बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ।
तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो। स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजल लगायत अत्यावश्यक औषधिको अभाव भएको सुर्नया गाउँपालिका-३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले बताए। औषधि अभावमा सामान्य चोटपटक लागेकालाई उपचार गर्न पनि समस्या भएको विष्टको भनाइ छ।
स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्रसिंह विष्टले सामान्य सामग्री पनि उपलब्ध नहुँदा सुत्केरी सेवा समेत प्रभावित हुने अवस्था पुगेको बताए।
गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले पनि गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीबाट औषधि लगायत स्वास्थ्य उपकरण अभावबारे गुनासो आइरहेको बताए। गाउँपालिकाले स्वास्थ्य उपकरण सहित औषधि आपूर्तिका लागि बोलपत्र आह्वान गरिए पनि तालाबन्दीका कारण सम्झौता नहुँदा औषधि खरीद प्रक्रिया अघि बढाउन नसकिएको महराको भनाइ छ।
आफूहरूले मागेको सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी युवाले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। तालाबन्दी खुलाउन छलफल भए पनि सहमति जुट्न सकेको छैन।
Shares

प्रतिक्रिया