ad ad

बागमती


म्याद बुझ्नै मान्दैनन् न्यायाधीशसँग घुस बार्गेनिङ गरेका वकिल पोखरेल

लाइसेन्स खारेज हुने सम्भावना
म्याद बुझ्नै मान्दैनन् न्यायाधीशसँग घुस बार्गेनिङ गरेका वकिल पोखरेल

नेपालखबर
असार १८, २०७९ शनिबार १३:३१, काठमाडौँ

करोडौं रुपैयाँ ठगीका अभियुक्त इच्छाराज तामाङ छुटाउन जिल्ला अदालत (काठमाडौं) का न्यायाधीशसँग घुस बार्गेनिङ गरेका वकिलले अझै म्याद नबुझेको खुलेको छ। इच्छाराजको मुद्दामा पुर्पक्ष आदेश गरेका न्यायाधीश राजकुमार कोइरालासँग अधिवक्ता रुद्र पोखरेलले २ करोड घुस बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो। 

अडिओ सार्वजनिक भएको भोलिपल्टै नेपाल बार काउन्सिलको अनुशासन समितिले उनलाई ७ दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। तर १० दिन भइसक्दा पनि पोखरेललाई म्याद तामेली गर्नै नसकिएको काउन्सिल स्रोतले नेपालखबरलाई जानकारी दियो। 

याे पनि : न्यायाधीशसँग घुस बार्गेनिङ गर्ने वकिललाई सोधियो स्पष्टीकरण, प्रमाण पत्र रद्द हुन सक्ने

‘हामीले निर्णय गरेकै दिन असार ८ गते नै म्याद तामेली गर्न पठाएका थियौं, तर उहाँले म्याद बुझ्नै मान्नुभएनछ। हामीले इमेल गरेका छौं। म्यासेज गरेका छौं। त्यसको पनि कुनै रेस्पोन्स गर्नुभएको छैन’, काउन्सिलका एक अधिकारीले भने। 

सुरुमा स्पष्टीकरण माग्ने र चित्तबुझ्दो नभए बयान लिनेसम्मको तयारी काउन्सिलको छ। निजी वकिललाई नियमन गर्ने निकाय बार काउन्सिलले कमैसँग मात्रै बयान लिन्छ। 

पोखरेल गम्भीर मुद्दामा जोडिएकाले उनको लाइसेन्स खारेज हुने सम्भावना छ। लाइसेन्स खारेज भइसकेपछि भविष्यमा वकालती काममा संलग्न हुन पाउँदैनन्।  

न्यायाधीश कोइरालालाई २ करोड रुपैयाँ घुस दिएर इच्छाराजलाई १० करोड धरौटीमा रिहा गर्न पोखरेलले अफर गरेका थिए। न्यायाधीश पनि त्यसमा करिब सहमति भएको अडिओमा सुनिन्छ। 

तर इच्छाराज भने धरौटीमा छुटेका थिएनन्। उनलाई सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने कोइरालाकै इजलासले आदेश दिएको छ। अहिले इच्छाराज र केशवलाल  थुनामा छन्। उनीहरूको मुद्दा उच्च अदालतमा विचाराधीन छ। चारपटक पेसी चढिसकेको भए पनि उनीहरूले नै स्थगन गरिरहेका छन्। 

न्यायाधीश कोइरालाबारे भने न्याय परिषदले छानबिन थालेको छ। कोइरालालाई सर्वोच्च अदालत तान्दै जिम्मेवारीविहीन बनाइएको छ। न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा गठित तीन सदस्यीय समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। 

सिभिल सहकारीका पूर्वअध्यक्ष तथा पूर्वसांसद तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई गत पुस १४ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त ठगी प्रकरणमा १२ जना पक्राउ परेका थिए। ४२ जनालाई प्रतिवादी बनाइएको थियो।
इच्छाराज र केशव थुनामा जाँदा अन्यसँग धरौटी मागिएको थियो। मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको छ।

उनीहरूविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध १ हजार ५ सय ३ जना निक्षेपकर्ताले जाहेरी दिएका छन्। 

याे पनिअदालतको घुस बार्गेनिङ अडिओ प्रकरणमा चोलेन्द्रका भाइ पनि तानिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .