ad ad

सुदूरपश्चिम


कैलालीको सीतापुर, जहाँ घर–घरमा पुर्‍याइएको छ पाइपबाट ग्यास

छाडा चौपाया व्यवस्थापन, ग्यास र कम्पोष्ट मल उत्पादन
कैलालीको सीतापुर, जहाँ घर–घरमा पुर्‍याइएको छ पाइपबाट ग्यास

गोकुल जोशी
भदौ १२, २०८० मंगलबार १९:५१, कञ्चनपुर

कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका समीर चौधरी दाउरामा खाना पकाउनु पर्ने दुःखबाट मुक्ति चाहन्थे। ग्यासमा खाना पकाउने उनको इच्छा थियो। तर उनको आर्थिक अवस्थाले त्यो थेगेन। 

दाउरा संकलन गर्न नजिकैको खोट्यानी भुराखाली सामुदायिक वन धाउनु पर्थ्यो, उनलाई।

अचेल उनले दाउरामा खाना पकाउन छोडेको तीन महिना भइसक्यो। हाल उनी ग्यासमा खाना पकाउँछन्।

चौधरीको भान्सा कोठामै पाइप लाइनबाट ग्यास पुगेपछि दाउरामा खाना बनाउनुपर्ने बाध्यता हटेको हो। 

‘पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास नै लागेको थिएन,  ग्यास आएपछि एक घण्टामै खाना पाक्छ,’ उनी भन्छन्, ‘चुलोमा दाउरा बाल्नु परेको छैन।’

चौधरी मात्रै होइन, टीकापुर नगरपालिका–२ सीतापुरका ५५ परिवारको भान्सामा पाइप लाइनबाट ग्यास पुगेको छ। जसले गर्दा दाउरामा खाना पकाउन उनीहरुले छोडिसकेका छन्।

वर्षौंदेखि दाउराबाट खाना बनिरहेको उनीहरूको घरमा खाना ग्यासबाट  पाक्न थालेको हो। 

टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि घरमा पाइपबाट ग्यास पुगेको छ।

ग्यास प्लान्टबाट दैनिक बिहान र बेलुका २/२ घण्टा ग्यास छोड्ने गरिएको छ। ग्यास प्लान्ट परीक्षणको क्रममा रहेकाले उपभोक्ताले शुल्क पनि तिर्नुपरेको छैन।

छाडा चौपाया व्यवस्थापन गर्न बनाइएको गौशालाबाट संकलन गरिएको गोबरबाट ग्यास उत्पादन गरिएको हो। यसले टीकापुर क्षेत्रमा छाडा चौपायाको समस्यालाई पनि घटाएको छ।

बायो ग्यास प्लान्ट २ सय घनमिटर क्षमताको छ। १५५ घरधुरीसम्म ग्यास पुग्नेछ। वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र टीकापुर नगरपालिकाले एक करोड ६० लाख लागतमा प्लान्ट निर्माण गरेको हो। 

अहिले यसलाई सामुदायिक छाडा चौपाया व्यवस्थापन समितिले सञ्चालन गरिरहेको छ। यसमा टीकापुर क्षेत्रकै स्थानीय आबद्ध छन्। यस कार्यमा इन्जिनियर, एनिमल, एग्रिकल्चर विशेषज्ञ, प्राविधिक संलग्न रहेका छन्।

चौपायाको गोबरलाई संकलन गरेर प्लान्टमा राखिन्छ। त्यसलाई प्रशोधन गरेर ग्यास निकालिने गरिएको सामुदायिक छाडा चौपाया व्यवस्थापन समितिका सचिव द्धारिका जोशी बताउँछन्।

‘गौशालामा गाई चौपायाको अवस्था दयनीय देखियो, गौशालालाई व्यवसायसँग जोडेर सञ्चालन गर्न हामी केही साथीहरुले अध्ययन गर्‍यौं,’ जोशी भन्छन्, ‘त्यसपछि योजना बनाएर यो काममा लाग्यौँ, अहिले ग्यास प्लान्ट सञ्चालन गर्न सफल भएका छौँ।’

गौशालाको गोबरबाट कम्पोस्ट मल तयार गरेर बिक्री गर्न पनि सुरु गरिएको छ। अहिलेसम्म ४० हजारको मल बिक्री गरिएको उनले बताए।
‘योजनाको कार्यान्वयनको पहिलो चरणमा हामीले ग्यास र मल उत्पादन गरेका छौँ,’ उनले भने, ‘गौशालाले पैसा कमाउन थालिसकेको छ, अब केही वर्षभित्र गौशाला चलाउन दान मागिरहनु पर्दैन।’

परीक्षणको चरणमा भएकाले ग्यास निःशुल्क गरिएको हो। समितिले निर्णय गरेर केही दिनमा शूल्क तोक्ने जोशीले बताए।

गाईको गोबरबाट धूप तयार गर्ने, गहुतबाट फिनायल र गड्यौलाबाट मल उत्पादनका लागि अध्ययन भइरहेको छ। गौशालामा अहिले करिब ६ सय भन्दा बढी चौपायालाई राखिएको छ।

‘गोबर पर्याप्त छैन, आवश्यकता अनुसार गोबर नहुँदा चार घण्टा मात्रै प्लान्ट चन्छ,’ जोशीले भने।

सामुदायिक चौपाया व्यवस्थापन हुनुका साथै स्थानीयले ग्यास प्राप्त गरेको टीकापुर नगरपालिकाका इन्जिनियर नवराज जोशीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .