ad ad

बागमती


बागमतीमा ११ मन्त्रालय निर्धारण, कुन कुन गाभिए?

बागमतीमा ११ मन्त्रालय निर्धारण, कुन कुन गाभिए?

सुनिता विष्ट
माघ १०, २०७९ मंगलबार १५:४, हेटाैँडा

बागमती प्रदेशका मन्त्रालयको संख्या निर्धारण गर्न बनेको अध्ययन कार्यदलले ११ मन्त्रालय कायम रहने गरी आज मुख्यमन्त्री समक्ष प्रतिवेदन बुझाएको छ।

साविकको १४ मन्त्रालयबाट समायोजन गरेर ११ मन्त्रालय बनाउने गरि प्रतिवेदन तयार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले बताए। 

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गत पुस २६ गते मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै बागमतीमा मन्त्रालय घटाउनको लागि सोही दिन मन्त्रालय निर्धारण गर्न समिति गठन गरेका थिए।

कार्यदलले प्रदेशमा रहेका मन्त्रालयको अध्ययन पश्चात् मन्त्रालय संख्या निर्धारण गर्दै मुख्यमन्त्री जम्मकट्टेललाई ११ मन्त्रालय कायम राख्न सुझाव सहितको प्रतिवेदन बुझाएको हो। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा जम्मकट्टेलले पाँच सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए। सोही अनुसार आज अन्तिम दिन ११ मन्त्रलाय बनाउँदा उपयुक्त हुने गरि प्रतिवेदनमा उल्लेख गरिएको छ।  

कुन कुन मन्त्रालय गाभिँदै छन्? 
प्रदेशमा हाल रहेका मन्त्रालयहरुबाट भूमी व्यवस्था मन्त्रालयलाई कृषिमा, गरिबी निवारण मन्त्रालयलाई समाजिक विकास मन्त्रालयमा र उद्योग मन्त्रालयलाई उद्योग पर्यटन तथा सहकारी मन्त्रालय रहनेगरि तीन मन्त्रालय समायोजन गरेर ११ बनाइने प्रतिवेदनमा उल्लेख गरिएको छ। 

त्यस्तै, अब रहने ११ मन्त्रालयहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम रोेजगार तथा यातायात मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहने प्रंतिवेदनमा उल्लेख छ। 

हाल बागमती प्रदेशमा १४ वटा मन्त्रालय रहेको छ। प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणी पौडेलको कार्यकालमा सात मन्त्रालय थिए।

प्रदेशको दोस्रो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई विभाजन गरेर मन्त्रालयको संख्या ८ पुर्याएकी थिइन्।

त्यसपछि प्रदेशको तेस्रो मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलहरुमा भागवण्डा पुयाउन ८ मन्त्रालयबाट एकैपटक १४ पुर्याएका थिए।

मन्त्रालयको संख्या बढ्दा आर्थिक भार पनि बढेको भन्दै सर्वत्र आलोचना भएपछि प्रदेशको दोस्रो कार्यकालका पहिलो मुख्यमन्त्री जम्मकट्टेलले आफ्नो पहिलो निर्णय नै मन्त्रालय समायोजन गर्ने रहेको घोषणा गरेका थिए।

अब छिट्टै मन्त्रालय विस्तार हुन्छ : मुख्यमन्त्री जम्मकट्टेल
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अब १४ मन्त्रालय समायोजन गरेर ११ बनाइने बताए। मुख्यमन्त्री जम्मकट्टेलले कार्यदलले बुझाएको प्रतिवेदन अनुसार नै मन्त्रालय विस्तार हुने स्पष्ट पारे।

प्रदेश सरकारको पहिलो कार्यकालमा मन्त्रालयको संख्या बढ्दा आलोचित हुन परेको भन्दै सोही कुरालाई मध्यनजर गरेर मन्त्रालयको संख्या घटाउने निर्णय भएको उनले बताए।

प्रतिवेदन पाएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको बताउँदै मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘मन्त्रालय घटाएर छिटो छरितो मन्त्रीमण्डल बनाउन लागेका छौं। अब मन्त्रिपरिषद् विस्तारको बाटो खुलेसँगै सरकारले दिएको समय सीमा भित्रै बागमतीमा सरकार विस्तार हुन्छ ।’ 

मुख्यमन्त्री जम्मकट्टेलका अनुसार अब ११ मन्त्रालय नै रहनेगरि अन्तिम छलफल भएको र छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रदेश सरकार लागि परेको छ।  

पुस २६ गते मुख्यमन्त्री जम्मकट्टेलसहित अर्थमन्त्री जगन्नथा थपलिया र बिनाविभागीय मन्त्री उद्धव थापाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए। मुख्यमन्त्री नियुक्त भएको झण्डै २ साता बित्दा पनि बागमतीको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .