ad ad

सुदूरपश्चिम


दोस्रोपटक खोलिँदै भारतको धौलीगंगा बाँध, सतर्कता अपनाउन आग्रह

दोस्रोपटक खोलिँदै भारतको धौलीगंगा बाँध, सतर्कता अपनाउन आग्रह

नेपालखबर
असार २७, २०८१ बिहिबार १९:५६, धौलीगंगा

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध दोस्रोपटक खोलिने भएको छ। एनएचपिसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार यही असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाएको छ।

बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि भएकाले सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो।

बाँध खोलेका बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। बाँध खोलिएपश्चात् महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी वारपार नगर्न आग्रह गरिएको छ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको हो।

धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षात्का बेला हरेक वर्ष खोलिने गरिन्छ। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ। यसअघि भारतले गएको असार १५ गते बिहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो। 

विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगंगाको बाँध खोलिँदा  दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौंको क्षति भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .