मकवानपुर प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित बुधबार राति हेटौंडा १९ बस्तीपुरबाट ५ जनालाई पक्राउ गर्यो।
राति साढे १० बजेको समयमा हेटौंडा–१९ को भित्री सडकखण्डमा बस्तीपुरतर्फ आउँदै गरेको बा २१ च ९३२६ नम्बरको गाडी, ना २१ प १०९० नम्बरको मोटरसाइकललाई रोकेर सुरक्षाजाँच गर्दा लागुऔषध गाँजा ४२ केजी बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित ३ जना भारतीय नागरिकलाई बिहिबार पक्राउ गर्यो।
शंकास्पद अवस्थामा हिँडिरहेका भारतीय नागरिकहरुलाई सुरक्षाजाँच गर्ने क्रममा ज्याकेटभित्र प्लाष्टिकले बेरेर डोरीले बाँधी लुकाई छिपाई तस्करी गर्न खोजेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ। बुधबार र बिहीबारको घटना जस्तै गरि प्रत्येक दिन जसो नै मकवानपुर प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने गरेको छ।
त्यसो त, बागमती प्रदेशमा लागू औषध कारोबार गर्नेको संख्या बढ्दै गएको छ। उपत्यका बाहेकका १० जिल्लामध्ये पनि सबैभन्दा धेरै लागुऔषध कारोबार हुने जिल्ला मकवानपुर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। चालु आर्थिक वर्षको साउन देखि माघसम्ममा १० जिल्लाहरु मध्ये सबैभन्दा धेरै मकवानपुरमा १ सय २२ जनालाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कुन जिल्लामा कति पक्राउ?
प्रदेशका १० जिल्लाहरु मध्ये तीन जिल्लामा लागुऔषध कारोबार नै नहुने गरेको तथ्यांकमा उल्लेख छ भने तीन जिल्ला मकवानपुर, धादिङ र चितवन सबैभन्दा धेरै मानिसहरु लागुऔषध कारोबारमा पक्राउ परेका छन्। मकवानपुरमा १ सय २२ जना पक्राउ परेका छन्। यस्तै धादिङमा ३५ जना र चितवनमा ९४ जना पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, ७ महिनाको अवधिमा सिन्धुलीमा २९, रामेछापमा २, काभ्रेमा १६ र नुवाकोटमा १ जना पक्राउ परेका छन्। प्रदेशको रसुवा, दोलखा र सिन्धुपाल्चोक जिल्लामा भने लागुऔषध कारोबार नभएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए।
प्रहरीको तथ्यांक अनुसार प्रदेशका १० जिल्लामध्ये मकवानपुर लागुऔषध ओसारपसारको ‘हटस्पट’ बनिरहेको छ।
३ हजार किलो बढी गाँजा बरामद
चालू आ.व को ७ महिनाको अवधिमा प्रदेशभरबाट प्रहरीले ३ हजार ६६ किलो गाँजा बरामद गरेको छ। जसमध्ये पनि सबैभन्दा धेरै मकवानपुरबाट २ हजार १५४ किलो गाजा बरामद गरेको छ। दोस्रोमा धादिङ जिल्लाबाट ५ सय २२ किलो, चितवनबाट ३ सय ४६ किलो, सिन्धुलीबाट १२ किलो, रामेछापबाट ३ किलो, काभ्रेबाट २७ किलो र नुवाकोटबाट ३ किलो गाँजा बरामत गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।
यस्तै, चरेस धादिङबाट १ सय ३० किलो बरामद गरेको छ भने सिन्धुलीबाट ८ किलो बरामद गरेको जनाएको छ। खैरो हिरोइन, अफिम, डाईजीपाम, फेरागन, नाइट्रोभेट, कोरेक्स लगाएतका अन्य लागुऔषध समेत बरामद गरेको भएको छ।
एउटै जिल्लाका २ सय बढी कैद सजायमा
मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र थाहा नगरपालिकामा गाँजा तथा अफिम खेती गर्ने गरेको प्रहरीको भनाई छ। रुखो जमिन तथा सिंचाईको सुविधा नभएको सुर्का बारीहरुमा विशेषगरी गाँजा लगाइएको पाइएको प्रहरी बताउँछ।
लागुऔषध कारोबारमा भीमफेदीमा रहेको कारागारमा मात्रै मकवानपुरका २ सय ७३ जना रहेको प्रहरीको तथ्यांक छ। यसबाहेक अन्य जिल्लाका कारगारमा पनि २ दर्जन भन्दा धेरै मानिसहरुले कैद सजाय भोगिरहको डीएसपी थापाले बताए। यसबाहेक छुट्ने र पक्राउ हुने क्रम जारी रहेको उनको भनाइ छ।
बढ्दैछ आगुऔषध कारोबारको ग्राफ
बागमतीका १० जिल्लामा लागुऔषध कारोबारको स्थिति र अभियुक्त पक्राउ बढेको हो। तथ्यांकअनुसार आ.व.२०७७/०७८ भन्दा २०७८/०७९ मा लागुऔषध सम्बन्धी कारोबार र पक्राउ परेका अभियुक्त बढेको देखिन्छ। आव २०७६/०७७ मा २ सय ७०, आ.व. २०७७/७८ मा ४ सय ७ जना पक्राउ परेका थिए।
यसैगरी, २०७८/०७९ मा ५ सय ३० जना लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका थिए। चालु आर्थिक वर्षको ७ महिनाको अवधिमै २ सय ९९ पक्राउ परिसकेको अवस्थामा पक्राउ पर्नेको ग्राफ वर्षैपिच्छे बढिरहेको पाइन्छ।
के छ कानुनी व्यवस्था?
लागुऔषध नियन्त्रण ऐन २०३३ मा अफिम सेवन गर्नेलाई एक वर्ष कैद, २५ बोट अफिम लगाउनेलाई एक वर्षदेखि ३ वर्षसम्म कैद, २५ बोटदेखि माथि लगाउनेलाई ३ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।
अफिम २५ ग्रामसम्म फेला परेमा ५ देखि १० वर्षसम्म कैद, २५ ग्रामदेखि १०० ग्रामसम्म फेला परेमा १० देखि १५ वर्षसम्म कैद र १०० ग्रामदेखि माथि फेला परेमा १५ वर्षदेखि जन्मकैद सम्म गर्न सक्ने कानुनी व्यवस्था भएको अधिवक्ता बालकृष्ण अधिकारीले बताए।
Shares
प्रतिक्रिया