ad ad

बागमती


३९ दिनदेखि बागमतीका ५ मन्त्रालय खाली, मन्त्री नहुँदा बजेट बनाउन समस्या

कांग्रेसले अडान नछाड्दा समस्यामा मुख्यमन्त्री
३९ दिनदेखि बागमतीका ५ मन्त्रालय खाली, मन्त्री नहुँदा बजेट बनाउन समस्या

सुनिता विष्ट
बैशाख १९, २०८० मंगलबार २०:३२, हेटाैंडा

बागमती प्रदेश सरकारले पूर्णता नपाउँदा आगामी आर्थिक वर्षको बजेट तर्जुमामा समस्या हुन थालेको छ। वैशाख महिनाभित्र बजेट तर्जुमा गरेर विनियोजन गर्नुपर्ने बाध्यता रहेका बेलामा बागमतीमा ५ वटा मन्त्रालय नै मन्त्रीविहीन छन्। 

मन्त्रालयले मन्त्री नपाउँदा बजेट तर्जुमामा समस्या भएको मन्त्रालयका सचिवहरूले बताउँछन्। 

नेपाली कांग्रेसको साथ नपाउँदा ३९ दिनअघि नै मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

बजेट तर्जुमाको महत्वपूर्ण बेलामा मुख्यमन्त्रीले नै ५ वटा मन्त्रालय सम्हालिरहेका छन्। 

जसका कारण बजेट तर्जुमा नै प्रभाव भइरहेको मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले बताए। ‘मन्त्रालय मन्त्रीविहीन हुँदा बजेट तर्जुमामा समस्या भइरहेको छ,’ निरौलाले भने। 

उता, कांग्रेसकै अलमलका कारण बागमती प्रदेश सरकारले पूर्णता पाउन नसकेको मुख्यमन्त्री जम्मकट्टेलको गुनासो छ। 

रिक्त मन्त्रालयको पदपूर्ति गरेर बजेट तर्जुमा गर्न ढिलो भइसकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए।

‘अहिले सबै मन्त्रालयले बजेट निर्माणको प्रारम्भिक गृहकार्य सुरु गरिसकेको छ,’ मन्त्री श्रेष्ठले नेपालखबरसँग भने, ‘मन्त्री रहेका मन्त्रालयलाई बजेट बनाउन समस्या हुँदैन। तर अहिले जुन ५ वटा मन्त्रालय रिक्त छन्। ती मन्त्रालयको बजेट तर्जुमामा चुनौती भइरहेको छ।’

उनले पनि मुख्यमन्त्री जम्मकट्टेलले जस्तै कांग्रेसले दाबी नछाडेका कारण मन्त्रिपरिषद्ले पूर्णता नपाएको दाबी गरे। 

मुख्यमन्त्री जम्मकट्टेलले सरकारलाई पूर्णता दिन नसकेको भन्दै भइरहेको आलोचनाप्रति पनि मन्त्री श्रेष्ठले आपत्ति जनाएका छन्। ‘मुख्यमन्त्रीले सरकारलाई पूर्णता दिन सकेनन् भन्ने आरोप छ। तर त्यसो भएको होइन,’ उनले भने, ‘अन्य दलले मन्त्रीको नाम नपठाउँदा सरकारले पूर्णता पाउन नसकेको हो। उहाँहरुकै कारण बजेट तर्जुमामा पनि समस्या भइरहेको छ।’

मन्त्री श्रेष्ठले बजेट बनाउने बेला भएको हुँदा अडानभन्दा पनि सहमति गरेर सरकारमा आउन आग्रह गरेको जानकारी दिए। ‘यद्यपी, हामी छलफलमा छौं। अब टुंगो लाग्ने अन्तिम तयारी भइरहेको छ,’ उनले भने। 

यता, आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा अबको केही दिनभित्रै आफूहरुले मन्त्रीको नाम मुख्यमन्त्रीलाई पठाउने तयारी गरिरहेको बताउँछन्।

‘हामीले ढिलो गर्नुको कारण केन्द्रलाई हेरिरहेका पनि हौं,’ उनले भने, ‘केन्द्र सरकारले त पूर्णता पाएको छैन। प्रदेश आत्तिनु पर्ने अवस्था आएको त छैन। तर पनि अब हामी अन्तिम छलफल गरेर हाम्रो बाँकी मन्त्रीको नाम पठाउँछौं।’

उनका अनुसार कांग्रेसले अझै ४ मन्त्रालयको दाबी गरिरहेको छ।

२ मन्त्रालय पाइसकेको कांग्रेस जसरी पनि अब ४ मन्त्रालय पाउनुपर्ने अडानमा छ।

६ वटा मन्त्रालयको बिषयमा गठबन्धनमा सहमति हुन नसक्नु र पार्टीभित्रकै विवाद पनि मिलाउन नसक्दा लामालाई चुनौती थपिएको छ।

११ सदस्यीय मन्त्रिपरिषद्मा हाल ६ मन्त्री छन्।

जसमध्ये मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय माओवादीका र दुई मन्त्रालय नेपाली कांग्रेसले सम्हाल्दै आइरहेको छ।

बागमतीमा हाल नेपाली कांग्रेसको ३७ जना, नेकपा एमालेको २७ जना, नेकपा माओवादी केन्द्रको २१ जना, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ तथा हाम्रो नेपाली पार्टीको २ जना सांसद रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .