बञ्जर जमिन वरवर रुखले घेरिएको छ। नजिकै जंगल पनि छ। त्यो जमिनमा अन्नबाली उब्जाउ हुँदैनथ्यो। भएकै पनि जनावरले खाएर सखाप पार्थ्यो।
त्यही ठाउँमा अहिले हरियाली छाएको छ। लहरै ड्रागन फ्रुटका विरुवा रोपिएका छन्। प्रायः बञ्जर भइरहने भीमदत्त नगरपालिका–९ मटेनास्थित यो क्षेत्रमा केहीवर्षयता ड्रागन फ्रुट उत्पादन भइरहेका छन्।
करिब ६ बिगाह क्षेत्रफलमा गरिएको ड्रागन फ्रुट खेतीले अहिले आम्दानी पनि दिइरहेको छ।

कोरोना महामारीका बेला चुरे फेदीको जमिनमा ड्रागन फ्रुट खेती गर्ने सोच बनाएका थिए, पूर्ववन अधिकृत रमेश बहादुर चन्द र रास्वपा सुदूरपश्चिम इन्चार्ज ज्ञानेन्द्र महताले।
वि.सं. २०७७ सालमा जमिन लिजमा लिएर व्यवसायिक रुपमा खेती सुरु गरिएको हो। खेतीबाट मनग्य आम्दानी भइरहेको महता बताउँछन्।
‘कोरोना महामारीका बेला धेरैको रोजगारी गुमेको र चुरे फेदीको बञ्जर जमिनलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर अध्ययन गरियो। त्यसपछि ड्रागन खेती राम्रो हुने सम्भावना देखिएपछि त्यसमा लागेका हौं,’ महता भन्छन्, ‘स्थानीयले स्वदेशमै काम पनि पाएका छन्।’

दुई जनाले संयुक्त रुपमा गरेको खेतीबाट फल र बिरुवा बेचेर ४०/५० लाखको कारोबार हुने गरेको छ। ड्रागन फ्रुटको बजार पनि राम्रो रहेको उनी बताउँछन्।
उनलाई माग पूर्ति गर्नै भ्याइनभ्याइ पर्ने गरेको छ। खेतीमा साढे तीन करोडको लगानी गरिएको छ। मटेनामा खेतीका लागि आवश्यक कोल्ड चेम्बरलगायत संरचना पनि तयार गरिएको छ।
३५ हजार रुपैयाँ बिगाहको दरले १० वर्षको लागि ६ बिगाह जमिन लिजमा लिइएको छ। ६ बिगाहमा ३० हजार विरुवा ड्रागन खेती गरिएको छ।

परम्परागत खेतीभन्दा ड्रागन खेती राम्रो रहेको र आम्दानी पनि राम्रो दिने गरेको महता बताउँछन्।
‘सबैभन्दा राम्रो कमाइ छ। लगानी खेर जाँदैन,’ उनी भन्छन्, ‘परम्परागत खेतीभन्दा दोब्बर तेब्बर आम्दानी गर्न सकिन्छ।’
महेन्द्रनगरमा थप एक बिगाह क्षेत्रमा खेती विस्तार गरिएको छ।

स्वादिलो र स्वस्थप्रदक यो फल सबैको रोजाइमा पर्छ।
‘छोटो समयमा नै लगानी असुल गर्न सक्ने अवस्थामा पुगेका छौं,’ उनले भने, ‘खेतीबाट सन्तुष्ट छौं। बजारको समस्या छैन। विरुवा लगेर कसैले खेती गर्छ भने फल बेच्न समस्या हुँदैन। हामीले किन्ने गरेका छौं।’
Shares

प्रतिक्रिया