बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी ३ हजार ९४० मतान्तरले विजयी भएका छन्।
नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई पराजित गर्दै रास्वपाका भण्डारीले बैतडीबाट संसद यात्रा तय गरेका छन्।
भण्डारीले २२ हजार १३४ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका दामोदर भण्डारी १७ हजार ९१ मतसहित तेस्रो स्थानमा रहे।
योसँगै ०७०, ०७४ र ०७९ मा लगातार तीन पटक जित निकाल्दै ह्याट्रिक गरेका एमालेका भण्डारीको चौथो पटक संसदको यात्रा रोकिएको छ।
पहिलो पटक ०६४ मा चुनाव लडेका भण्डारी त्यसबेला माओवादीका नरेन्द्रबहादुर कुँवरसँग पराजित भएका थिए।
एमालेको गढ भत्काउँदै आफ्नै पूर्वसहकर्मीलाई उछिनेर रास्वपाका भण्डारीले संसद यात्रा तय गरेका छन्।
२०२३ मा बैतडी जन्मिएका भण्डारी पञ्चायतकाल, बहुदल र गणतन्त्रसम्मका राजनीतिक घुम्तीलाई नजिकबाट भागेका अनुभवी राजनीतिकर्मी हुन्।
उनले लामो समय कांग्रेसमा रहेर राजनीति गरे। दुई दशक बढी कांग्रेसको राजनीति गरेका भण्डारीले पटक पटक महासमिति सदस्य बनेका थिए। उनले स्नातकसम्मको अध्ययन गरेका छन्।
०७४ मा बैतडीको प्रदेश सभामा कांग्रेसबाट उनले प्रतिस्पर्धा गरेपनि जित निकाल्न सकेनन्। ०७९ को चुनावमा भने उनले टिकट नपाएपछि कांग्रेस परित्याग गरेर बैतडीको प्रदेश सभामा स्वतन्त्र चुनाव लडे। तर झिनो मतान्तरले पराजित भए।
भण्डारी यसपटक चुनावको केही महिनाअघि मात्रै रास्वपामा जोडिएका थिए।
दुई पटक प्रदेश सभामा व्यहोरेको हारको बदला लिँदै रास्वपाबाट भण्डारीले अहिले संघीय संसदमा पाइला टेकेका छन्।
Shares

प्रतिक्रिया