ad ad

बागमती


काठमाडौँ महानगरको प्रस्टोक्ति- नयाँ सडकमा विगतमा पार्किङले ओगटे जति पनि बढ्दैन पैदलमार्ग

काठमाडौँ महानगरको प्रस्टोक्ति- नयाँ सडकमा विगतमा पार्किङले ओगटे जति पनि बढ्दैन पैदलमार्ग

नेपालखबर
साउन ६, २०८१ आइतबार ८:४७, काठमाडौँ

नयाँ सडक क्षेत्रमा भइरहेको पैदलमार्ग सुधारका क्रममा साविकको सडक नसाँघुरिने काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ।

भइरहेको सडकमा क्षति नपुर्‍याई विगतमा पार्किङले ओगटेभन्दा कम क्षेत्रमै पैदलमार्ग विस्तार गर्न लागेको र यसबाट यात्रु आवागमनदेखि सहज भई व्यापार व्यवसाय झन् फस्टाउने तर्क महानगरपालिकाले गरेको छ। 

महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी भन्छन्, ‘न्युरोडको कालोपत्रे सडकमा विगतमा मोटरसाइकल, सामान ढुवानीका साधन, कारहरू पार्किङ गरेर जति ठाउँमा राखिन्थ्यो, त्यति सबै ठाउँ पनि चाहिँदैन। सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताको जीवन्त आयामका लागि विगतमा पार्किङ हुने गरेको स्थानमा पैदलमार्ग बनाएर पैदलयात्रीको लागि उपलब्ध गराउन लागिएको हो।’ 

पैदलयात्रीको संख्या बढ्दै गएपछि यात्रा सहजता तथा सुरक्षाका लागि खुला बोलपत्रबाट निर्माण पक्ष आह्वान गरिएको महानगरको भनाइ छ।

निर्माण कम्पनीले गत जेठ ११ गते काम थालेको थियो। काम थालेको भोलिपल्ट डिभिजन सडक कार्यालयले संस्थागत अवरोध गर्‍यो।त्यसबाट रोकिएको काम पाटन उच्च अदालतले असार ३० मा अन्तरिम आदेश दिएपछि पुनः अगाडि बढेको हो। महानगरले पुनः काम थालेपछि स्थानीयले विरोध र अवरोध सुरु गरेका छन्।  

सहरी सडकको मापदण्डबमोजिम पैदलमार्ग विस्तार गरिरहेको महानगरको भनाइ छ।

उपाध्यक्ष राजभण्डारीका अनुसार, मिश्रित आवासीय क्षेत्रमा १.८ मिटर, मिश्रित व्यावसायिक क्षेत्रमा २.५० मिटर, बस बिसौनीमा ३ मिटर, बजार क्षेत्रमा ३.५ देखि ४.५ मिटर, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा ४ मिटर चौडा पैदलमार्ग आवश्यक हुन्छ। महानगरपालिकाको योजनाअनुसारको पैदलमार्ग निर्माण भएपछि मात्र यो मापदण्ड पूरा हुन्छ।

महानगरपालिकाकै सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार, १३ मिटर सडक भएको ठाउँमा ८ मिटर मूल सडक राख्ने, दायाँ २.५ र बायाँ २.५ मिटर पैदलमार्ग विस्तार गर्ने योजना छ। यस्तै ११ मिटर सडक भएको ठाउँमा ८ मिटर मूल सडक राख्ने, दायाँ १.५ मिटर र बायाँ १.५ मिटर पैदलमार्ग विस्तार गरिँदै छ। 

अध्ययनमा पैदल यात्रु शारीरिक अवस्थाका आधारमा निर्बाध हिँड्न आवश्यक पर्ने स्थानको आकार, यात्रुको घनत्व, उपलब्ध पैदलमार्गको विश्लेषण र सडक व्यवस्थापनका लागि प्रचलित कानुनले स्थानीय तहलाई दिएको अधिकारका आधारमा यो योजना तय गरिएको आयोगका उपाध्यक्ष राजभण्डारीको भनाइ छ।

‘यसरी पैदलमार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ भए जत्तिको ठाउँ पनि उपयोग हुँदैन,’ शाक्य भन्छन्।

शाक्यका अनुसार धर्मपथ सडक खण्ड १३ मिटरको छ। नयाँ सडकका बाँकी खण्ड ११ मिटरका छन्। बाँकी सडक खण्डमा विशालबजार, पाको, प्युखा मार्ग र खिचापोखरी मार्गका पैदलमार्ग हुन्। 

कति छ पैदल यात्रुको चाप? 
महानगरपालिकाको सहरी योजना आयोग र सहरी यातायात तथा सडक सुरक्षा एकाइले गत जेठ महिनामा नयाँ सडक क्षेत्रका पूर्वाधार, यसको उपयोगिता, समस्या र सम्भावित समाधानका उपायका विषयमा संयुक्त अध्ययन गरेका थिए।

अध्ययनमा मुख्य चोक, सडक किनारा र जेब्रा क्रसको प्रयोग गर्ने यात्रीहरूको संख्या, ट्राफिक नियम र मापदण्डसँग पैदल यात्रुको यात्रा सहजतालाई आधारका रूपमा लिइएको थियो । 

स्मार्ट क्यामराबाट पैदलयात्रीको आवतजावत संख्या तथा घनत्व मापन गरिएको थियो। यसरी गरिएको गणनामा जुद्ध शालिकबाट नयाँ सडक गेटतर्फ बेलुका ६ देखि ७ बजेसम्मको १ घण्टा अवधिमा ८ हजार ७४५ जना यात्रुले पैदल यात्रा गरेको देखियो।

इन्द्रचोकमा बेलुका ७ः४५ देखि ८ः४५ सम्म गणना गर्दा २ हजार ९३३ जनाले, धर्मपथमा बेलुका ५ः१५ देखि ६ः१५ सम्म ४ हजार ४३७ जनाले यात्रा गरेको देखियो।

नयाँ सडकको ताम्राकार हाउसबाट जुद्ध शालिकतर्फ राखिएको क्यामराबाट बेलुका ५ देखि ६ बजेसम्म १ घण्टामा ६ हजार ७४ जना यात्रीले र यही ठाउँबाट न्युरोड गेटतर्फ फर्काएर राखिएको क्यामराबाट बेलुका ५ः४५ देखि ६ः४५ सम्ममा ४ हजार १२७ जना पैदल यात्रीको भिड देखिएको थियो।  

यसरी अहिले उपलब्ध पैदलमार्ग अपर्याप्त भएको निष्कर्षसहित विस्तार गर्न सिफारिस गरिएको महानगरको योजना आयोगको भनाइ छ। 

पैदलमार्ग विस्तार नगर्दा पैदल यात्री मूल सडकमा आउनुपर्ने बाध्यात्मक अवस्था रहेको र यसले दुर्घटनाजन्य जोखिम रहेको पनि अध्ययनले औँल्याएको थियो। अझ पैदल यात्रीको संख्या क्रमशः बढ्दै जाने भएकाले पनि त्यो अवस्था व्यवस्थापन गर्न समेत पैदलमार्ग सुधारको खाँचो अध्ययनले देखाएको छ।

सम्पदा स्थलनजिकको क्षेत्रमा पैदल यात्राको सहजताले मौलिक संस्कृति संरक्षण र सहरी जीवन्ततामा महत्त्वपूर्ण अर्थ राख्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

सुरक्षा र सहज आवागमन भएपछि यस क्षेत्रको व्यापार व्यवसाय झन् बढ्न सक्ने प्रक्षेपण पनि महानगरको अध्ययनले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .