ad ad

सुदूरपश्चिम


जो आफ्नै ज्यानको बाजी थापेर १२ वर्षदेखि बाघ र चितुवामाथि निसाना लगाउँदैछन्

जो आफ्नै ज्यानको बाजी थापेर १२ वर्षदेखि बाघ र चितुवामाथि निसाना लगाउँदैछन्

गोकुल जोशी
साउन २०, २०८१ आइतबार २०:१३, कञ्चनपुर

हिंस्रक जनावरलाई नियन्त्रणमा लिने काम सुन्दै डरलाग्दो छ। कञ्चनपुरको वेदकोट नगरपालिका–१०, दैजीका ३९ वर्षे गणेश राना यस्तै काममा अभ्यस्त भइसके।

गणेश शिकारी होइन् तर उनी निशाना लगाउनमा खप्पिस छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटा संरक्षण कार्यक्रममा वन्यजन्तु प्राविधिकको रुपमा उनी कार्यरत छन्।

वन्यजन्तुको उद्धार, उपचार र अनुसन्धानका लागि डार्ट गरेर बेहोस पार्ने काम उनी गर्छन्। पहिला वन्यजन्तु सम्बन्धित अध्ययन गर्न स्वचालित क्यामेरा जडान गर्थे। चितवनमा उनले डार्ट गरेर वन्यजन्तु उद्धार गर्ने तालिम लिने अवसर पाए। तीन वर्षको तालिम सकेर १२ वर्षअघि उनी एनटीएनसीको शुक्लाफाँटा संरक्षण कार्यक्रममा आएका थिए।

त्यसपछि चितुवालाई डार्ट गरेर बेहोस गर्न कञ्चनपुरदेखि सुदूरपश्चिम पहाडको दार्चुलासम्म उक्लिएका छन्, गणेश। अहिलेसम्म उनले १० चितुवालाई बेहोस बनाएर नियन्त्रणमा लिइसकेका छन्।

पहिलोपटक दार्चुलामा पासोमा परेको चितुवालाई गणेशले डार्ट गरे। कञ्चनपुरको दोधारा चाँदनी–२ की २६ वर्षीया हीरा शाहलाई आक्रमण गरेर उखुबारी लुकेको बाघलाई उनै गणेशले निशाना लगाएर बेहोस बनाएका थिए।

यो गणेशलाई बाघमा मिलेको दोस्रो सफलता हो। यसअघि उनले बेलौरी नगरपालिका–८ मा महिलालाई मारेको बाघलाई बेहोस पारेका थिए।

जोखिम मोलेर निशाना सोझ्याउने काम थालेको दशकपछि उनी बाघ लठ्याउन सफल भए। ज्यानको बाजी थापेर नडराईकन खटिने गणेशको डार्ट गर्ने कौशल निखारिँदै गएको छ।

‘बाघले कतिबेला झम्टिन्छ, थाहै हुँदैन। नडाइकन निशाना ताक्नुपर्छ,’ बाघको सामना गर्दाको अनुभव उनी सुनाउँछन्, ‘बेलौरीमा पनि बाघ भाग्दै गर्दा डार्ट गरेको थिएँ। दोधारा चाँदनीमा पनि त्यस्तै भयो। बेलौरीमा हिलो हुँदा हात्ती नहिँडेर गाह्रो भएको थियो। उखुबारीमा सुई पातमा ठोक्किने सम्भावना हुनाले केही अफ्ठ्यारो हुन्छ।’

अहिलेसम्म उनले बेहोस पारेर नियन्त्रणमा लिइएका बाघ र चितुवा गरी १२ वटा पुगेका छन्।

बाघलाई बेहोस बनाउने औषधि भरिएको सुई लोड गरिएको ‘एयर गन’ साथमा हुन्छ। हात्तीको सहायताले लुकेको बाघ खोज्दै ऊ नजिक पुगेर सुई प्रहार गरिन्छ। यसैलाई ‘डार्ट’ भनिन्छ।

साथमा डार्ट गर्ने वन्यजन्तु प्राविधिक अरू पनि हुन्छन्। एनटीएनसीको शुक्लाफाँटा संरक्षण कार्यक्रममा ४ जना वन्यजन्तु प्राविधिक छन्।

पशु चिकित्सकले औषधि मिलाएर सुई दिने गर्छन्। वरिष्ठ वन्यजन्तु प्राविधिकले नेतृत्व गर्छन्। उनकै नेतृत्वमा इशारामा कुराकानी गर्दै बाघलाई निशाना लगाउने वातावरण तयार पार्छन्।

हात्तीमा निकुञ्जका कर्मचारी, नेपाली सेना र प्राविधिक सवार हुन्छन्। ‘जोखिम हुन्छ भनेर थाहा हुँदा पनि नडराई जानुपर्छ। सुरुमा धेरै डर लाग्थ्यो। काम गर्दै जाँदा आजकाल बानी परिसक्यो,’ गणेश भन्छन्।

वन्यजन्तु प्राविधिककै जागिरले गणेशले परिवार पालेका छन्। उनको पाँच जनाको परिवार छ। जेठा छोरा र छोरी अहिले कक्षा १० अध्ययन गर्छन्। कान्छा छोरा एलकेजीमा छन्।

‘काम गर्न थालेको धेरै भइसकेकोले परिवार बच्चा र श्रीमतीले राम्रैसँग काम बुझेका छन्,’ उनी भन्छन्, ‘परिवारको आर्थिक अवस्थाले लेखपढ गर्न पाइएन। एउटै सपना छ, छोराछोरीलाई पढाउने।’

दोधारा चाँदनीमा देखिएको नरभक्षी बाघलाई डार्ट गरेपछि गणेशको निकै प्रशंसा भइरहेको छ।

उखुबारीमा लुकेको बाघ खोजेर डार्ट गर्न गणेश ‘गन’ लिएर नारायणप्रसाद नामको हात्तीमा चढ्छन्। बाघले झम्टिएपछि अरू हात्ती नजिक जान डराइरहेका थिए।

नजिक गइरहेको नारायणप्रसाद हात्तीले गणेशलाई बाघनजिकै लैजान मद्दत गरेको थियो। गणेशले बाघलाई ताकेर ‘डार्ट गन’बाट बेहोस बनाउने सुई प्रहार गरे।

पहिलो निशाना फेल खायो। त्यसपछि भाग्दै गर्दा बाघलाई निशाना लगाइएको गणेश बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .