सुदूरपश्चिम


बझाङमा कांग्रेस-एमालेलाई आफ्नैको डर, नेकपा र रास्वपाले दिँदैछन् टक्कर

बझाङमा कांग्रेस-एमालेलाई आफ्नैको डर, नेकपा र रास्वपाले दिँदैछन् टक्कर

गोकुल जोशी
फागुन १०, २०८२ आइतबार २०:५१, कञ्चनपुर

बझाङको प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेस २६ वर्षदेखि जितविहीन छ। ०७४ यता नेकपा एमालेले पनि जित निकाल्न सकेको छैन। 
नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टी पुरानो विरासत फर्काउने रणनीतिका साथ चुनावी मैदानमा छन्। बहुदलपछिको ०४८ को पहिलो चुनावमा बझाङका दुवै क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो। 

बझाङ १ मा कांग्रेसका अर्जुनजंग बहादुर सिंह र बझाङ २ मा कांग्रेसकै लोकराज जोशीले चुनाव जितेका थिए।

तर ०५१ को चुनावमा बझाङमा एमालेले कब्जा जमायो।  बझाङ १ मा एमालेका भानुभक्त जोशी र बझाङ २ मा स्वतन्त्र नरेश बहादुर सिंहले चुनाव जितेका थिए। 

फेरि ०५६ मा कांग्रेसले दुवै क्षेत्र जितेको थियो। बझाङ १ मा कांग्रेसका अर्जुनजंग बहादुर सिंह र बझाङ २ मा सुरेश मल्लले चुनाव जिते। 

०६४ को पहिलो संविधानसभा चुनावमा माओवादी र एमालेले एक/एक क्षेत्र जितेको थियो। बझाङ १ मा एमालेका भानुभक्त जोशी र बझाङ २ मा माओवादीका शंकरबहादुर खड्का विजयी भएका थिए। 

फेरि ०७० मा बझाङ १ मा एमालेका मनप्रसाद खत्री र बझाङ २ मा एमालेकै लालबहादुर रावल निर्वाचित भए। 

०७४ मा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका भैरवबहादुर सिंहले चुनाव जिते भने ०७९ को चुनावमा वामलोकतान्त्रिकका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भए।

०५६ को चुनावयता जितविहीन कांग्रेसले यसपटक बझाङमा प्रकाश रसाइली स्नेहीलाई मैदानमा उतारेको छ। विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भएका स्नेहीलाई २६ वर्षपछि कांग्रेसलाई जिताउने चुनौती छ। 

विशेष महाधिवेशनबाट चयन भएको गगनकुमार थापा नेतृत्वको कांग्रेसमा सुदूरपश्चिमबाट पदाधिकारीमा अटाउने एक्ला नेता हुन् स्नेही। 
०७४ मा समानुपातिक सांसद बनेका उनै रसाइली पहिलो पटक प्रत्यक्ष चुनाव भिड्दै दोस्रो पटक संसद यात्रा तय गर्ने दाउमा छन्। 

विशेष महाविधेशनबाट सभापतिमा शेरबहादुर देउवालाई विस्थापित गरेर गगन थापाको नेतृत्वमा स्थापित भएपछि छिन्नभिन्न कांग्रेसलाई एकतृत गर्दै जित निकाल्नु पर्ने दबाबमा रसाइली छन्। 

‘अपमानित हुने गरी हठात् देउवालाई विस्थापित गरेपछि पार्टी पङ्क्तिभित्र असन्तुष्टि जीवितै छ। जसले चुनावमा अन्तर्घात हुने डर छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘त्यो संसयलाई चिर्दै पार्टीलाई एकढिक्का बनाउन सके जित निश्चित छ।’

वि.सं. ०३४ सालमा नेपाली कांग्रेसका पुराना नेता रुद्रवीर स्नेहीको परिवारमा जन्मिएका रसाइलीको कांग्रेसको संगठनका साथै दलित र सीमान्तकृत समुदायमा बलियो आधार रहेको मानिन्छ। 

उनले ०४७ सालमा नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीति सुरु गरेका थिए।  त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका रसाइली ०६० सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका थिए।

नेपाल दलित संघको केन्द्रीय महासचिवको जिम्मेवारी समेत सम्हालिसकेका उनी ०७४ मा समानुपातिकबाट प्रतिनिधिसभामा प्रवेश गरका थिए। 

तीन पटक महासमिति सदस्य हुँदै १४औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बनेका थिए रसाइली। 

बझाङ प्रतिनिधिसभामा नेकपा एमालेले ऐनबहादुर महरलाई मैदान उतारेको छ। समग्र बझाङ विकासका साथै युवा स्वरोजगार, आत्मनिर्भरता र सुशासन कायमका लागि नीति निर्माणमा अग्रणी भूमिका खेल्न भन्दै महरले मत मागिरहेका छन्। 

०७९ को चुनावमा वामलोकतान्त्रिक गवठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग झिनो मतान्तरले पराजित एमालेका महर यसपटक हारको बदला लिँदै संसदमा ‘डेब्यू’ गर्ने दाउमा छन्। तर उनको पार्टी एमाले पनि विवादरहित छैन। 

टिकट वितरणलाई लिएर एमाले बझाङमा व्याप्त असन्तुष्टि मत्थर गर्दै एमालेको मत सुरक्षित गर्नु पर्ने चुनौती महरलाई छ।

बझाङमा सुरुमा एमालेले नेता अफिलाल ओखेडालाई टिकट दिएको थियो। तर पछि उनको टिकट खोसेर महरलाई टिकट दिएपछि ओखेडा असन्तुष्ट छन्। 

‘दिएको टिकट खोसेपछि उहाँ(अफिलाल)ले अपमान महसुस गर्नुभएको छ। टिकट खोस्न उहाँले के गल्ती गर्नुभएको छ?,’ एमालेका एक नेताले भने, ‘एमाले पङ्क्तिका साथै दलित र सीमान्तकृत वर्गमा राम्रो सन्देश गएको छैन। उहाँको बलियो आधार रहेको त्यो क्षेत्रबाट चाहेजस्तो सहयोग नहुन पनि सक्छ।’

वि.सं. २०५५ देखि महरले एमालेमा विद्यार्थी राजनीति थालेका थिए। विद्यार्थी आन्दोलनमा सक्रिय महर अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य,  महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म भए।

एमाले र माओवादी केन्द्रको एकीकरणपछि नेकपा बन्दा वि.सं. २०७६ जेठ २ गते उनी भ्रातृ संगठन अनेरास्ववियूको अध्यक्ष बनेका थिए। त्यसपछि उनी विद्यार्थी राजनीति छोडेर एमालेको मूल राजनीतिमा प्रवेश गरे।

एमालेका महर बझाङमा पहिलो जित निकाल्दै पार्टीको पुरानो विरासत फर्काउन कस्सिएका छन्। 

नेपाली कांग्रेस र नेकपा एमालेलाई नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले टक्कर दिने अनुमान गरिएको छ।

नेकपाले बझाङमा मिनबहादुर कुँवरलाई चुनावी मैदानमा उतारेको छ। पहिलो पटक संसदीय चुनाव लडिरहेका उनी ०४८ सालमा अनेरास्ववियुको साधारण सदस्यका रूपमा राजनीतिमा प्रवेश गरेका थिए। 

२०५६ सालदेखि तत्कालीन नेकपा (माओवादी) का पूर्णकालीन सदस्य बनेका उनले प्रवास संगठनमा रहेर काम गरे। ०६१ सालमा माओवादी जनमुक्ति सेनाको कम्पनी कमाण्डर बनेका उनी सशस्त्र युद्धमा सहभागी भएका थिए। उनी अहिले नेकपाको जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालिरहेका छन्। 

भूमिगत जीवन, संगठन विस्तार र पार्टी काममा बिताएको अनुभवका साथै वाम घटकहरु एकढिक्का भएकाले सहजै चुनाव जित्ने अवस्था रहेको नेकपाका नेताहरूको दाबी छ।

देशभर चलिरहेको रास्वपाको लहरलाई तान्दै परम्परागत पार्टीलाई धक्का दिने रणनीतिका साथ रास्वपाका शैलेश कुमार सिंह मैदानमा छन्। 

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका शैलेशले करिब एक दशक बैंकिङ क्षेत्रमा पनि काम गरे। शिक्षा र उत्पादनमूलक क्षेत्रमा जमेका व्यवसायी समेत रहेका उनी राजनीतिमा होमिएका हुन्। 

यस्तै, राप्रपाबाट विश्वप्रकाश जेठारा, नेमकिपाका दलबहादुर बोहरा र माओवादीका भरत मल्ल उम्मेदवार छन्। 

बझाङमा ०७९ को स्थानीय तहको मतपरिणाम हेर्दा एमाले बलियो स्थितिमा देखिएको छ। १२ स्थानीय तहका कूल ९४ वडामध्ये एमालेले २८ वडा जित्दा ८ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। 

कांग्रेसले ३१, माओवादी केन्द्रले १२ र एकीकृत समाजवादीले १५ वडा जितेका थिए। समानुपातिक मतका आधारमा पनि एमाले नै अघि छ। 

०७९ को चुनावमा प्रतिनिधिसभातर्फ २२ हजार ६७४ मत ल्याउँदा कांग्रेसले १९ हजार ४३७ समानुपातिक मत पाएको थियो।

यस्तै, नेकपा माओवादीले ८ हजार २९५, नेकपा एकीकृत समाजवादीले ५ हजार १, रास्वापले १ हजार २९६ र राप्रपाले ८८५ समानुपातिक मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad