हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएको मंगलबार (फागुन ८) २१ दिन भएको छ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडीलाई हटाउन भन्दै कर्मचारीहरू गत माघ १७ गतेदेखि हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्।
एकहप्ते आन्दोलन भनिए पनि माग पूरा नभएपछि आन्दोलन लम्बिएको आन्दोलित कर्मचारी बताउँछन्।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख भोजराज विनाडीले कर्मचारीहरूमाथि अभद्र व्यवहार गर्ने, कार्यसम्पादनमा असहयोग गर्ने तथा कार्यमूल्याङ्कनमा बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ।
कार्यालय प्रमुखकै कारण कर्मचारीहरू उनीविरुद्ध आन्दोलित हुनपर्ने स्थिती सिर्जना भएको कार्यालयका प्रशासन प्रमुख मनिष मिश्रले बताए।
‘कार्यालय प्रमुख विनाडीको सरुवा हुनैपर्ने एकसुत्रे माग सहित आफूहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएको तीन हप्ता भयो,’ मिश्रले भने।
प्रमुख विनाडीले मानसिक यातना दिने, धम्काउने, वृत्तिविकासमा अवरोध गर्ने, कार्यस्थलमा काम गर्ने वातावरण नदिने, सेवाग्राहीलाई पनि सोही प्रकारको व्यवहार गर्ने गरेको कर्मचारीहरूको आरोप छ। उनीहरूको एउटै मात्र माग कार्यालय प्रमुख परिवर्तन रहेको बताइएको छ।
यता, कार्यालय प्रमुख भोजराज विनाडीले भने कर्मचारीले लगाएको आरोप गलत रहेको बताए। कर्मचारीहरूसँग वार्तामा बस्न खोजेपनि उनीरू नै नआएको प्रमुख विनाडीले बताए।
Shares
प्रतिक्रिया