ad ad

बागमती


जहाँ ब्राह्मणसँगै संस्कृत पढ्छन् दलित बालक

धर्म-संस्कृति ब्राह्मणको मात्रै हो भन्ने गलत धारणा चिर्न दलितलाई संस्कृत शिक्षा : प्रधानाध्यापक
जहाँ ब्राह्मणसँगै संस्कृत पढ्छन् दलित बालक

सुनिता विष्ट
साउन ४, २०८१ शुक्रबार ८:२, हेटाैँडा

उदयपुरको कटारी नगरपालिका १ का १२ वर्षीय शुभम विश्वकर्मा खैरो रंगको लामो कमिज र सुरुवालमा ठाँटिएर रुद्री पाठ सिकिरहेका छन्।

दुई महिनादेखि  संस्कृत भाषा पढिरेहका शुभमलाई सुरु सुरुमा निकै असजिलो लाग्यो। कक्षा ५ सम्म बोर्डिङ स्कुल पढेका उनलाई नेपाली अक्षरभन्दा अंग्रेजी अक्षर नै सजिलो लाग्थ्यो। अझ संस्कृत त कसरी पढौंला जस्तो नभएको होइन। तर अहिले शुभम गुरुसँगै संस्कृत श्लोक मज्जाले पढ्छन्।

अहिले शुभम्को बोल्ने शैली, व्यवहार र आचरण फेरिएको छ। सरस्वती स्तोत्र, दुर्गा पाठ र सूर्य नमस्कारजस्ता बिहानी कर्मसँगै शुभमको दिन सुरु हुन्छ। गाउँमा हुँदा आफूले छोएको पानी ठूला जातका मानिसले नखाएको क्षण उनलाई आँखामा झलझली छ। तर यहाँ सबैजना समान रूपमा बस्ने, खाने गर्न पाउँदा उनी फुरुङ्ग देखिन्छन्।

‘गाउँमा हुँदा त यस्तो वातावरण नै थिएन,’ शुभम्ले भने, ‘मोबाइलमा भिडिओ हेर्दा मजस्तै साना मान्छेहरूले संस्कृत पढेको देखेँ। अनि मलाई पनि साह्रै रहर लाग्यो। बाबा ममीलाई यस्तै सिक्ने भनेको थिएँ। तर उहाँहरूले यस्तो पढ्न बाहुनको कोखमा बास बस्न पर्थ्यो भन्नुभयो।’

उनले थपे, ‘सबैले पढ्न पाउने गरी हेटौँडामा संस्कृत पढाउन सुरु गरेको भन्ने थाहा पाएपछि बाबाले नै यहाँ ल्याइदिनुभएको हो।’

हिजोआज विद्यालयको पढाइभन्दा संस्कृत पढ्दा निकै रमाइलो लागेको शुभमको अनुभव छ। गाउँमा ब्राह्मणहरूले पूजापाठ गरेको देख्दा यस्तै पण्डित बन्न पाए हुन्थ्यो जस्तो लाग्ने उनलाई जातका कारण पनि पण्डित बन्न पाइँदैन भन्ने छाप मनमा गढेको थियो।

अब भने आफ्नो सपना पूरा हुन लागेको भन्दै भविष्यमा आफ्नो नामअगाडि ज्योतिषी थप्ने लक्ष्य रहेको उनी सुनाउँछन्। ‘पण्डित काम पनि गर्छु अनि ज्योतिषी पनि बन्छु’, शुभम्ले हाँस्दै भने।

हेटौँडा ८ कमानेका १४ वर्षका सम्राट दुरैली पनि सोही समूहका विद्यार्थी हुन्। टाउकोमा लामो टुप्पी र ब्राह्मणको भेषले उनलाई म दलित समुदायको बालक हुँ भन्ने लाग्न छाडेको छ। टीभीमा संस्कृत पढेको भिडिओ हेरेका सम्राटलाई यसरी नै टुप्पी पालेर, लामो कमिजमा सजिएर संस्कृत पढ्ने ठूलो रहर थियो। जातकै कारण रहर पूरा नहोला भन्ने चिन्तामा थिए उनी।

कक्षा ५ सम्म सामुदायिक विद्यालयमा पढेका उनी अहिले आफ्नो सपना पूरा भएकामा खुसी लागेको बताउँछन्।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१८ मा रहेको श्री वैदिक वानप्रस्थ आश्रममा सम्राट र शुभमजस्तै १८ जना बालकले संस्कृत भाषा पढिरहेका छन्। जसमध्ये १६ जना दलित समुदायका छन्। कक्षा ५ सम्म उत्तीर्ण भएका बालकहरूलाई कक्षा ६ मा भर्ना गरिएको छ।

आश्रममा सामुदायिक विद्यालयमै पठनपाठन हुने ५ सय पूर्णाङ्कका विषय पढाइन्छ भने २ सय पूर्णाङ्कको संस्कृत व्याकरण र संस्कृत साहित्य अध्यापन गरिन्छ। नेपाली, गणित, विज्ञान, सामाजिक र अंग्रेजी विषय समेत अध्यापन गराउने गरिएको छ।

संस्कृति र संस्कार जोगाउने उद्देश्यले गत वैशाखदेखि आश्रम सञ्चालनमा ल्याइएको आश्रमका प्रधानाध्यापक खगेन्द्र कोइरालाले बताए। धर्म र संस्कृति ब्राम्हणको मात्रै हो भन्ने गलत धारणा चिर्नका लागि आफूहरूले दलित समुदायका बालकहरूलाई संस्कृत पढाउन थालेको प्रधानाध्यापक कोइराला बताउँछन्।

‘धर्मले जात छुट्याएको छैन, जात त समाजले छुट्याएका हुन्। संस्कृत पढ्न सबै जातजातीले पाउँछन् भन्ने सन्देश दिन पनि दलित समुदायका बालकहरूलाई प्राथमिकतामा राखेर संस्कृत पढाउन सुरु गरिएको हो’, उनले भने।

स्थानीय सरकारले पनि यसलाई आफ्नो ड्रिम पोजेक्टका रूपमा राखेको छ। जातीय छुवाछूत अन्त्य गर्न सुरुवात आफैँबाट गर्नुपर्छ भन्ने उद्देश्यसहित सबै जातका बालक समेटेर संस्कृत पढाउन थालिएको हेटौँडा उपमहानगरपालिका-१८ नम्बर वडाका वडाध्यक्ष अनिल बानियाँ बताउँछन्।

ब्राह्मणका छोराले मात्रै पढ्नुपर्छ भन्ने छाप बसेको संस्कृत भाषा पछिल्लो समय दलित समुदायका बालकले समेत पढ्न पाउँदा जातका नाममा गरिने भेदभाव अन्त्यको सुरुवात भएको उनको भनाइ छ।

आश्रममा मकवानपुरसहित पर्सा, उदयपुर, सिन्धुली, सर्लाहीलगायत जिल्लाका बालक संस्कृत भाषा पढिरहेका छन्। दाताको सहयोगमा चल्ने आश्रममा सहयोगको खाँचो रहेको प्रधान्यपक कोइराला बताउँछन्।

आश्रम वरपरका बस्तीका गैरदलितले भने दलितलाई पढाएको भनेर विद्यालयसम्म सहयोग नगरेका आश्रमका गुरुहरू गुनासो गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .