कोभिड १९ को विश्व महामारीका बीच पनि दुईपांग्रे सवारीसाधन व्यापार गत वर्षजस्तै भएको छ।
सवारीसाधन तथा पार्ट्सको आयातमा गत वर्षको तुलनामा ५ अर्बको कमी देखिए पनि दुईपांग्रे सवारीसाधनको आयात करिब–करिब उस्तै देखिएको हो।
गत वर्ष साउनदेखि मंसिरको तुलनामा यो वर्ष २५० देखि ४०० सीसीसम्मका मोटरसाइकलको आयात झन् बढेको देखिएको छ। साउनदेखि मंसिर मसान्तसम्म २५० देखि ४ सय सीसीसम्मका २ हजार ७ सय बाइक आयात भएका छन्। गत वर्षको यही अवधिमा २ हजार ३ सय मात्रै बाइक आयात भएका थिए।
भन्सार विभागको तथ्यांकअनुसार ५० देखि २५० सीसीसम्मका आयातमा भने केही कमी देखिएको छ। गत वर्ष मंसिरसम्म १ लाख ४० हजार मोटरसाइकल तथा स्कुटर आयात भएकोमा यो वर्ष १ लाख ३२ हजार ५ सयवटा आयात भएका छन्।
दुईपांग्रेकै विद्युतीय साधन भने गत वर्षभन्दा आयात बढेको देखिएको छ। गत वर्ष विद्युतीय दुईपांग्रे ४ सय ३२ वटा आयात भएकोमा अहिले ५ सय ५७ आयात भएका छन्।
त्यस्तै साइकलको आयात समेत गत वर्षभन्दा बढेको देखिएको छ। यो वर्ष १ लाख ८६ हजार साइकल आयात भएका छन्। गत वर्ष १ लाख ६९ हजार मात्रै आयात भएका थिए।
अटो व्यवसायीहरुले कोभिडका कारण दुईपांग्रेको बजारमा धैरै असर नपारेको बताउँदै आएका छन्। उनीहरुले कोभिडको अवस्थामा संक्रमण जोखिमबाट बच्न सार्वजनिक यातायातभन्दा निजी सवारी उपयुक्त हुँदा आर्थिक चापका बीच पनि दुईपांग्रे खरिद गरेको व्यवसायी बताउँछन्।
समग्र सवारी आयातमा ५ अर्बको कमी
साउनदेखि मंसिरसम्मको ५ महिनामा ३६ अर्ब ५ करोडको सवारीसाधन तथा तिनका पार्ट्सको आयात भएको छ। गत वर्षको यही अवधिमा ४१ अर्ब ३५ करोडको आयात भएको थियो।
पेट्रोल इन्जिनका हजारदेखि १५ सय सीसीसम्मका ४ हजार २ सय सवारी आयात भएका छन् भने १४ सयदेखि २ हजारसम्मका २०१ सवारी आयात भएको तथ्यांकले देखाएको छ। गत वर्ष हजार सीसीसम्मका १४ सय ५७, १५ सय सीसीसम्मका ३ हजार ४ सय, ३ हजार सीसीसम्मका ७ सय १० वटा आयात भएका थिए।
डिजेल इन्जिन भएका १५ सय सीसीसम्मका ६ सय ४३ गाडी आयात भएका छन् भने १५ देखि २५ सयसम्मका ३ सय २३ गाडी आयात भएको तथ्यांक रहेको छ। गत वर्ष डिजेल इन्जिन भएका १५ सय सीसीसम्मका १ हजार ३९ र २५ सयसम्मका ४ सय ८८ वटा आयात भएका थिए।
चालू आर्थिक वर्षमा विद्युतीय गाडीमा बढाएको भन्सार र थप गरेको अन्तःशुल्क कारण दशैँसम्म आयात हुनसकेका थिएनन्। सरकारले असोजमा विद्युतीय गाडीमा लागेको अन्तःशुल्क घटाएपछि आयात सुरु भएको छ। जसअनुसार ५० किलोवाटसम्मका विद्युतीय कार, जिप भ्यान २७ वटा आयात भएको छ । ५० देखि १०० वाटसम्मका ७ वटा र १०० देखि १५० किलोवाटसम्मका ३ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन्। गत वर्ष समग्रमा १३ सय १० विद्युतीय गाडी आयात भएका थिए।
ढुवानीका साधनको आयातमा पनि कमी
साउनयता सामान ढुवानी गर्ने डबल क्याप वा २ भन्दा बढी यात्रु बस्न मिल्ने ९ सय ३ वटा पिकअप नेपाल भित्रिएका छन् भने २ यात्रुमात्र बस्न मिल्ने सिंगल पिकअप भेहिकल १७ सय २ भित्रिएका छन्। गत वर्ष डबल पिकअप १२ सय २९ र सिंगल पिकअप १८ सय ६७ आयात भएका थिए।
विभागका अनुसार यो वर्ष सामान ढुवानी गर्ने डिजेल इन्जिन भएका ६ देखि २० टनसम्मका ३५० वटा सवारीसाधन भित्रिएका छन् भने २० टनभन्दा माथिका ५ सय ६४ गाडी भित्रिएका छन्।
त्यसैगरी पेट्रोल इन्जिन भएका ५ टनभन्दा बढी क्षमता भएका सामग्री ढुवानी गर्ने सवारी १०२ वटा आयात भएका छन्। ५ टनसम्म क्षमता भएका डेलिभरी भ्यान २७२ आयात भएका छन्।
सामग्री ढुवानी गर्न मिल्ने ३ पांग्रे साधन १०० वटा आयात भएको छ।
तीनपांग्रे सवारी
तराई क्षेत्रमा बढी प्रयोगमा आएका तीनपांग्रे कोभिडको प्रभावले आयात घटेको छ। नेपालमा तीनपांग्रेमा पनि विद्युतीय र पेट्रोल इन्जिनमा आयात हुने गरेका छन्।
विद्युतीय ३ पांग्रेलाई व्यवसायीले नेपालमै ल्याएर पनि एसेम्बल गर्ने गरेका छन्। यो वर्ष नेपालमै ल्याएर एसेम्बल गर्ने अवस्थाका ५ सय ४ भित्रिएका छन् भने निर्माण कम्पनीमै बनेका अवस्थाका ६०६ वटा भित्रिएका छन्। गत वर्ष विद्युतीय तीनपांग्रे १ सय २९ आयात भएका थिए।
नेपालका मुख्य सहर हजार सीसीसम्मका पेट्रोल इन्जिन भएका अटोरिक्सा बढ्दै गएका छन्। गत वर्ष मात्रै ५ हजार ४ सय यस्ता रिक्सा भित्रिएका थिए। यो वर्ष भने कोभिडका कारण आर्थिक गतिविधिमा कमी आउँदा रिक्साको हायात ह्वात्तै घटी ५ सय ७७ मा झरेको छ।
पेट्रोल इन्जिन भएका ५ टनसम्म सामग्री बोक्नसक्ने तीनपांग्रे ४०८ वटा आयात भएका छन्।
११ प्रतिशतले व्यापार घाटा कम
गत वर्षको तुलनामा आयातमा कमी तथा निर्यातको वृद्धिले व्यापारघाटा ११ प्रतिशतले घटेको छ। गत वर्षको तुलनामा आयात साढे ९ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०७६/०७७ को पहिलो ५ महिनामा ५ खर्ब १ अर्बको आयात भएकोमा चार वर्ष ५ खर्ब २५ अर्बको आयात भएको छ।
निर्यात भने गत वर्षको तुलानामा ५.१२ प्रतिशतले बढेको छ। गत वर्ष ४७ अर्बको निर्यात भएकोमा यो वर्ष ५० अर्बको निर्यात भएको छ।
वैदेशिक कारोबार पनि गत वर्षको तुलनामा ८.४ प्रतिशतले घटेको छ।
Shares
प्रतिक्रिया