ad ad

अटो


नयाँ वर्षदेखि राति पनि सार्वजनिक यातायात, ५० प्रतिशत भाडा वृद्धिको माग

नयाँ वर्षदेखि राति पनि सार्वजनिक यातायात, ५० प्रतिशत भाडा वृद्धिको माग

नेपालखबर
फागुन १, २०७६ बिहिबार ६:४७,

वि.सं. २०७७ को नयाँ वर्षसँगै काठमाडौंमा रात्रिकालीन सार्वजनिक सवारीसाधन सञ्चालन तयारीलाई तीव्र बनाउन महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सरोकारवाला निकायका अधिकारीहरुलाई आग्रह गरेका छन्।

बुधबार महानगरको सभा कक्षमा आयोजना गरिएको ‘काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात र ट्याक्सी सेवा सञ्चालन’ विषयमा सरोकारवाला कार्यालयसँगको बैठकमा बोल्दै मेयर शाक्यले भने, ‘यो सजिलो काम होइन। २०६९ सालमा पनि प्रयोग गरिएको हो। अहिले समय र समाज फेरिएको छ। सहरलाई रातमा पनि जागा बनाउँदै लैजान र यातायात प्रणालीलाई विस्तार गर्दै लैजान आवश्यक छ।’

रात्रिकालीन सवारी सञ्चालनका लागि महानगरले केही सहयोग गर्छ, त्यसमा थपेर व्यवसायीलाई सेवा बढाउन प्रेरित गर्नुपर्ने मेयर शाक्यको भनाइ थियो। सेवा सुरु गर्दा पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सवारी सञ्चालन गर्ने बिषयमा बैठक केन्द्रित थियो।

यसअघि महानगरले नमूनाका रुपमा टुँडिखेल वरिपरि ‘पिक एण्ड ड्रप’ सुुरु गरिसकेको छ। ‘सुरुमा केही आलोचना भए पनि अहिले त्यसको प्रभाव सकारात्मक परेको छ,’ मेयर शाक्यले भने, ‘सार्वजनिक यातायातले यात्रु पर्खिने होइन, यात्रुले चाहिँ पर्खेर सवारी चढ्न यात्रुलाई अभ्यस्त गराउँदै लैजानुपर्छ। पहिलेको १८ महिना रात्रि सेवा सञ्चालनको अनुभव छ । त्यसको सिकाइलाई उपयोग गरेर दिगो सेवा व्यवस्थापनको काम गरौं।’

बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले, साँझ वा त्यसपछिको समयमा मानिसहरु बाहिर निस्कने वातावरण तयार गर्दै सवारी सञ्चालनलाई यससँग जोड्नुपर्ने बताए। ‘प्रस्ताव सकारात्मक छ,’ उनले भने, ‘रात्रिकालीन सेवा सञ्चालन गर्नुको विकल्प छैन। यसलाई छिटै कार्यान्वयन गर्ने गरी अघि बढौँ।’

बैठकमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले, जिल्ला प्रशासन कार्यालयले सबन्वयको काम गर्ने बताउँदै सकारात्मक योजनालाई चाँडै अघि बढाउनुपर्ने बताए। बैठकमा बोल्दै काठमाडौं महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले रात्रिकालीन बजार चलाउँदै जाने, सडकमा पर्याप्त प्रकाशको व्यवस्था गरिदिने कामलाई पनि सँगै लैजाने योजना अघि बढाउनुपर्ने सुझाव दिए।

महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवारले रात्रीकालीन व्यवसायलाई प्रवद्र्धन र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको बताए। रात्रिकालीन यातायातले नेपाल भ्रमण वर्षमा नेपाल आउने पर्यटकका लागि पनि सहयोग पुग्ने उनको भनाइ छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले यसले स्थानीयमा पनि घुम्ने संस्कार बसाउन मद्दत गर्ने बताए।

बैठकमा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ वाग्मती प्रदेशका अध्यक्ष धर्मराज रिमालले अनुदान दिएरभन्दा भाडा दरमा वृद्धि गरेर सेवालाई दिगो बनाउन सकिने बताए। सुरुवातमा हामी कम्तीमा १५ वटा रुटमा ६० वटा सवारी साधनबाट सेवा सञ्चालन गर्न सक्छौं। यसका लागि सरकारले रात्रिकालीन सेवामा ५० प्रतिशत भाडा वृद्धि गरिदिनुपर्छ। रिमालको माग थियो।

बैठकले रात्रिकालीन यातायात सेवा सञ्चालन तथा व्यवस्थापन गर्न महानगरको सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरको संयोजकत्वमा सरोकारवाला कार्यालयका प्रतिनिधि रहने कार्यदल पनि गठन गरेको छ। यसको सदस्यमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय, यातायात व्यवस्था विभागलगायत कार्यालय र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघलगायत संघ संगठनका प्रतिनिधिलाई सदस्य राखिएको छ।

प्रस्तावित कार्यक्रमअनुसार यातायात व्यवसायी महासंघले सवारी सञ्चालन गर्नेछ भने काठमाडौं महानगरपालिकाले यसका लागि नीतिगत प्रबन्ध गर्नेछ। त्यस्तै रातमा सञ्चालन गरिने अनलाइन प्रिपेड ट्याक्सीहरुमा जिपियस प्रणाली जडान गरिदिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .