सुदूरपश्चिम


काठमाडौँ बोलाइएका सांसदलाई प्रचण्डले भेटेनन्, फेरि आश्वासन बोकेर फर्किए खगराज

काठमाडौँ बोलाइएका सांसदलाई प्रचण्डले भेटेनन्, फेरि आश्वासन बोकेर फर्किए खगराज

गोकुल जोशी
बैशाख २८, २०८२ आइतबार १७:११, कञ्चनपुर

नेकपा माओवादी सुदूरपश्चिम संसदीय दल नेताको विवाद साम्य हुन सकेको छैन। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विवाद टुंग्याउन छलफलका लागि माओवादीका १० सांसदलाई काठमाडौँ बोलाए पनि छलफल नै अघि बढ्न सकेन।

दल नेताको समस्या समाधान गर्न २४ गते दाहालले सांसदहरूलाई काठमाडौँ बोलाएका थिए। तर उनी बाथरुममा लडेर घाइते भएपछि सबै सांसदहरूसंग वार्ता हुन नसकेको हो।

दाहाललाई भेट्न काठमाडौँ गएका सांसदमध्ये माओवादी सुदूरपश्चिमका खगराज भट्ट समूहका सांसदहरूले मात्रै दाहाललाई आइतबार भेटेका थिए। दल नेतामा भट्टलाई पुनर्बहाली गर्ने दाहालको पुरानै आश्वासन उनीहरूले पाए।

‘विगतमा भएको निर्णय कार्यान्वयन गराउने आश्वासन दिनुभयो। पार्टीको निर्णय मान्न सबै तयार हुनुभएको छ,’ भट्ट समूहका एक सांसदले भने, ‘अहिले सबै सांसदहरूसँग छलफल गर्न सकिएन।’

उनका अनुसार अब डडेल्धुरामा जेठ १ गते दाहालले सबै सांसदसँग छलफल गर्ने र त्यहीँ समस्याको समाधान निकाल्ने आश्वासन दिएका छन्।

आइतबार खगराज भट्ट, रमेश धामी, झपट साउँद र शिवसिंह ओलीले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए। दाहालको बोलावटमा काठमाडौँ हानिएका सांसदहरू भेट नै नगरी डडेल्धुरामा छलफल गर्ने गरी सुदूरपश्चिम फिर्ता भएका छन्।

संसदीय दलको नेतामा भट्टलाई पुनर्वहाली गर्न अध्यक्ष प्रचण्डले पटक पटक दिएको लिखित र मौखिक निर्देशन अवज्ञा भएको छ। दाहालको निर्देशन बमोजिम भट्टलाई दल नेतामा पुनःस्थापित नगराइपछि छलफल गर्नका लागि सुदूरपश्चिमका माओवादी सांसदलाई काठमाडौँ बोलाइएको थियो।

एक वर्षभन्दा बढी भइसक्दा पनि माओवादीको सुदूरपश्चिम संसदीय दलभित्रको विवाद साम्य हुन सकेको छैन। २०८० माघ १२ गते मानबहादुर धामीको नेतृत्वमा बहुमत सांसद जुटाउँदै खगराज भट्टलाई दल नेताबाट हटाइएको थियो।

धामी पक्षले बहुमत जुटाएर दल नेता फेर्नुपर्ने अडान राखेको छ। संसदीय दल नेताबाट भट्टलाई हटाउँदा सभामुखबाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना सांसद थिए। धामीको पक्षमा ६ सांसद रहेका थिए।

अहिले माओवादी सुदूरपश्चिम संसदीय दलमा खगराज र मानबहादुर समूहमा ५–५ सांसद छन्। खगराजको पक्षमा शिवसिंह ओली, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर छन्।

मानबहादुरको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल छन्। धामी पक्षीय सांसद भने बहुमत जुटाएर दल नेता फेर्नु पर्ने अडानमा छन्।

‘बहुमत सिद्ध गरेर दल नेता बन्नुपर्छ भन्ने हाम्रो अडान हो। पार्टीले यसलाई मिलाउनुपर्छ,’ धामी पक्षीय एक सांसदले भने, ‘काठमाडौँमा छलफल हुन सकेन। अब डडेल्धुराको छलफलले केही निष्कर्षमा पुगिएला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad