ad ad

बागमती


सेनामा गएका साथीहरूको पेन्सन पाक्यो, बुवाले दिएको सारंगी बजाएर परिवार पाल्दैछन् दीपक

सेनामा गएका साथीहरूको पेन्सन पाक्यो, बुवाले दिएको सारंगी बजाएर परिवार पाल्दैछन् दीपक

दीपक गन्धर्व।


सुनिता विष्ट
साउन २७, २०८१ आइतबार १०:३१, हेटौँडा

ढाडमा कालो झोला। हातमा सारंगी। त्यही सारंगीको धुनसँगै आफ्नो जीवनलाई लय दिइरहेका छन् उनी अर्थात् दीपक गन्धर्व।

दाङको घोराही नगरपालिका-३ घर भएका गन्धर्व  दाङ भने विरलै पुग्छन्। किनकि उनको चुल्हो बाल्ने ठाउँ नै देशको राजधानी काठमाडौँ हो। त्यसबाहेक फाट्फुट्ट देशका अन्य सहर पनि पुग्छन् उनी।

यसै क्रममा केही दिनदेखि उनी हेटौँडामा छन्। अहिले उनी हेटौँडाका टोल-टोल, गल्ली-गल्लीमा सारंगीको धुन सुनाउँदै डुलिरहेका छन्।

माया तिमी आउँछौ कि भनेर
भीरको बाटो सम्मै छ खनेर 
जापान टोकियो, जापान टोकियो

मैले चिठ्ठी पठाकै थेँ कता रोकियो?

उमेरले ४ दशक नाघेका दीपक गन्धर्व यस्तै गीत गुन्गुनाउँदै सांरगी रेट्छन् र जीविकाका लागि खर्च जुटाउँछन्। 

रहर त उनको नेपाली सेना बन्ने थियो, तर उचाइ नपुगेकै कारण बाउबाजेकै पेसा अँगाल्न बाध्य भएको उनी बताउँछन्। 

‘द्वन्द्वकालका सेनामा भर्ती भएका साथीहरूको पेन्सन पाक्यो, म भने अझै यही सांरगीको टेन्सनमा छु’, हेटौँडाको मानसचोकमा भेटिएका गन्धर्वले ठट्टा गर्दै भने।

बुवा राते गन्धर्वको साथ लागेर १३/१४ वर्षकै उमेरदेखि सांरगी रेट्न सुरु गरेका उनले आधा दर्जन सारंगी फेरिसके। 

सारंगीको धुन बेचेरै पालिएको छ- दीपकको ५ जनाको परिवार।

‘गाउँमा शुभकार्य हुँदा गन्धर्वलाई गीत गाउन बोलाइन्थ्यो। बुवाले गीत गाइरहँदा मैले सारंगी बजाउन सिकेँ’, दीपक आफ्नो बाल्यकाल स्मरण गर्छन्, ‘एक/दुई वर्षमा त गीत गाउन पनि जानेँ। बुवालाई बोलाउने मान्छेहरूले जेठो छोरालाई पनि ल्याऊ भन्थे अरे! त्यही भएर बुवाले सधैँ लानुहुन्थ्यो। मैले गीत गाउँदा र नाचेको देखेर सबैजना दंग पर्थे।’

०००

‘काठमाडौँबाट रात्रिबस चढेर आएका हौँ। म त हेटौँडा पहिलोपटक आएको हुँ। मेरो साथी प्रकाशले ल्याएको हो। ऊ त प्रायः यहाँ आइरहेको हुन्छ। सारंगी बजाउनकै लागि हामी कता-कता पुगिरहेका हुन्छौँ’, दीपकले सुनाए।

परिवारको खम्बा थिए- उनका बुवा राते गन्धर्व। तर दीपक १४ वर्षकै हुँदा बुवा बिते। एउटा भाइ र आमाको संरक्षण गर्ने जिम्मेवारी उनको काँधमा आयो। भाइलाई पढाएर सेना बनाउने सपना पूरा गर्नु थियो भने आमालाई बुवा नभएको महसुस हुन नदिने गरी पाल्नु थियो।

यता राम्रो सारंगी बजाउने भनेर गाउँभरि चर्चा कमाएका आफ्ना पिता (राते गन्धर्व) को साख जोगाइराख्नु पनि थियो। गाउँमा बुवापछिको पहिलो रोजाइ थिए- दीपक।

कक्षा ५ पढ्दापढ्दै पढाइ छोडेका उनले घरखर्च जुटाउन गाउँ वरपर नै सारंगी बजाउने थाले।

गाउँमा उतिबेला सारंगी बजाउने गन्धर्वलाई सिदा दान दिइन्थ्यो। चामल, दाल, बेसार नुन र बारीमा फलेका हरियो तरकारी पनि राखेर दान दिन्थे। पैसा कमैले मात्रै दिन्थे। यही खाद्यान्न जम्मा गरेर दीपकको घरको चुल्लो बल्थ्यो।

गाउँमा बसेर कमाइ नहुने अवस्था देखिएपछि उनका पाइला बजारतर्फ मोडिए। १९ वर्ष पार गरेर उनी २० वर्षमा प्रवेश गरेका थिए। गाउँकै दाइ/काकाहरूको पछि लागेर उनी बसमा बजार आउन थाले।

दाङको तुलसीपुर, घोराही चल्ने बसमा आउँदा-जाँदा नै राम्रो कमाइ हुन थाल्यो। दिनभरि बजारतिरै सारंगी बजाउँदा त सोचेभन्दा पनि राम्रो पैसा हात पर्‍यो। 

यसरी हाताहाती पैसा आउन थालेपछि दीपक सहरकेन्द्रित भए। ‘गाउँमा त आजभोलि चाडपर्व मान्न मात्रै गइन्छ। कमाइ हुने भनेकै सहरमा मात्रै हो’, उनी सुनाउँछन्।

बुवाले दिएको सारंगी बोकेर जिल्लाका विभिन्न ठाउँमा पुग्न थाले। दीपकका भाइ दिनेश गन्धर्वले पनि कक्षा ८ मै पढाइ छाडे। उनी पनि दाजुको साथ लागेर सारंगी रेट्न सुरु गरे।

‘बुवाले दिने अंश भने पनि सम्पत्ति भने पनि यही एउटा सारंगी हो’, दीपक भन्छन्, ‘पकाएर खाने एकसरो भाँडा र सारंगी दिएपछि अंशबन्डा नै सकिन्थ्यो। लालपुर्जा भने पनि, सम्पत्ति भने पनि यही एउटा सारंगी हो। बुवाले दिएको सारंगी बजाउने सीपले नै जीवन कट्न लाग्यो।’

सारंगी बोकेर हिँडेका गन्धर्वका गीत सुन्न गाउँका मानिस निकै रहर गर्छन्। कथा, व्यथा र घटनालाई गीतको लय ढालेर सारंगीको धुन थपिदिँदा सुन्नेको लर्को लाग्छ।

‘तर सहरका मानिसहरूको रहर नै बेग्लै हुँदो रहेछ, उनी सुनाउँछन्, ‘बसमा गीत गाउन चढियो भने पनि बूढापाका मान्छेहरूले ध्यान दिएर सुन्छन्। सकेको दान पनि दिन्छन्। तर त्यही बसमा भएका तन्नेरीहरू झर्को मान्छन्।’

दिनभरि डुल्दा दीपकले दैनिक १ हजारदेखि १५ सय रुपैयाँसम्म कमाउँछन्। कतै ठूलै जमात भेटिँदा त २ हजार, २५ सयसम्म कमाइ हुने सुनाउँछन्। 

यही कमाइले उनको ५ सदस्यीय परिवार धानिरहेको छ। 

तर आफ्नो कमाइमा सन्तुष्ट छन् दीपक।

‘सन्तुष्ट के कुरामा मान्ने भन्ने पनि हो’, उनले थपे, ‘सँगैका साथीहरू विदेश गएर आए। बजारमा बिल्डिङ घर ठड्याएका छन्। कोही सैनिक भएर पेन्सन पकाइसके। म भने यही थोत्रो सारंगी रेटिरहेको छु। तर पनि मलाई केही गुनासो छैन, पुर्खाको पहिचान जोगाइरहेको छु। खान, लाउन र बालबच्चा पढाउन पुगिरहेकै छ। यतिमै सन्तुष्ट छु।’

दीपकको परिवारमा अहिले आमा, श्रीमती, एक छोरा र एक छोरी छन्।

छोरा २१ वर्षका भए। तर उनी सारंगी बजाउन थोरै-थोरै आए पनि यही पेसा अँगाल्न चाहँदैनन्। 

दीपकलाई भने बिस्तारै बाउबाजेको पेसा लोप हुने चिन्ता लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .