सुदूरपश्चिम


बाजुरा भूकम्प : दर्जन बढी घरमा क्षति, विस्थापित आफन्तको आश्रयमा

बाजुरा भूकम्प : दर्जन बढी घरमा क्षति, विस्थापित आफन्तको आश्रयमा

गोकुल जोशी
पुस ६, २०८१ शनिबार २०:१९, कञ्चनपुर

बाजुरामा आज बिहान गएको भूकम्पका कारण भौतिक संरचना क्षति पुगेको छ। दर्जनौँ घरमा क्षति पुगेपछि कतिपय परिवार विस्थापित भएर आफन्त कहाँ आश्रय लिएर बसेका छन्।

शनिबार बिहान ४ बजेर ५० मिनेटमा बाजुराको जगन्नाथ गाउँपालिका-५ गोत्री आसपास केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो। जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार मानवीय क्षति नभएपनि भूकम्पले भौतिक क्षति गरेको छ। कतिपय घर भत्किएका छन् भने कतिपय चर्किएका छन्।

अहिलेसम्म प्राप्त विवरणअनुसार बुढीनन्दा नगरपालिका–२ कोल्टीकी कल्पना बुढाको २ तले ४ कोठे कच्ची घरको दिवाल भत्केको छ। घरमा पूर्ण क्षति पुगेपछि उनको परिवार अहिले विस्थापित भएर आफ्नै अर्को घरमा बसेका छन्। 

बुढीनन्दा नगरपालिका-३ मेलढुस्नाका धनी बोहराको कच्ची घर भत्किएको छ। उनको ११ जनाको परिवार सोही घरमा बसेको प्रहरीले जनाएको छ। स्थानीय साइमल रोकायाको ढुंगा माटोले बनेको घर चर्किएको छ। उनको ७ जनाको परिवार सोही घरमा बसेका छन्। 

तलकोठीका घनश्याम बुढाको घर भत्किदा उनको ८ जनाको परिवार आफ्नै गोठ छानोमा आश्रय लिएर बसेका छन्। कैलाश अतिथी गृहको भवनमा पनि क्षति पुगेको छ। बुढीनन्दा नगरपालिका-४ तल्लावाडाका जनक बोहराको कच्ची घर भत्किएर पूर्ण रुपमा क्षति पुगेको छ। उनको ७ जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बस्ने प्रबन्ध मिलाउने प्रयास भइरहेको छ।

बुढीनन्दा नगरपालिका-३ सिराडीका तिने चदाराको घर भत्किएपछि उनको ५ जनाको परिवार आफ्नै अर्को छानोमा बसेका छन्। बुढीनन्दा नगरपालिका-३ नुरीका मानसिंह थापा भोटेको घर भत्किँदा उनको ५ जनाको परिवार अहिले आफ्नै अर्को घरमा आश्रय लिएर बसेको प्रहरीले जनाएको छ। 

अस्थायी प्रहरी पोष्ट पाण्डुसैनका अनुसार बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका पदम सार्कीको कच्ची घरको भित्ता चर्केर उच्च जोखिममा छ। सार्कीको १० जनाको परिवार उनकै भतिजा गणेश सार्कीको घरमा आश्रय लिएर बसेका छन्।

स्वामीकार्तिक खापर गाउँपालिका-१ खोलाहका दशरथ बिक र आनन्द बिकको घरमा पनि भूकम्पका कारण क्षति पुगेको छ। प्रहरीका अनुसार प्रहरीका अनुसार स्थानीय मन बिकको कच्ची घरको भित्ता चर्केर उच्च जोखिम छ। उनको ७ जनाको परिवार अहिले सोही घरमा बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad