बागमती


एकीकृत समाजवादीका सर्तले बागमतीका मुख्यमन्त्री फेरि अप्ठेरोमा

तीन मन्त्री व्यवस्थापनका दुवै विकल्प कठिन
एकीकृत समाजवादीका सर्तले बागमतीका मुख्यमन्त्री फेरि अप्ठेरोमा

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र नयाँ गठबन्धन बनेपछि एकीकृत समाजवादीबाट थपिएकी बिनाविभागीय मन्त्री रमा आलेमगर। उनैको व्यवस्थापन मुख्यमन्त्रीलाई ठूलो चुनौती बनिरहेको हो।


सुनिता विष्ट
बैशाख ९, २०८१ आइतबार ८:५९, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेकपा एकीकृत समाजवादीका मन्त्री व्यवस्थापनका लागि दिइएका दुइटै विकल्प घाँडो बनिरहेका छन्। 

१२ मन्त्रालय रहेको बागमती सरकारमा १३ मन्त्री नियुक्त गरिएपछि व्यवस्थापनका लागि गठित कार्यदल अघि सारेका दुवै विकल्प मुख्यमन्त्रीका लागि असहज बनेका हुन्। 

काठमाडौँमा बसेको उक्त कार्यदलको बैठकले अघि सारेका दुई विकल्प हुन्- एकीकृत समाजवादीबाट बनेका तीनै जना मन्त्रीलाई जुन मन्त्रालयको जिम्मेवारी दिएर भए पनि राख्ने अथवा एउटा रोजेको मन्त्रालय दिएर दुई मन्त्रीलाई मात्रै सरकारमा राख्ने। 

तर यी दुवै विकल्पमा निर्णय गर्न मुख्यमन्त्री जम्कट्टेललाई गाह्रो भइरहेको हो।

एकीकृत समाजवादीका तीनै मन्त्रीलाई कायम राखाैँ, मन्त्रालय फुटाउनुपर्ने, २ मन्त्री मात्रै राखेर एउटा रोजेको मन्त्रालय दिऊँ, आफ्नो दलको हातमा रहेको बलियो मन्त्रालय खोसिने!

यही अप्ठेरोमा परेका छन्- मुख्यमन्त्री जम्कट्टेल। 

नेकपा एकीकृत समाजवादीले एउटा मन्त्री फर्काउनुपर्ने अवस्थामा एउटा भौतिक पूर्वाधार विकास मन्त्रालय र अर्को सामाजिक विकास मन्त्रालय र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमध्ये एक पाउनुपर्ने माग राखेको छ।

जसमध्ये भौतिक (युवराज दुलाल) र सामाजिक विकास (कुमारी मोक्तान) दुवै मन्त्रालयमा हाल माओवादीका सांसद मन्त्री छन्।

खानेपानी मन्त्रालयमा भने नेकपा एमालेका नेता एकालाल श्रेष्ठ मन्त्री छन्। 

आफ्नो पार्टीले नेतृत्व गरिरहेका सामाजिक र भौतिक मन्त्रालय एकीकृत समाजवादीलाई नदिन प्रदेश संसदीय दलबाटै दबाब आइरहेको माओवादीका एक प्रदेश सांसदले बताए। अन्य विकल्प प्रयोग गरेर भए पनि उक्त मन्त्रालय माओवादीको हातबाट जान दिन नहुने आवाज उठेको उनको भनाइ छ। 

यस्तै एकीकृत समाजवादीले दिएको अर्को विकल्प खानेपानी मन्त्रालय पनि एमाले छाड्ने मनस्थितिमा देखिँदैन।

गठबन्धन जोगाउन सबै ठाउँमा एमालेले मात्रै त्याग गर्नुपर्छ भन्ने नभएको एमाले बागमतीका सचेतक मधुसूदन पौडेलले बताए।

‘कसरी जाने भन्ने विषयमा छलफल त हुन्छ। परिस्थितिअनुसार एमालेले छाड्न त पर्छ। तर यसमा माओवादीले पनि विचार गर्नुपर्छ’, सचेतक पौडेलले भने।

जिम्मेवारी नदिने मुडमा मुख्यमन्त्री
एमालेसहितको नयाँ गठबन्धन बनेपछि एकीकृत समाजवादीबाट रमा आलेमगर बागमती प्रदेश सरकारमा बिनाविभागीय मन्त्री नियुक्त भएको तीन हप्ता बित्न लागिसक्यो तर अहिलेसम्म जिम्मेवारी पाउन सकेकी छैनन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई एक हप्ताभित्रै विभागीय जिम्मेवारी दिने सर्तमा गत गत चैत १९ गते बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए। 

मन्त्रालयको जिम्मेवारी नपाए मन्त्री पदबाटै राजीनामा दिने बताएकी आलेमगर मुख्यमन्त्री र आफ्नै दलका नेताहरूले केही दिन कुर्न भनेकाले मुख्यमन्त्रीको निर्णयको प्रतीक्षामा रहेको सुनाउँछिन्।

चैत २० गते शपथ खाएपछि आलेमगरले सञ्चारकर्मीसँग भौतिक पूर्वाधार विकास मन्त्रालयमा आफ्नो दाबी रहेको बताएकी थिइन्। 

‘तर अहिले कुन मन्त्रालय दिने भन्ने विषयमा मुख्यमन्त्रीज्यूले नभन्ने रे,’ उनले नेपालखबरसँग भनिन्, ‘बस्ने भए यत्तिकै विभागविहीन नै बस्नोस्। नत्र जानुस् पो भन्नुभयो!’

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद खनाल पनि आफ्नो पार्टीका मन्त्री व्यवस्थापनमा मुख्यमन्त्रीले चासो नदेखाएको असन्तुष्टि व्यक्त गर्छन्। 

‘एक हप्ता भित्रै मिलाएर लैजान्छु भन्ने सर्तमा उहाँ (मुख्यमन्त्री) ले मन्त्री (आलेमगर) नियुक्त गर्नुभयो। तर तीन हप्ता बित्दा पनि छलफल गर्न समेत चासो देखाउनुभएको छैन’, नेता खनालले भने।

उनले थपे, ‘यो सरकार टिक्दैन भन्ने शंका भएरै हो कि? मुख्यमन्त्रीज्यूले सत्तारुढ दललाई नै बेवास्ता गरिरहनुभएको छ। कसरी मिलेर जान सकिन्छ भन्नेसम्मका छलफल समेत हुन पाएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .