ad ad

बागमती


‘बेवारिसे नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्छ’

‘बेवारिसे नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्छ’

नेपालखबर
मंसिर ३०, २०८० शनिबार २०:४५, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताएका छन्।

आज हेटौँडामा आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले असहाय बेवारिसे नागरिको अभिभावक प्रदेश सरकार बन्ने बताए।

प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थालाई सहयोग गर्दै मानवता र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले बताए।

प्रदेश सरकार स्थापनादेखि हालसम्म मानव सेवा आश्रमको व्यवस्थापनका लागि रु चार करोडभन्दा बढी रकम सहयोगस्वरुप लगानी गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामका लागि रकम विनियोजन गर्न सरकार तयार रहेको बताए। उनले चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले रु ४० लाख सवारी खरिदका लागि विनियोजन गरेको बताए।

स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पनि आश्रमका विभिन्न कार्यमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले नागरिकको सहायताका विभिन्न विषयमा प्रदेश सरकारले लगानी गरिरहेको बताए।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सडक मानवमुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकारले काम अघि बढाएको बताए। अभिभावक नभएका बालबालिका तथा असाहय नागरिक तथा वृद्धवृद्धाको साथमा प्रदेश सरकार विगतदेखि नै रहँदै आएको र आगामी दिनमा पनि विभिन्न माध्यममार्फत क्रियाशील रहने जानकारी दिए। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा संविधानले व्यवस्था गरेअनुसारको अधिकार जनतालाई दिलाउन राज्यका हरेक अङ्ग तयार रहनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राजनीति पनि मानव सेवाकै लागि हुनुपर्ने बताए।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडा मानवताको सहरका रूपमा रहेको र हेटौँडाबाट मानवताको सन्देश विश्वभर फैलिने बताए। सुन्दर नगरीको रूपमा रहेको हेटौँडाको शोभा बढाउने काम मानव सेवा आश्रमले गरिरहेको र आश्रमको समस्या समाधनमा हेटौँडा उपमहानगरपालिकाले निरन्तर सहयोग उपलब्ध गराउने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .