ad ad

अटो


सरकारले १ प्रतिशत डाउनपेमेन्टमा गाडी किन्नसक्ने व्यवस्था गर्नुपर्छः नाडा अध्यक्ष दुलाल (अन्तर्वार्ता)

सरकारले १ प्रतिशत डाउनपेमेन्टमा गाडी किन्नसक्ने व्यवस्था गर्नुपर्छः नाडा अध्यक्ष दुलाल (अन्तर्वार्ता)

बसन्त अर्याल
पुस ६, २०७६ आइतबार ११:३२,

सन् २०११ मा कार्यकारी सदस्यको रुपमा नाडामा प्रवेश गरेका कृष्ण दुलाल केही दिनअघि मात्रै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सर्वसम्मत अध्यक्ष चुनिएका हुन्।

उनी यसअघि नै नाडाको कोषाध्यक्ष भइसकेका छन्। चारवटा कार्यकाल नाडामा बिताएका उनले सौरभ ज्योति र शेखर गोल्छाको नेतृत्वमा दुई कार्यकाल कोषाध्यक्ष भएर काम गरे।

अन्जन श्रेष्ठको कार्यकालमा महासचिव र शम्भु दाहालको नेतृत्वमा उपाध्यक्ष भएर काम गरेको अनुभव उनीसँग छ। दुलाललाई ४२औं साधारणसभाले सर्वसम्मत अध्यक्षमा चयन गरेपछि आफ्नो अध्यक्षतामा नाडालाई कसरी हाँक्दै छन् त ? यसै सन्दर्भमा नवनियुक्त अध्यक्ष दुलालसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानीः

nada adhyaksha dulal 2

लामो समयदेखि अटो व्यवसायमा आबद्ध हुनुहुन्छ। नेपालको अटो क्षेत्रमा मुख्य समस्या के रहेछन्?
नाडाको मुख्य काम भनेको अटो व्यवसायीको हकहित संरक्षण गर्नु हो। यो सैद्धान्तिक मान्यता हो तर व्यावहारिक रुपमा भन्नुपर्दा भन्सार, कर, भ्याट, भीसीटीएस, गुणस्तर, लोन, बजार व्यवस्थापनमा मुख्य समस्या देखेको छु। यी समस्या समाधानका लागि र नीतिनिर्माणका कुरामा सरकारसँग सहजीकरण गर्नुपर्ने अवस्था छ।

नाडामा कर्पोरेट घरानाको मात्रै नेतृत्व हुँदा साना व्यवसायीको समस्यामा खासै ध्यान दिन नसकेको भन्ने सुनिँदै आएको छ, साना व्यवसायीका समस्या कसरी समाधान गर्नुहुन्छ?
नाडाले साना व्यवसायीको लागि केही गर्न सकेन भन्ने होइन। तर महशुस गराउन नसकेको मात्रै हो। देशभरका अटो व्यवसायीलाई नाडामा प्रतिनिधित्व गराई उहाँहरुका समस्या समाधानको लागि सरकारसँग सहजीकरण गर्छु।

nada adhyaksha dulal 3

पारदर्शी व्यवसायको गर्नको लागि करको समस्या समाधान गर्ने, साना व्यवसायीको आत्मसम्मान बढाउने कुरामा जोड दिनेछु। अटोमोबाइलले सबैभन्दा धेरै कर तिरेको हुनाले व्यवसायीलाई सम्मान हुनुपर्छ। कर तिर्ने मान्छेलाई कुनै सम्मान नहुने तर करको उपभोग गर्नेलाई बढी सम्मान हुने गरेको छ। यसलाई हटाउनुपर्छ। जसले धेरै कर तिर्छ, उसलाई विशिष्ट व्यक्ति घोषित गर्नुपर्छ।

तपाईंको कार्यकालमा विगतका अध्यक्षको भन्दा के फरक हुनेछ?
साना व्यवसायीका समस्या समाधान गर्न तत्काल कदम चाल्छु। ट्रेनिङका कार्यक्रमलाई फोकस गरी संस्थागत सदस्यको हकहितमा काम गर्छु।

नाडाको उपस्थिति चारवटा प्रदेशमा छ भने अब सातै प्रदेशमा विस्तार गरी सबै व्यवसायीलाई नाडा हाम्रो संस्था हो भन्ने महशुस गराउँछु। यसबाहेक ट्राफिक व्यवस्थापनमा हामी कहाँ चुकेका छौं भन्ने विषयमा केही नयाँ गर्छु भन्ने छ।

nada adhyaksha dulal 4

अहिले अटो बजार खस्किएको भनेर व्यवसायी चिन्ता गर्न थालेका छन्। तत्कालीन र दीर्घकालीन रुपमा अटो बजार विस्तारको लागि के गर्न सकिन्छ?
दीर्घकालीन योजना भनेको पूर्वाधार हुनुपर्छ। सडकको विस्तारविना अटो मोबाइलको बजार विस्तार हुन सक्दैन। यो नै पहिलो प्राथमिकता हो। अर्को अटो व्यवसाय पारदर्शी हुनु नै पर्छ।

मुख्य कुरा भनेको विकास हो। विकास भनेकै सडक विस्तार हो। अहिले नै सडक कम भइसक्यो। अहिलेको सडकलाई दोब्बर गर्नुपर्छ। नेपालमा राणाकालमा जे बाटो बनेका थिए, अहिले पनि त्यही नै छन्। नयाँ बाटो सिर्जना भएकै छैनन्।

तपाईं लुब्रिकेन्ट उद्योगी हुनुहुन्छ। अब नेपाली लुब्रिकेन्ट उद्योग विस्तारको लागि के गर्नुहुन्छ?
अटोमोबाइल क्षेत्रमा लुब्रिकेन्ट्स उद्योग मात्रै एक हो। टायर उद्योग पनि खासै चल्न सकेका छैनन्, भएका पनि बन्द भएका छन्। अहिले ३५ प्रतिशत बजार हिस्सा नेपाली लुब्रिकेन्टले ओगटेको छ। यसलाई ५० प्रतिशत हिस्सा पुर्याउन लागिपरेका छौँ।

सरकारले नेपाली उत्पादनलाई बढी प्रोत्साहन गर्न नसक्दा सोचेजस्तो प्रगति गर्नसकेका छैनन्। सरकारले सहयोग गर्ने हो भने टायर र लुब्रिकेन्टमा हामी आत्मनिर्भर हुनसक्छौँ। नेपाली उद्योगले उत्पादान गरेका वस्तुलाई अनिवार्य प्रयोग गर्न सकियो भने बल्ल चल्न सक्छन्।

nada adhyaksha dulal 5

नेपालमा हाल विद्युतीय गाडी र एसेम्बलिङ उद्योगको विषयमा बढी चर्चा हुने गरेको छ। यसमा तपाईंको भूमिका के हुन्छ?
नेपालमा त विद्युतीय गाडी उपयुक्त साधन हो। नेपालमा इन्धनको रुपमा विद्युत् भएकाले अन्यको तुलनामा ठीक छ। तर नेपालमै विद्युतीय गाडी उत्पादन गर्नको लागि त पूर्वाधार विकास नै गर्नुपर्छ। सबै नेपालीले गाडी चढ्छु भन्यो भने बल्ल उद्योग बाँच्न सक्छन्। अहिले १ प्रतिशतले मात्रै गाडी चढेका छन्।

बाहिर प्रतिस्पर्धा गर्न त हामी तत्काल सक्दैनौं। सरकारले १ प्रतिशत डाउनपेमेन्टमा गाडी खरिद गर्न सक्ने व्यवस्था गर्न सक्नपर्यो। अहिलेका सडक चार गुणाले वृद्धि हुनुपर्छ। बजार व्यवस्थापन र प्रतिफल सुनिश्चित भएपछि मात्रै अटाे उद्योग चल्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .