेका छन्। 

जंकफुडले असर
पछिल्लो समय बालबालिकालाई विद्यालयमा मात्रै होइन, घरमा पनि जंकफुड खुवाउनले चलन बढेको छ। पसलमा पाइने तयारी  खानेकुराले बालबालिकालाई विभिन्न रोग लाग्ने गरेको हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. हरी खड्का बताउँछन्।

उनका अनुसार जंकफुड सेवनकै कारण बालबालिकामा डायरिया, गोसेलादेखि क्यान्सरसम्म हुने गरेका छन्।

‘सहरीकरण बढ्दै गएपछि हाम्रो समाजमा पनि जंकफुड प्रयोग बढ्दै गयो’, डा. खड्काले भने, ‘स्टोर गरेर राखेको खानेकुरा बालबालिकाका लागि मात्रै होइन, सबैका लागि हानिकारक हुन्छ। अजिनामोटो प्रयोग गरिएका खानेकुराले हड्डी मक्काउने समस्या ल्याउँछ। पछिल्लो समय जंकफुडकै कारण बालबालिका बिरामी हुने दर बढ्दै गएको छ।’

डा. खड्काका अनुसार कहिलेकाहीँ खाँदा बिरामी नभए पनि दिनहुँ त्यस्ता खानेकुरा खुवाउँदा बालबालिकामा दीर्घकालिन रोग लाग्ने जोखिम बढ्छ।

विद्यालयको क्यान्टिनमा चाउमिन, मःम, चपजस्ता खाजा खुवाउनुभन्दा सोही मूल्यमा खीर, जाउलो, दालभात, चिउरा तरकारी, हलुवा, रोटीजस्ता पोषणयुक्त खानेकुरा खुवाउन बालरोग विशेषज्ञ डा. खड्काको सुझाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .