सुदूरपश्चिम


हलगोरु पाल्ने किसानलाई पाँच हजार भत्ता

हलगोरु पाल्ने किसानलाई पाँच हजार भत्ता

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १३:२६, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकारले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा छुट्याएको कार्यक्रमअनुसार, सुदूरपश्चिमका नौ वटै जिल्लामा प्रोत्साहन भत्ता दिने भएको हो। यसका लागि ९७ लाख ५० हजार रुपैयाँ विनियोजन भएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी राजकुमार झाले बताए। 

उनले प्रदेशभरी हलगोरु पालन गर्ने एक हजार ९५० किसानलाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गरिने बताए। हलगोरु पाल्ने किसानलाई पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने तयारी भएको झाको भनाइ छ। 

यो कार्यक्रम नौ वटै जिल्लामा रहेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत सञ्चालन हुने तथा बजेट सबै विज्ञ केन्द्रमा गइसकेको उनले जानकारी दिए। यसका लागि कैलालीमा १५ लाख, कञ्चनपुरमा १२ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। त्यस्तै, बाँकी सात जिल्ला बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा र बझाङमा प्रतिजिल्ला १० लाख रुपैयाँका दरले विनियोजन भएको छ।

सूचना अधिकारी झाले प्रोत्साहन रकम पाउनका लागि किसानले हलगोरु वा राँगा पालेको हुनुपर्ने, कृषि तथा खेती गरिरहेको हुनुपर्ने, तराईका जिल्लाका हकमा गोरुगाडा हुनुपर्ने तथा किसानसँग हलो हुनुपर्ने व्यवस्था गरिएको बताए। 

प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम रहेका जिल्लाको हकमा सोही स्थानीय तह र अन्य जिल्लाको हकमा विकट स्थानीय तहलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। प्रोत्साहन रकम किसानको बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad