मोरङ उद्योग संघले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित कार्यसमितिलाई नाडा सचिवालयमै आएर शुभकामना दिएको छ। मोरङ उद्योग संघका अध्यक्ष भीम घिमिरे नेतृत्वको टोलीले कृष्ण प्रसाद दुलाल नेतृत्वको कार्यसमितिलाई शुभकामना व्यक्त गरेको हो।
संघले शुभकामना दिँदै फागुन २ देखि विराटनगरमा हुनलागेको ‘विराट एक्स्पो’मा सहभागिताको लागि निमन्त्रणा गरेको छ। २०५२ देखि विराटनगरमा एक्स्पो हुँदै आएको भन्दै अध्यक्ष घिमिरेले नाडाको सहयोग अपेक्षासहित उपस्थित हुने अपेक्षा गरे।

विराट एक्स्पोका संयोजक भोला दुलालले डोम बनाउनको लागि नाडाले सहयोग गर्न आग्रह गरे। उनले भने, ‘अटोमोबाइल क्षेत्रका ३५ सहित ३ सय १५ स्टल रहने एक्स्पोमा नाडाले एउटा डोमको लागि सहयोग गर्ने आशा गरेका छौं।’
जवाफमा नाडा अध्यक्ष कृष्ण प्रसाद दुलालले विराट एक्स्पोको लागि आफूहरुले गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए। आफ्नो नेतृत्वमा आएको नाडा कार्यसमितिले देशभरका अटो व्यवसायीलाई जोड्दै जाने योजना भएको दुलालले बताए।
‘मेरो प्रमुख प्राथमिकता देशभरका अटो व्यवसायीलाई नाडामा जोड्नु हो। सबै प्रदेशलाई संस्थागत सदस्य बनाई अघि बढ्ने योजनामा छौं’, आफ्नो कार्यकालको प्राथमिकता सुनाउँदै उनले भने, ‘अटो व्यवसाय पारदर्शी हुनुपर्छ, त्यसको लागि हामीले सरकारसँग समन्वय गरी नाडाका सबै सदस्यलाई ट्रेनिङ दिन्छौँ।’

प्रतिक्रिया