सुदूरपश्चिम


सुदूरपश्चिम : ६ पदको उपचुनावमा ३१ जना भिड्दै, को कहाँ?

सुदूरपश्चिम : ६ पदको उपचुनावमा ३१ जना भिड्दै, को कहाँ?

गोकुल जोशी
मंसिर २, २०८१ आइतबार १८:५१, कञ्चनपुर

सुदूरपश्चिममा उपचुनाव हुने ६ स्थानमा उम्मेदवारी दर्ता भएको छ। रिक्त ६ पदका लागि हुने उपचुनावमा राजनीतिक दल र स्वतन्त्र गरेर ३१ जना चुनावी मैदानमा उत्रिएका छन्।

सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिए।

सुदूरपश्चिमका ६ स्थानमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए।

सुदूरपश्चिमको कञ्चनपुर, कैलाली, दार्चुला, डोटी बझाङ र बाजुरा गरेर ६ जिल्लाका ६ स्थानमा रिक्त जनप्रतिनिधि पदपूर्ति गर्न मंसिर १६ गते हुने उपचुनाव हुँदैछ।

आइतबार भएको उम्मेदवारी दर्तामाथि बुधबार बिहान १० देखि अपराह्न ३ बजेसम्म दाबी विरोध, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ र  मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

कहाँ कसले दिए उम्मेदवारी?
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेपाली कांग्रेसबाट पुतलीसरा शाही र नेकपा माओवादीबाट राजुकुमारी बिकले उम्मेदवारी दिएकी छन्।

नेकपा एकीकृत समाजवादीकी जवा शाही र राप्रपाकी सुनादेवी थापा भोटे धामीले पनि उपाध्यक्षमा उम्मेदवारी दिएकी छन्।

०७९ को स्थानीय तह चुनावमा उपाध्यक्षमा निर्वाचित मैना जोशीको ०८० माघ ३ मा निधन भएपछि सो पद रिक्त छ।

बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसका धिरेन्द्र पुजारा, नेकपा एमालेका लखिचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रका पुष्कर बहादुर बोहराले वडाध्यक्षमा उम्मेदवारी दिएका छन्।

सुर्मा गाउँपालिका–४ मा एमालेबाट निर्वाचित सर्जन बहादुर बोहरको ३८ वर्षको उमेरमा ०८० जेठ २४ गते निधन भएपछि त्यहाँ वडाध्यक्ष पद रिक्त छ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसका मोहन थापा, नेकपा माओवादी केन्द्रका देवीलाल थापा, नेकपा एमालेका देवीबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी कुमारी खड्का कुँवरले वडाध्यक्षमा उम्मेदवारी दिएकी छन्।

डोटीको पुर्वीचौकी गाउँपालिका–६ का अध्यक्ष पुष्पराज जोशीको निधन भएपछि पूरा कार्यकाल चलाउन पाएनन्। उनको ०७९ मंसिर १५ मा ह्दयघातका कारण निधन भएको थियो।

दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसका धनसिंह कुँवर, नेकपा एमालेका मानसिंह बडाल, नेकपा माओवादी केन्द्रका विरसिंह कार्की र स्वतन्त्र लालबहादुर कुँवरले उम्मेदवारी दिएका छन्।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा माओवादीबाट निर्वाचित अध्यक्ष मनोरथ भट्टको ०८० असार ११ मा निधन भयो। रिक्त वडाध्यक्ष पदमा उपचुनाव हुन लागेको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्क्षमा १२ जनाले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसका प्रकाश चन्द, नेकपा एमालेका बहादुर चन्द, नेकपा माओवादी केन्द्रका नानाराम कोली, नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द र राप्रपाका सुशिल कुमार भट्टले उम्मेदवारी दिए।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, राप्रपा नेपालका दिलबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौँरा, जनमत पार्टीका यादव बहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा, स्वतन्त्र युवराज चन्द र थानेश्वर लेखकले वडाध्यक्षमा उम्मेदवारी दिए।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का अध्यक्ष महेन्द्र खड्का ०८० पुस २६ मा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा महाकाली सिँचाइ नहरको सडकमा मृत भेटिए। त्यसपछि भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पद रिक्त छ।

जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि दुई जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसबाट टीका कुमारी चौधरी भुल र नागरिक उन्मुक्तिबाट रुकमती डगौँरा थारुले जिसस प्रमुखमा उम्मेदवारी दिएका छन्।

जिसस प्रमुख जितेका पदमबहादुर कलेलको ०७९ पुस २३ मा उपचारको क्रममा निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad