ad ad

बागमती


त्रिशूली दुर्घटना : निद्राले आँखा मिच्दै बस चलाइरहेका थिए हरिराम

त्रिशूली दुर्घटना : निद्राले आँखा मिच्दै बस चलाइरहेका थिए हरिराम

बुधबार बिहान त्रिशूली नदीमा खसेको बस।


सुनिता विष्ट
फागुन २४, २०८० बिहिबार १३:४३, हेटौँडा

रुपन्देहीबाट काठमाडौँतर्फ गइरहेको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसी पुग्दा सडकबाट झण्डै १५० मिटर तल त्रिशूली नदीमा खस्यो। मंगलबार साँझ लुम्बिनी गेटबाट बस चढेका ५१ यात्रु काठमाडौँ पुग्न अझै ८० किलोमिटरभन्दा बढी दूरी बाँकी नै थियो। तर बस दुर्घटनामा पर्‍यो। 

दुर्घटनास्थलमै ७ जनाको मृत्यु भयो भने ३ जना नदीमै हराए। ४१ जना घाइते भए। 

खोजीका क्रममा बिहीबार बिहान दुर्घटनास्थलभन्दा १५० मिटर तल त्रिशूली नदीमा एक पुरुषको शव फेला परेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस (आदामघाट) बाट खटिएको गोताखोरसहितको टोलीले अन्दाजी २०/२५ वर्षीय व्यक्तिको शव पानीबाट बाहिर निकालेको छ। तर उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बाँकी २ जनाको खोजी जारी रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवालले बताए। उनका अनुसार दुर्घटनामा घाइते भएका ४१ जना काठमाडौँ र धादिङका विभिन्न अस्पतालमा उपचाररत छन्।

बस के कति कारण दुर्घटनामा पर्‍यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। बिहानीपख त्यो समयमा सडकमा सवारीसाधनको चाप त्यति नभएको प्रहरी प्रवक्ता जैसवाल बताउँछन्।

घाइते भएका केही यात्रुका अनुसार बसमा एकजना मात्रै चालक थिए। मंगलबार साँझतिर लुम्बिनीबाट छुटेको बसलाई बुधबार बिहान ६ बजेतिर काठमाडौँ पुर्‍याउने योजनामा थिए- चालक हरिराम हरिजन।

चालकनजिकै बसेका यात्रुले प्रहरीलाई दिएको जानकारीअनुसार घाटबेँसी पुग्नुभन्दा केही समयअघि मात्रै उनले कस्तो निद्रा लागेको भनेका थिए। त्यसपछि उनले आँखा मिच्दै बस चलाएका थिए। 

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि तीव्र गति र रात्रिबसमा एकजना मात्रै चालक हुनु नै दुर्घटनाको कारण देखाएको डीएसपी जैसवालले जानकारी दिए।

‘बस एकदमै तीव्र गतिमा गुडेको पाइएको छ। रात्रि बसमा दुईजना चालकको व्यवस्था हुनुपर्नेमा एकैजनाले रातभर बस चलाएको र चालक निदाएकै कारण दुर्घटना भएको भन्ने अनुसन्धानमा देखिन्छ’, उनले भने, ‘यस विषयमा चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।’

चालकले मादक पदार्थ पिएका थिए कि थिएनन्?

नेपालखबरको प्रश्नमा डीएसपी जैसवालले भने, ‘मापसे गरेको पाइएन। दुर्घटनाको मुख्य कारण तीव्र गति र एकैजनाले रातभर बस चलाउनु देखिएको छ।’

बुधबार बिहान एक पुरुषको शव फेला परेसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेकाे प्रहरीले जनाएको छ।

यसअघि घटनास्थलमै रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अली र सराजुद्दिन मुसलमानको  मृत्यु भइसकेको छ। 

बुधबार फेला परेको शव भने पहिचान  हुन बाँकी रहेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार दुर्घटनामा परेको बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन्। यी तीन जनामध्ये भेटिएको शव कसको हो भन्ने थाहा पाउन आफन्तलाई बोलाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .