कोरोना महामारी रोक्न लागू गरिएको लकडाउन र निषेधाज्ञाको कारण नेपालको पनि अर्थतन्त्र चलायमान हुनसकेको छैन। सरकारको आम्दानीमा ठूलो स्रोत अटो क्षेत्र हो। लकडाउन तथा निषेधाज्ञाका कारण अटो बजार अहिले ठप्पजस्तै छ। असारमा लकडाउन खुकुलो भएसँगै चलायमान हुनलागेको अटोबजार फेरि भदौको निषेधाज्ञाले बन्द भयो।
हरेक वर्ष नाडा अटो शो तथा दशैँ तिहार लक्षित स्किम ल्याउने अटो व्यवसायीले असारमा लकडाउन खुकुलो भएसँगै आकर्षक स्किम ल्याएका थिए। अधिकांश व्यवसायीको स्किम अवधि पनि सकिएको छ। अब दशैँ तिहार आउन लाग्दा व्यवसायीले फेरि आकर्षक स्किम ल्याउँछन् कि ल्याउँदैनन? अब अटो बजारलाई चलायमान बनाउन गर्नुपर्ने पहललगायतका विषयमा केन्द्रित रही नाडाका पूर्वअध्यक्ष तथा नेपालमा हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टका कार्यकारी निर्देशक अन्जन श्रेष्ठसँग गरिएको कुराकानी :
लामो समय लकडाउन र निषेधाज्ञा गर्नुपर्ने अवस्था आयो, यसले अटो बजारमा के–कस्तो प्रभाव पर्यो?
छ महिनादेखि अटो मोबाइलको बजार राम्ररी चल्न पाएको छैन। अझ कमर्सियल भेहिकल र स्ट्यान्डर्ड भेहिकलको बजार शून्यजस्तै छ। यस्तो विकराल परिस्थितिमा हामी छौँ।
अब अटोबजारलाई कसरी चलायमान बनाउन सकिएला?
अटो बजार कसरी चलायमान बनाउने भन्ने नै अहिलेको मुख्य चिन्ता छ। यसका लागि पहिला अर्थतन्त्र चलायमान हुनुपर्छ। अर्थतन्त्र चलायमान भयो भने मानिसले रोजगारी पाउँछ वा व्यापार व्यवसायबाट आम्दानी गर्छ। अहिले मानिससँग पैसा थुप्रिएर बसेको पनि छैन। आम्दानी सुनिश्चित भएपछि मात्रै मान्छेले गाडी किन्न खोज्छ।
अर्थतन्त्र चलायमान बनाउन के–के गर्नुपर्छ?
अर्थतन्त्र चलायमान बनाउन पहिलो कुरा लकडाउनलाई व्यवस्थित गर्नुपर्यो। कोभिडलाई जीवन पद्धतिसँग जोड्नुपर्यो। सरकारले सबै व्यवसायलाई सुरक्षित मापदण्ड बनाएर चलाउन दिनुपर्यो। उद्योग व्यवसाय सञ्चालनका लागि भारतलगायत विश्वका अधिकांश देशले त्यसै गरेका छन्। नेपालभन्दा भारतमा कोभिडको विकराल अवस्था छ। त्यहाँ सुरक्षा मापदण्ड बनाएर सबै व्यवसाय सुचारु भएका छन्। यसले विस्तारै अर्थतन्त्रलाई लयमा फर्काउने देखिन्छ।

दोस्रो पक्ष उद्योग व्यवसायलाई जोगाउनुपर्छ। त्यसको लागि ‘स्टिमुलस प्याकेज’ (राहत) ल्याउनुपर्यो। भारतमा यस्तो प्याकेज ल्याउँदा त अर्थतन्त्र माइनस साढे २३ प्रतिशतमा झर्यो। नेपालमा त सरकारले केही गरेकै छैन। बजेट र मौद्रिक नीतिबाट केही प्रतिबद्धता गरेको हो तर अझैसम्म कार्यान्वयन हुनसकेको छैन। पूरै उद्योग धन्दा ठप्प भएको बेला सरकार जाग्नुपर्यो, तात्नुपर्यो। नभए नेपालको अर्थतन्त्रमा दीर्घकालीन असर पर्छ।
बजेटमा एक खर्ब पुनर्कर्जाको कुरा आएको थियो। व्यवसायीले त्यसको उपयोग गर्न पाए कि पाएनन्?
पुनर्कर्जाको लागि राष्ट्र बैंकले निर्देशिका जारी गरिसकेको भए पनि व्यवसायीले अझै त्यसको उपयोग गर्न पाएका छैनन्। मौद्रिक नीति आएको दुई महिना हुनलाग्दा व्यवसायीले बैंकमा निवेदन दिएका छन् तर कर्जा पाउनसकेका छैनन्।
राष्ट्र बैंकले बजेटमा आएको कुरा मौद्रिक नीति बनाउँदा त्यसको कार्यविधि सँगै बनाएको भए यति लामो समय लाग्ने थिएन। त्यसपछि अहिले बैंकले निवेदन मात्रै लिएका छन्, कर्जा दिन अझै तयार छैनन्। राहत खोजेका व्यवसायीलाई ६ महिनादेखि लकडाउन र निषेधाज्ञाबाहेक केही छैन।
हरेक वर्ष सबैभन्दा बढी गाडी बिक्ने समय ठप्प छ। यो वर्ष नाडा पनि नहुने अवस्था आयो, नजिकिँदो दशैँ तिहारलाई लक्षित गरेर स्किम ल्याउँछन् व्यवसायीले?
हामी त जति सक्यो धेरै गाडी बिक्री होस् भन्ने हो। त्यसका लागि सकेसम्म आकर्षक स्किम त ल्याइरहेका हुन्छौँ। यो निरन्तरको कुरा पनि हो तर दशैँलाई लक्षित गरी यस्तो स्किम आउँछ भन्न सक्दिनँ। सबै व्यवसायीको आ–आफ्नै मार्केटिङ रणनीति हुन्छ।
हुन्डाईले केही आकर्षक स्किम ल्याउँदै छ?
हुन्डाईले कस्तो स्किम ल्याउने नल्याउने भन्ने विषयमा योजना बनाउँदै छौँ। अहिले नै यस्तो स्किम आउँछ भन्न सक्दिनँ। हामी जहिले पनि हुन्डाईका ग्राहकलाई कसरी सहज हुन्छ सोचिरहेका छौँ।
केही व्यवासयीले ‘भिजुअल अटो शो’ भनिरहेका छन्। कोभिडको अवस्थामा हुन्डाईले ग्राहकलक्षित अनलाइन सेवा कसरी दिएको छ?
लक्ष्मी इन्टरकन्टिनेन्टले ग्राहकको लागि छुट्टै अनलाइन एप बनाएका छौँ। ग्राहकले त्यसमा आफूलाई मन पर्ने हुन्डाईको जुनसुकै गाडी पनि बुक गर्न सक्नुहुन्छ। त्यसको सम्पूर्ण जानकारी अनलाइनमार्फत दिने व्यवस्था गरेका छौँ। हुन्डाईका ग्राहकले नगद बोकेर आउनुपर्दैन। विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्छन्। ग्राहकले टेस्ट ड्राइभ गर्न चाहयो भने उसकै घरमा गाडी पुर्याइदिन्छौँ। कोभिड १९ को अवस्थामा कुनै पनि ग्राहकलाई शोरुम नै आउनु नपर्ने व्यवस्था गरेका छौँ।
अब विस्तारै बजार खुल्दै गयो भने कहिलेसम्म सामान्य अवस्थामा आउला?
सामान्य अवस्थामा आउनको लागि समग्र अर्थतन्त्र नै ‘रिभाइभ’ हुनुपर्छ। नेपालले विदेशमा धेरै निर्यात ठूलो छैन। नेपालको वैदेशिक वा आन्तरिक ऋण धेरै छैन। हाम्रो अर्थतन्त्र कृषिमा आधारित छ। कोभिडको यति लामो समय हुँदा पनि रेमिट्यान्समा सामान्य गिरावट मात्रै आएको छ। यी कुराले नेपालको अर्थतन्त्र माइनसमा गएको देखिँदैन। तर अब सरकारले खर्च गरेन भने अर्थतन्त्रमा ठूलो असर पर्छ।
विकास निर्माणका काम सुचारु गरेर रोजगारी सिर्जनाका काम सुचारु गर्नुपर्यो। करिब ३७ लाखले रोजगारी गुमाएको आँकलन गरिएको छ। रोजगारी पाएका मानिस पनि आधा तलब पाइरहेका छन्। अब नियमित उडान भएसँगै बाहिरबाट नेपाल आउने संख्या बढ्छ। त्यसको व्यवस्थापन कसरी गर्ने मुख्य चुनौती रहेको छ।
मानिस बेरोजगार भए माग बढ्दैन, त्यसको लागि सरकारले पूर्वाधार विकासका कामलाई छिटोछिटो अघि बढाउनुपर्यो। सरकारले खर्च गर्यो भने रोजगारी बढ्छ, बजारमा पैसा आउँछ। मानिसको आम्दानी बजारमा खर्च भयो भने बजार पुरानो लयमा फर्किँदै जान्छ।

प्रतिक्रिया