ad ad

बागमती


अर्थमन्त्री बनाउने सर्तमा शपथ, भोलिपल्ट सामाजिक विकासमन्त्रीको जिम्मेवारी, आज फेरि अर्थमन्त्री!

अर्थमन्त्री बनाउने सर्तमा शपथ, भोलिपल्ट सामाजिक विकासमन्त्रीको जिम्मेवारी, आज फेरि अर्थमन्त्री!

बागमती प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले


सुनिता विष्ट
साउन १२, २०८१ शनिबार १३:७, हेटौँडा

बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले पदको शपथ खाने दिन साउन ९ गते पार्टीभित्र कुरा नमिल्दा नेपाली कांग्रेसले ३ जना (मुख्यमन्त्रीबाहेक) लाई पछि मन्त्रालय तोक्ने गरी बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा पठायो। 

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेकपा एमालेलाई ६ र कांग्रेसलाई ७ मन्त्रालय भागमा परेका थिए। तर आन्तरिक सहमति हुन नसक्दा कांग्रेसले मन्त्रिपरिषद् गठनका दिन कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र मधुकुमार श्रेष्ठलाई बिनाविभागीय मन्त्रीका रूपमा शपथ खान लगाएको थियो। 

स्रोतका अनुसार त्यस दिन बुधबार कुन्दनराज काफ्लेलाई पछि अर्थमन्त्री बनाउने सर्तमा शपथ खुवाइएको थियो। तर भोलिपल्ट बिहीबार (साउन १० गते) उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइयो।

जसले गर्दा कांग्रेसका मन्त्रीहरूबीच असन्तुष्टि भएको थियो। मन्त्री पदको विवादकै कारण कांग्रेसका बाँकी ३ मन्त्रीलाई शपथ खुवाउन भनेर प्रदेश प्रमुखको कार्यालयमा बिहीबार साँझ तयार कार्यक्रमसमेत स्थगन गर्नुपरेको थियो।

बल्ल-बल्ल आज (शनिबार) कांग्रेसले आफ्नो भागमा परेका बाँकी स्थानमा मन्त्री पठाएको छ, तर प्रदेशमा भएका मन्त्रालयभन्दा एउटा बढी मन्त्री बनाउँदै। 

बागमतीमा जम्मा १३ मन्त्रालय छन्, जसमध्ये एमालेले ६ वटा लिइसकेको छ भने मुख्यमन्त्रीको कार्यालयसहित ७ मन्त्रालय कांग्रेसको भागमा थिए।

तर आन्तरिक भागबन्डा मिलाउनकै लागि उसले आज थप ४ जनालाई मन्त्री पदको शपथ खुवाएको हो। यसअघि मुख्यमन्त्रीसहित ४ मन्त्री उसले पठाइसकेको छ। 

आज प्रदेश प्रमुख यादव चन्द्र शर्माले कांग्रेसका सुरज चन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीलाई मन्त्री पदको शपथ खुवाएका हुन्। 

यस क्रममा मन्त्रालयको जिम्मेवारी पनि तोकियो। 

जसअनुसार लामिछानेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, महर्जनलाई युवा तथा खेलकुदमन्त्री, खड्गीलाई सामाजिक विकासमन्त्री तथा ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारीमन्त्री बनाइएको छ।

यस क्रममा अझ रोचक कुरा त के छ भने सुरुमा अर्थ मन्त्रालयको जिम्मेवारी दिने सर्तमा बिनाविभागीय मन्त्री बनाएर शपथ खुवाइएका कुन्दनराज काफ्लेलाई बिहीबार सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो, तर आज फेरि पद परिवर्तन गर्दै उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्रालय नपुगेकाले मधुकुमार श्रेष्ठको विभाग पछि तोक्ने भनिएको छ। 

कांग्रेसको आन्तरिक किचलोका कारण १३ मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रीको संख्या भने १४ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .