आइतबार यो वर्षको अहिलेसम्मकै चिसो बनेको काठमाडौँ उपत्यकाको तापक्रम केही उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो।
आइतबार उपत्यकाको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियसमा झरेको थियो। जुन उपत्यकाका लागि यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजेभित्र पुनः मापन गरिन्छ, जतिबेला थप घट्ने सम्भावना हुन्छ।
राति आकाश छ्याङ्ग रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने राति आकाशमा बादल लाग्यो भने बढ्छ।
मौसमविद् अर्यालयका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने अनुमान छ। आइतबार यहाँको अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
यतिबेला (सोमबार बिहान) काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा रहेको उनले बताए।
‘आज दिनभर उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने अनुमान छ’, उनले भने।
यसको अर्थ आकाशमा अलिअलि बादल देखिए पनि घाम लाग्ने सम्भावना छ।
Shares

प्रतिक्रिया