ad ad

बागमती


मुख्यमन्त्री जम्मकट्टेल भन्छन् : विश्वासको मत पाउँछु, सहमतिमै बैठक स्थगित गरेका हौँ

मुख्यमन्त्री जम्मकट्टेल भन्छन् : विश्वासको मत पाउँछु, सहमतिमै बैठक स्थगित गरेका हौँ

नेपालखबर
चैत ९, २०७९ बिहिबार १७:३७, हेटाैँडा

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। 

विश्वासको मत लिने गरी बुधबार बोलाइएको प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसद्हरु अनुपस्थित भएपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। 

कांग्रेस सांसदहरु काठमाडौंबाट हेटौंडा नफर्किएपछि बुधबार विश्वासको मत लिने कार्यक्रम नै स्थगन गर्नु परेको थियो। तर, शुक्रबारको बैठकमा कांग्रेसले विश्वासको मत दिने मुख्यमन्त्री जम्मकट्टेलले बताए। 

कांग्रेसले फेरि पनि बहाना बनाएर विश्वासको मत नदिने हो कि भन्ने नेपालखबरको जिज्ञासामा उनले कांग्रेससँग सहमति गरेरै शुक्रबार बैठक राखिएको बताए। 

‘हिजो पनि हामीले सहमतिमा १० गते बैठक राखौं भनेका थियौं। विशेषगरी माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ४ वटा दलहरुले सल्लाह गरेरै बैठक शुक्रबारका लागि सारेका हौं’ उनले भने, ‘भोलिको बैठकमा कांग्रेसका ३७ सांसदले नै विश्वासको मत दिनेमा ढुक्क छु।’

तर, मुख्यमन्त्री दाबी गरिरहेको कांग्रेसले सहजै विश्वासको मत देला भन्नेमा माओवादी भने पूर्ण विश्वस्त छैनन्। बुधबार संसदीय दलको बैठक बसेर कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेललाई नै विश्वासको मत दिने निर्णय गरिसेको अवस्थामा पनि भोलि बहाना पारेर बैठकको मिति सार्ने हुन् कि भन्ने माओवादीका सांसदहरुको आशंका छ।

बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले कांग्रेसले समय लम्ब्याउँदै लगेर सरकार ढाल्ने रणनीतिमा कांग्रेस लागेको हुनसक्ने आशंका गरे।

‘१३ गतेभित्र विश्वासको मत नपाए सरकार ढल्छ। सरकार ढलेपछि कांग्रेसले दाबी गर्न झन् सहज हुन्छ’ उनले भने, ‘केन्द्रको गठबन्धन अनुसार नै बागमतीमा माओवादीको मुख्यमन्त्रीले विश्वासको मत पाउनुपर्ने हो। कांग्रेस पनि गठबन्धनमा रहेकै दल हो।’ 

यता, बुधबार नै प्रदेश सभा बैठक स्थगित भएपछि सरकारबाट राजीनामा दिने तयारी गरेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएनन्। मुख्यमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रदेशसभा बैठकमा नै एमालेका चार मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए। रोष्टमबाटै राजीनामाको घोषणा गर्ने र पछि मुख्यमन्त्रीलाई पत्र बुझाउने तयारीमा एमालेका मन्त्रीहरु थिए। तर बैठक स्थगित हुँदा शुक्रबारको बैठकपछि बाहिरिने एमालेका मन्त्री बताउँछन्।

‘सरकारमा बस्न हामी लालायित भएका होइनौं। सरकार छोड्ने नै हो। तर प्रदेश सभा बैठकमा आफ्नो धारणा राखेर मात्रै छाड्ने भनेर कुरेका हौं,’ एमाले संसदीय दलका नेता तथा अर्थमन्त्री जगन्नाथ थपलियाले भने। प्रदेश सभा बैठक सरेकै कारण एमालेले राजीनामा दिने मिति पनि सरेको मन्त्री थपलिया बताउँछन्।  

एमालेसँगको सहमतिमा साढे दुई वर्षमात्र मुख्यमन्त्री चलाउने सहमति गरेपछि अब कांग्रेसको सहकार्यमा प्रदेश सरकार बन्दा उक्त सहमति कांग्रेससँग पनि हुनुपर्ने कांग्रेसको माग छ। कांग्रेसको अड्कोपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने औपचारिक कार्यक्रम स्थगित भएको थियो। 

फागुन १३ गते राप्रपाका सांसदहरुले मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीले आउँदो १३ गते भित्रमा विश्वासको मत पाइसक्नुपर्ने हुन्छ। जसका लागि मन्त्रालयको भागवण्डा भन्दा पहिले विश्वासको मतको कार्यक्रम अघि बढाएका मुख्यमन्त्रीलाई कांग्रेसले नै विश्वासको मत दिन आनाकानी गरेका थिए। 

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका कारण बागमतीमा आफ्नो दाबी गर्ने कांग्रेसले बताइरहेको अवस्थामा समय घर्काउँदै लगेर १३ गतेपछि सरकार ढाल्ने खेलमा कांग्रेस लाग्न सक्ने समेत माओवादीका सांसदहरुको आकलन गरेका छ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसद्को विश्वासको मत पाएका थिए। उनलाई ६ दलका १ सय ५ सांसद्ले विश्वासको मत दिएका थिए। पुस २५ गते ५ दलका ७० सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ सांसद्ले भने विश्वासको मत दिएका थिएनन्।

१ सय १० सांसद् रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तिमा ५६ सांसद्को समर्थन आवश्यक पर्छ। प्रदेशमा सबभन्दा ठूलो दल कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .