चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाइरहेका छन्।
चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्व मानिने यो हरेक वर्ष भदौ २२ मा मनाइन्छ।
यसपटक गोरखाको गण्डकी गाउँपालिका-६ तोमनडाँडामा भेला भई न्वागी मनाइरहेको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए।
उनका अनुसार विगतमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्वका लागि कार्यक्रम आयोजना गरिएको हो।
गत वर्ष भने धादिङको गजुरी गाउँपालिका-५ च्याङ्लीमा सामूहिक न्वागी मनाइएको थियो।
चेपाङ बाहुल्य रहेका चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ।
चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ।
न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ। यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रूपमा पनि लिइन्छ।
न्वागीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्र्रो ठोक्दै कुखुराको बलि चढाउँछन्। यस दिन चेपाङ समुदायले आफ्ना नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन्।
Shares
प्रतिक्रिया