गत २४ घण्टामा काठमाडौँ उपत्यकाको तापक्रम झन्डै साढे १ डिग्री सेल्सियस बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस देखिएको हो।
सोमबार उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो। आज १.४ डिग्री सेल्सियस तापक्रम बढेको हो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला थोरै घट्ने सम्भावना हुन्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने न्यूनतम तापक्रम बढ्छ भने राति आकाश खुला भयो भने घट्छ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १६ देखि १८ डिग्रीको बीचमा रहने अनुमान गरिएको मौसमविद् अधिकारीले बताए।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
आज प्रविधिले काठमाडौँ उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना देखाएको तर त्यो सम्भावना नगन्य रहेको मौसमविद् अधिकारीको भनाइ छ।
‘आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना त देखाएको छ, तर त्यो नगन्य छ’, उनले भने, ‘भोलि र पर्सिचाहिँ उपत्यकामा वर्षा हुने सम्भावना अलि बढी छ।’
देशभरका लागि- पहाडी भूभागमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
Shares
प्रतिक्रिया