अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास 'मार-आ-लागो'को सुरक्षा घेरा तोडेर भित्र छिर्न खोज्ने एक व्यक्तिको सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको छ। शटगन र इन्धनको जर्किनसहित प्रवेश गर्न खोज्ने ती व्यक्तिको प्रतिकारका क्रममा मृत्यु भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।
अमेरिकी सुरक्षा निकाय 'सीक्रेट सर्भिस'का अनुसार मार-आ-लागोको उत्तरतर्फको गेटबाट एउटा सवारी साधन बाहिर निस्कन लागेको मौका छोपी ती संदिग्ध व्यक्ति भित्र छिरेका थिए। घटनाका बेला राष्ट्रपति ट्रम्प भने आफ्नो साप्ताहिक कार्यतालिका अनुसार वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा थिए। त्यहाँ थिएनन्।
सीक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले घटनाबारे जानकारी दिँदै भनेका छन्— 'संदिग्ध व्यक्तिलाई मार-आ-लागोको उत्तरतर्फको गेटमा शटगन र इन्धनको क्यान बोकेको अवस्थामा सुरक्षाकर्मीले फेला पारेका थिए। हाम्रा एजेन्टहरूले उनलाई रोक्न खोज्दा भएको मुठभेडमा उनको मृत्यु भएको हो।'
स्थानीय पाम बीच काउन्टी शेरिफको कार्यालयले पनि घटनाको पुष्टि गरेको छ। 'हाम्रा डेपुटी र सीक्रेट सर्भिसका एजेन्टहरूले सुरक्षा घेरा तोड्ने प्रयास गर्ने व्यक्तिको तत्कालै सामना गरेका थिए। यस क्रममा हाम्रा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन्।'
मारिने व्यक्तिको उमेर २० वर्षको हाराहारीमा रहेको र उनी नर्थ क्यारोलिनाका बासिन्दा भएको समाचार संस्था एएफपीले जनाएको छ। उनको परिवारले केही दिनअघि मात्रै उनी बेपत्ता भएको उजुरी दर्ता गराएका थिए। उनको साथमा रहेको इन्धन र हतियारका कारण उनले ठूलो आगजनी वा आक्रमणको योजना बुनेको हुनसक्ने सुरक्षा निकायको प्रारम्भिक अनुमान छ।
सुरक्षा चुनौती
राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार-आ-लागो लामो समयदेखि सुरक्षा चुनौतीको केन्द्रमा रहँदै आएको छ। सन् २०२४ मा उनीमाथि पेन्सिलभेनिया र फ्लोरिडाको गल्फ कोर्समा भएका दुईवटा हत्या प्रयासपछि यो क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो। ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि यो ठाउँलाई 'विन्टर ह्वाइट हाउस'को रूपमा लिइन्छ, जहाँ उच्च स्तरीय विदेशी पाहुनाहरूको समेत आवागमन हुने गर्दछ।
पछिल्लो समय यस निवासको सुरक्षा घेरा तोड्न खोज्ने घटनाहरू बढ्दै गएका छन्। यसअघि पनि विभिन्न व्यक्तिहरू पर्खाल नाघेर वा झुक्याएर भित्र छिर्न खोज्दा पक्राउ परिसकेका छन्। यो ताजा घटनापछि सुरक्षा एजेन्सीहरूले मार-आ-लागोको सुरक्षा रणनीतिको पुनः गम्भीर समीक्षा सुरु गरेका छन्।
Shares

प्रतिक्रिया