सुदूरपश्चिम


दार्चुलामा १८ वर्षपछि ठगुन्ना र जोशी आमनेसामने, दुवैलाई कांग्रेसको चुनौती

दार्चुलामा १८ वर्षपछि ठगुन्ना र जोशी आमनेसामने, दुवैलाई कांग्रेसको चुनौती

गोकुल जोशी
माघ २८, २०८२ बुधबार १८:५०, कञ्चनपुर

दार्चुलाको प्रतिनिधिसभा चुनावमा पूर्वमन्त्री नेकपा एमालेका गणेश सिंह ठगुन्ना पाँचौ पटक प्रतिस्पर्धामा उत्रिएका छन्। यसअघि ४ पटक चुनाव लडेका ठगुन्ना २ पटक विजयी र २ पटक पराजित भएका छन्। 

जित र हारको ह्याट्रिक संघारमा रहेका ठगुन्ना ०७९ को हारको बदला लिँदै तेस्रो पटक संसद यात्रा तय गर्ने दाउमा छन्। 

दार्चुलामा यसपटक ठगुन्नालाई एक जनाबाहेक अरु नयाँ अनुहारले टक्कर दिँदैछन्। नेपाली कम्युनिष्ट पार्टीले लक्ष्मणदत्त जोशीलाई मैदानमा उतारेको छ। 

एमालेका ठगुन्ना र नेकपाका जोशी १८ वर्षपछि आमनेसामने भएका छन्।  ०६४ को पहिलो संविधानसभा चुनावमा एमालेका ठगुन्ना तत्कालीन माओवादीका जोशीसँग पराजित भएका थिए। 

पहिलो प्रयासमा संसद छिर्न नपाएका ठगुन्नाले ०७० को दोस्रो संविधानसभाको चुनाव जितेर संसद यात्रा तय गरे। ०७० मा उनले कांग्रेसका दिलेन्द्रप्रसाद वडूलाई पराजित गरेका थिए।

०७४ मा वामगठबन्धनको साझा उम्मेदवार बनेका एमालेका ठगुन्नाले कांग्रेसका विक्रमसिंह धामीलाई उछिन्दै दोस्रो पटक सांसद निर्वाचित भएका थिए। 

०७९ को चुनावमा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेसका दिलेन्द्र प्रसाद वडूसँग हारेपछि ठगुन्नाको संसद यात्रा रोकियो। यसपटक कांग्रेसबाट वडू उम्मेदवार छैनन्।

कांग्रेसले दार्चुलामा धर्मानन्द जोशीलाई मैदान उतारेको छ। ०७९ को हारको बदला लिँदै तेस्रो पटक संसद यात्रा तय गर्ने दाउमा रहेका एमालेका ठगुन्ना अहिले मतदाता भेटघाटमा व्यस्त छन्। 

एमालेले दार्चुलामा नेपाली कांग्रेसलाई नै प्रमुख प्रतिस्पर्धी ठानेको छ। हार र जित दुवैमा एमाले जनतासँगै रहेकोले यसपटक चुनावमा एमालेले जित्ने नेता प्रेमसिंह धामीको दाबी छ। 

‘उहाँजस्तो व्यक्तित्व भएको उम्मेदवार अन्य पार्टीमा छैन। कोही रिटायर्ड भएर आएका छन्। चुनाव हारे जागिरतिर जान्छन्। कोही जितेर गएपछि फर्केर नआउने छन्,’ उनले भने, ‘हार र जितमा एमाले जनतासँगै छ। उहाँ(ठगुन्ना) जिते मन्त्री बन्नुहुन्छ।’

नेपाली कांग्रेसका धर्मानन्द जोशी जित निकाल्दै कांग्रेसको पुरानो विरासत कायम राख्नु पर्ने दबाबमा छन्। उनी पहिलो पटक संसदीय चुनाव लड्दैछन्।

कानुनमा एलएलएम गरेका शैल्यशिखर नगरपालिका–८ का जोशी संयुक्त राष्ट्र संघमा काम गर्थे। ०७९ को चुनाव जितेका कांग्रेसका वडूले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले उनै जोशीलाई मैदानमा उतारेको हो। उनी अहिले घरदैलो कार्यक्रममा व्यास गाउँपालिकामा केन्द्रित भएका छन्। 

कांग्रेसमा नेतृत्व परिवर्तनले नयाँ उर्जा छाएकोले परिवर्तनको मागलाई सम्बोधन गर्ने गरी नयाँ उम्मेदवार दिएको कांग्रेस दार्चुलाका सभापति ललित बोहरा बताउँछन्।

‘२ पटक सांसद बन्दा पनि खासै काम गरेको देखिएन। कांग्रेसमा नेतृत्व परिवर्तनले नयाँ जोस र जाँगर गाउँगाउँसम्म पुगेको छ,’ उनी भन्छन्, ‘नयाँ फ्रेसलाई उम्मेदवार बनाएकोले केही परिवर्तन हुन्छ की भनेर जनता उत्साहित छन्।’

१८ वर्षपछि पुराना प्रतिस्पर्धीसहित अन्य दल र स्वतन्त्र उम्मेदवारलाई उछिन्दै संसद यात्रा दोहोर्‍याउने रणनीतिमा नेकपाका जोशी पनि छन्।

कांग्रेस, एमाले र नेकपासहित दार्चुलाको प्रतिनिधिसभाको चुनावमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। रास्वपाले दार्चुलामा राजेशसिंह सामन्तलाई मैदानमा उतारेको छ।

यस्तै, राप्रपाका राजेश चन्द, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्ना, नेकपा माओवादी नवराज भट्ट, आम जनता पार्टीका प्रेमसिंह बडाल, नेपाल मजदुर किसान पार्टीका रमेश कुमार रावल, नेपाल कम्युनिष्ट पार्टी संयुक्तका विद्यादेव जोशी र राष्ट्रिय जनमोर्चाका बिर्खराज पन्त उम्मेदवार छन्।

दार्चुलामा ०४८ यताका चुनावमा कांग्रेस र एमाले ३/३ पटक तथा माओवादी र राप्रपा एक/एक पटक जितेका छन्। 

०४८ मा दुई क्षेत्र रहेको दार्चुलामा १ मा कांग्रेसका दिलेन्द्र प्रसाद वडू र क्षेत्र नम्बर २ मा राप्रपाका अम्बर बहादुर सिंह जितेका थिए। ०५१ मा एउटै निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमालेले विजयी झण्डा फहराएको थियो। एमालेका प्रेमसिंह धामीले कांग्रेसका वडूलाई पराजित गरेका थिए। 

यस्तै, ०५६ मा कांग्रेसका वडू, ०६४ मा माओवादीका जोशी, ७० र ०७४ मा एमालेका ठगुन्नाले जितेका थिए। 

०७९ को चुनावमा कांग्रेसका वडूले जित निकाल्दै दार्चुलामा २३ पछि कांग्रेसको विरासत फर्काएका थिए। दार्चुलामा कांग्रेसको विरासत जोगाउने जिम्मा अहिले धर्मानन्द जोशीको काँधमा आएको छ। 

०७९ को समानुपातिक मतको आधारमा एमाले बलियो स्थितमा छ। एमालेले २४ हजार ८८३ मत पाउँदा कांग्रेसले २० हजार ६५५ मत पाएको थियो।

यस्तै, नेकपा माओवादी केन्द्रले ८ हजार १९०, रास्वपाले ८७९, राप्रपाले ५०४ र नेकपा एकीकृत समाजवादीले ४६३ मत पाएका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad