ad ad

बागमती


भूमिहीनका नाममा अर्बपतिलाई जग्गा दिने तयारी!

भूमिहीनका नाममा अर्बपतिलाई जग्गा दिने तयारी!

नेपालखबर
माघ २०, २०७९ शुक्रबार १४:१६, हेटौँडा

राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले अर्बाैं सम्पत्तिका मालिककी आमालाई जग्गा प्रदान गर्ने तयारी गरेको खुलेको छ। मकवानपुरका अर्बपति अजेयराज सुमार्गीकी आमा विश्वकान्ती कलावती सुमार्गी पराजुलीलाई हेटौँडा–९ मा रहेको एक विगाह १२ कट्ठा २ धुर जग्गा दिन लागेको खुलेको हो।

भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न राष्ट्रिय भूमि आयोग बनेको हो। तर आयोगले वास्तविक सुकुमवासीको पहिचान नगरी पहुँचवालाको हातमा पुर्जा थपाउन ठिक्क पारेको तथ्य सार्वजनिक भएको हो। यसरी लालपुर्जा पाउनेमा अर्बपति व्यापारी अजेयराज सुमार्गीकी आमाको नामसमेत परेको छ।

यस्तै सुमार्गी परिवारका अन्य ४ सदस्यका नाममा समेत १ विगाह १७ कट्ठा जग्गा दर्ता गर्ने तयारी छ। राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले माघ १० गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र उक्त जग्गामा दाबी विरोध भए उजुरी गर्न सार्वजनिक सूचना जारी गरेको हो। सूचना जारी भएसँगै हेटौँडाका स्थानीय चकित परेका छन्। २०५१ सालदेखि वन क्षेत्रका रूपमा संरक्षण गरिरहेको जग्गा पहुँचका आडमा सुमार्गी परिवारले दर्ता गर्न लागेको स्थानीयको आरोप छ।

सुमार्गी परिवारले दाबी गरेको जग्गा कुखरेनी सामुदायिक वन क्षेत्रभित्र पर्दछ। यो सामुदायिक वनले नदी उकास क्षेत्रको केही भाग ५० वर्षका लागि मानव सेवा आश्रमलाई उपलब्ध गराएको छ। 

यता भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहालले भने यो पुरानै आयोगले निकालेको डाटाका आधारमा नाम ३५ दिने सूचनामा प्रकाशन गरिएको बताएका छन्। उनका अनुसार २०५१ सालअघि नै नापी भएको जग्गाको अहिले पुर्जा वितरणको काम गर्न पूर्व सूचना निकालिएको हो। तर त्यतिबेला देखि नै सुमार्गी परिवाले नापी गराउन लगाए पनि वन क्षेत्रमा पर्ने कारण पनि पुर्जा उपलब्ध गराउन नसकिने समेत दाहालले बताए। 

‘यो सूचना निकाल्नुको अर्थ उहाँहरुले पुर्जा पाउने निश्चित भएर होइन, ३५ दिनभित्र विरोध आए अथवा हक दाबीसम्बन्धी मुद्दा परे रोक्नुपर्छ भनेर सार्वजनिक सूचना निकालिएको हो,’ अध्यक्ष दाहालले नेपालखबर सँग भने।

वास्तविक भूमिहीन सुकुमवासीको चौतर्फी विरोध र वन पैदावार क्षेत्रमा पर्ने जग्गाका कारण स्थानीयले समेत चर्को विरोध जनाएपछि आयोगले यो विषयमा सोचर निर्णय गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .