ad ad

बागमती


आत्मविश्वास गुमाएका जम्कट्टेल, जो अन्य दलसँग मत माग्नै सकिरहेका छैनन्

आत्मविश्वास गुमाएका जम्कट्टेल, जो अन्य दलसँग मत माग्नै सकिरहेका छैनन्

सुनिता विष्ट
साउन ३, २०८१ बिहिबार २०:८, हेटाैँडा

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आउँदो आइतबार (साउन ६ गते) प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय गरेका छन्। उनले विश्वासको मत प्रयोजनका लागि सभामुख भुवनकुमार पाठकलाई पत्र लेखिसकेका छन्। सोहीअनुसार प्रदेश सभा सचिवालयले आउँदो ६ गतेका लागि प्रदेश सभा बैठक आह्वान पनि गरिसकेको छ।

२४ असारमा नेकपा एमालेका मन्त्रीहरूले सरकारबाट राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले सदनबाट विश्वासको मत लिनुपर्ने भएको हो।

स्पष्ट अल्पमतमा परिसके पनि राजीनामा नदिएर ‘प्रचण्डपथ’ पछ्याइरहेका मुख्यमन्त्री जम्कट्टेलले यसपटक सदनबाट विश्वासको मत पाएर सत्ता जोगाउने सम्भावना क्षीण छ। केन्द्रमा बनेको सत्ता समीकरणअनुसार प्रदेशमा पनि एमाले र कांग्रेस नयाँ सरकार बनाउन तम्तयार छन्।

एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी (हानेपा) को समर्थनमा सरकारको नेतृत्व गर्ने अवसर पाएका मुख्यमन्त्री जम्कट्टेलको सत्ता भत्काउन एमालेले हात झिकिसकेको छ। जम्कट्टेलले हालको अवस्थामा एकीकृत समाजवादी र हानेपाको मात्र साथ पाएका छन्।

१ सय १० सदस्यीय बाग्मती प्रदेश सभामा सात राजनीतिक दलको प्रतिनिधित्व छ। सरकार बनाउन ५६ सिट भए पुग्नेमा कांग्रेसको ३७ र एमालेको २७ गरी दुवै दलको जोड्दा ६४ हुन्छ। यी २ दल मात्र सरकारमा सामेल हुँदा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी प्रतिपक्षमा जाने अवस्था छ।

सत्ता जोगाउने खेलमा छैनन् जम्कट्टेल
हुन त जम्कट्टेलले विश्वासको मत लिने मिति तय गर्नका लागि हानेपा बाग्मती संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य र नेकपा एकीकृत समाजवादी संसदीय नेता कृष्णप्रसाद शर्मा खनालसँग छलफल गरेका थिए।

यी दुई दलले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने पनि भनेका छन्। सरकारमा सहभागी हुँदा सघाएर आएको पार्टीले अप्ठेरो बेला छोड्न नहुने एकीकृत समाजवादी संसदीय दलका नेता खनाल बताउँछन्। माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने र अब बन्ने नयाँ सरकारमा सहभागी नहुने निर्णयमा पुगेको उनको भनाइ छ।

हानेपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता बज्राचार्यले बताए। यसअघि तीन पटकसम्म विश्वासको मतमा सघाएको हानेपाले चौथोपटक पनि मुख्यमन्त्री जम्कट्टेललाई नै साथ दिने निर्णयमा पुगेको पर्यटनमन्त्री समेत रहेका बज्राचार्यको भनाए छ।

यता, राप्रपाले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा छलफल नभएको बताएको छ। केन्द्रमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नसघाएको राप्रपा बाग्मतीमा पनि मुख्यमन्त्री जम्कट्टेललाई सघाउने पक्षमा देखिँदैन। राप्रपा बाग्मती संसदीय दलका नेता उद्धव थापाका अनुसार मुख्यमन्त्रीले राप्रपासँग विश्वासको मतका विषयमा छलफल पनि गरेका छैनन्।

‘अघिल्लोपटक त घरमै आएर भेट्नुभएको थियो। रातदिन फोन आइराख्थ्यो,’ उनले भने, ‘यसपटक मुख्यमन्त्रीज्यू शान्त देखिनुभएको छ। उहाँले विश्वासको मत दिनुपर्छ है भन्नुभएको छैन।’

उनले थपे, ‘हामीले कहाँ मत दिने-नदिने भन्न सक्छौं। सायद उहाँलाई यसपटक कसै गरी सत्ता जोगाउन सक्दिनँ भन्ने लागेर पनि होला। मतका लागि छलफल गर्नुभएकै छैन।’

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि विश्वासको मतको विषयमा मुख्यमन्त्री जम्कट्टेलले छलफल नै नगरेको बताउँछ। नेमकिपा बाग्मती संसदीय दलका नेता सुरेन्द्रराज गोसाईँ अघिल्लोपटक घरमै आएर मत मागे पनि यसपटक एक कल फोनसमेत नआएको बताउँछन्।

‘जे गरे पनि विश्वासको मत पाइँदैन भन्ने लागेर मुख्यन्त्रीलाई आफैँमा विश्वास नलागेको भएर मत पनि नमाग्नुभएको होला,’ गोसाईँले भने, ‘उहाँलाई आफूमाथि नै विश्वास छैन। विश्वासको मत किन माग्नुहुन्थ्यो र? अहिलेसम्म टुक्क म्यासेजसम्म पनि आएको छैन।’

उनका अनुसार मुख्यमन्त्रीले सहयोग मागे पनि नेमकिपा मत नदिने निष्कर्षमा पुगेको छ। यसअघि कहिल्यै विश्वासको मत नदिएको नेमकिपा स्वतःस्फूर्त रूपमा प्रतिपक्षको भूमिकामा रहने गोसाईँले बताए।

घट्दो विश्वास
मुख्यमन्त्री जम्कट्टेलले यसअघि सदनबाट तीनपटक विश्वासको मत लिएर सत्ता जोगाएका थिए। तीनैपटकको समर्थन हेर्दा अंक घट्दो क्रममा छ।

जम्कट्टेलले २०७९ माघ ३ गते पहिलोपटक विश्वासको मत लिँदा नेमकिपाबाहेक ६ दलको समर्थन पाए। कुल ११० सांसदमा १०५ जनाको समर्थन पाए।

उनले दोस्रोपटक सोही वर्ष चैत १० गते विश्वासको मत लिए। एमाले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएपछि जम्कट्टेलले दोस्रोपटक विश्वासको मतको सामना गर्नुपरेको थियो। त्यसबखत उनले ६७ मत मात्र पाए।

जम्कट्टेललाई तेस्रोपटक विश्वासको मत प्राप्त गर्न भने निकै ठूलो संकट परेको थियो। माओवादीले कांग्रेसको गठबन्धन तोडेर पुनः एमालेसँग सहकार्य गरेपछि जम्कट्टेलका लागि बहुमत जुटाउन हम्मे परेको थियो।

२०८० फागुन २३ मा कांग्रेसले सरकार छाडेर समर्थन फिर्ता लियो र जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिए। त्यसका लागि आवश्यक ५६ सदस्यको समर्थन जुटाउन निकै हम्मे परेको थियो।

अन्तिममा प्रदेश सभामा दुई सिट मात्रै रहेको हानेपालाई सरकारमा सहभागी गराएर जम्कट्टेलले सत्ता जोगाएका थिए। तर अब भने कुनै पनि हालतमा सत्ता जोगाउन सक्ने हालतमा छैनन् उनी। माओवादी, हानेपा र नेकपा एसले साथ दिए पनि उनीसँग जम्मा ३० जनाको मात्रै समर्थन हुनेछ।   

११० सदस्यीय बाग्मती प्रदेश सभामा माओवादीका २१, एकीकृत समाजवादीका ७ र हानेपाको २ सिट छ। सरकार जोगाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ।

सात राजनीतिक दल रहेको बाग्मतीमा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ सिट छ भने एमालेको २७, माओवादीको २१, राप्रपाको (सभामुख सहित) १३, नेकपा एसको ७, नेमकिपाको ३ र हानेपाको २ सिट छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .