अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुपर्ट मर्डोक र उनको पत्रिका द वाल स्ट्रिट जर्नलविरुद्ध १० अर्ब डलर क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका छन्।
बाल यौन उत्पीडनको आरोपमा जेल परेका र जेलमै आत्महत्या गरेको जेफ्री एप्स्टिनलाई ट्रम्पले नग्न महिलाको चित्रसहितको चिठी लेखेको खबर सो पत्रिकाले छापेपछि ट्रम्पले मुद्दा हालेका हुन्।
ट्रम्पले शुक्रबार फ्लोरिडाको अदालतमा दायर गरेको मुद्दामा वाल स्ट्रिट जर्नल र सोको माउ कम्पनी न्युज कर्प्स तथा डाउ जोन्सका साथै पत्रिकाका दुई रिपोर्टर मालिक मर्डोकलाई प्रतिवादी बनाइएको छ।
मुद्दामा क्षतिपूर्ति र अन्य खर्चसमेत गरी १० अर्ब डलरभन्दा नघट्नेगरी माग दाबी गरेका छन्। उनले चिठी नलेखेको दाबी गरेका छन्।
त्यसअघि ट्रम्पले सो खबर छापिन नदिन जोडबल लगाएका थिए। उनले मर्डोक, पत्रिकाकी सम्पादक एम्मा टकर र न्युज कर्पका सीईओ रोबर्ट थम्सनलाई फोन गरेका थिए।
डाउ जोन्सका प्रवक्ताले रिपोर्टिङको विश्वासनीयतामा आफूहरू ढुक्क रहेको र बलियोगरी मुद्दा लड्ने बताएका छन्।
मिडिया साम्राज्यका मालिक मर्डोक र ट्रम्पले एकअर्कालाई ठूलो सहयोग पुर्याउँदै आएका थिए।
पहिले एप्स्टिनको मृत्युसम्बन्धी फाइल तथा एप्स्टिनमार्फत नाबालिकाहरूको यौनशोषण गरेका भनिएकाहरूको नामसूची सार्वजनिक गर्ने बताउँदै आएका ट्रम्पले पछिल्लो समय त्यस्तो सूची नभएको दाबी गर्न थालेका छन्।
यसबाट ट्रम्पका समर्थकहरूमा असन्तुष्टि छाएको छ। एजेन्सी
Shares

प्रतिक्रिया