महेन्द्र राजमार्गको छेउमै एउटा ठेला छ। केरा झुण्डाइएका छन्। हरियो मकै पनि राखिएको छ। ठेलामा बनाइएको सानो चुलोमा आगो दन्किरहेको छ।
त्यहीँ आगोमा मकै पोलिरहेका भेटिन्छन्, दार्चुलाको शैल्यशिखर नगरपालिका–३ का ३८ वर्षीय पदमबहादुर चन्द। उनलाई यसरी मकै पोलेर विक्री गर्न थालेको २ वर्ष भयो। महेन्द्रनगर बजारमा उनकी श्रीमतीले पनि मकै पोलेर बिक्री गर्ने काम गर्छिन्।
चन्द दम्पत्तिले मकै पोलेर घरखर्च जोहो गरेका छन्। सन्तानलाई शिक्षादीक्षा दिइरहेका छन्। पदमबहादुरको परिवारमा ६ जना सदस्य छन्। दुई छोरा र दुई छोरी महेन्द्रनगरमा पढिरहेका छन्। उनीहरु भीमदत्त नगरपालिका–६ बनखेतमा भाडाको घरमा बसोबास गर्छन्।
‘आम्दानीको मुख्य स्रोत मकै नै हो। दिनभरी मकै पोलेर बिक्री गरेर आएको पैसाले घरखर्च चलेको छ,’ पदमबहादुर भन्छन्, ‘घरभाडा, रासन, ग्यास, बालबच्चाकको विद्यालयको शुल्क सबै यसैबाट जोहो भएको छ।’
छोरी जेनीलाई महेन्द्रनगरमा फार्मेसी पढाइरहेका छन्, पदमबहादुरले। उनी पोलेको मकै ३५ रुपैयाँ दरले बिक्री गर्छन्। दैनिक ५० देखि १५० सम्म मकै बिक्री गर्ने गरेको पदमबहादुर बताउँछन्।

गाउँमा किसानबाट मकै खरिद गर्ने गरेको उनीहरुको भनाइ छ। १० रुपैयाँको दरले मकै खरिद गर्ने गरिएको छ। ‘भाडा बस्नु पर्ने, सबैचिज किनेरै खानुपर्छ। महंगाई धेरै छ। छोराछोरीको पढाइको शुल्कदेखि घरखर्च सबैमा मासिक ३० हजारसम्म खर्च हुन्छ,’ पदमबहादुर भन्छन्, ‘कमाएको सबै त्यसमै खर्च भएर बराबर हुन्छ। बिहान बेलुकाको खाना गुजारा चलेको छ।’
उनीहरुलाई यसवर्ष मकै पोल्न थालेको २ महिना भयो। अघिल्लो वर्ष ७ महिना मकै बिक्री गरेर खर्च जोहो गरेका थिए। हिउँदमा बदाम बिक्री गरेर खर्च जोहो गर्ने गरेको उनीहरु बताउँछन्।
पदमबहादुरले यसअघि ४ वर्ष चमेली जलविद्युत आयोजनामा प्राविधिकको काम गरे। पहाडमा ३ वर्ष अटो पनि चलाए। आम्दानी कम र खर्च बढी हुन थालेपछि सबै छोडेर तराइ झरेको उनी बताउँछन्।
‘छोराछोरी पढ्न यता आए। उनीहरुको रेखदेख गर्न पनि आउनु पर्ने भयो,’ उनले भने, ‘खाली बस्नु भन्दा त खर्च जोहो हुने काम खोजियो। केही पाइन्। त्यसपछि मकै पोल्न थालेको हो।’
Shares

प्रतिक्रिया