ad ad

सुदूरपश्चिम


जोगबूढा पारी नेपाली भूमि जोगाइरहेका बिराना बस्ती

‘बिनाबर्दीका सिपाही भएर बसेका हाम्रो पीडा सरकारले कहिल्यै सुनेन’
जोगबूढा पारी नेपाली भूमि जोगाइरहेका बिराना बस्ती

गोकुल जोशी
भदौ ३१, २०८० आइतबार २१:३७, कञ्चनपुर

दोधारा चाँदनी नगरपालिका–८ का हरीशंकर रोकायालाई ५ दशकअघि सुन्दरनगर गाउँको दृश्य अझै सम्झना छ। नामको मात्रै गाउँ थियो, घर विरलै देखिन्थे। ठूलो घना जंगल थियो।

त्यहीँ जंगल फाडेर बस्ती बस्न थालिसकेको थियो। हरीशंकरका बुवा पनि जंगल फाडेरै त्यहीँ बसे। वि.सं. २०२४ सालअघि उनको परिवार दैलेखमा बस्थ्यो। 

त्यहाँ परिवारका सदस्यलाई खानलाउन पुगेन। भौगोलिक विकटता, खाद्यन्नको अभावले जीवन धान्न हम्मेहम्मे परेपछि हरीशंकरको परिवार सुन्दरनगर झरेको थियो।

त्यसबेला राजा महेन्द्रले जंगल फाडेर बस्ती खुलाएका थिए। त्यसै बेलादेखि हरीशंकर सुन्दरनगरमा बसोबास गर्न थालेका हुन।

‘घना जंगलमा चोरीडकैती हुन्थ्यो, बञ्चरो, हँसिया लिएर जुध्यौँ,’ हरीशंकर विगत सम्झँदै भन्छन्, ‘जंगली जनावरले सताउथे, बस्नै गार्हो थियो, जेनतेन ती दुःखका दिन काटियो।’

त्यस बेला हरीशंकर २२ वर्षका मात्रै थिए। अहिले उनी उमेरले ७८ पुगे। जीवनको उर्धाद्धमा पुगेका हरीशंकरको गाउँले पनि अहिले विकासमा कोल्टे फेर्दै छ। 

अझै पनि भारतीय पक्षको रवाफ खेप्नुपरेकै छ। सुन्दरनगर जोगबूढा नदी पारिको गाउँ हो। 

महाकाली पारिको अर्को नदी जोगबूढाले नेपाली ४ गाउँलाई दोधारा चाँदनीसँग अलग गरेको छ।

सुन्दरनगरसँगै शिवनगर (बडुवाल टोल), कञ्चनभोज र कुतियाकबर जोगबूढा नदी पारिका टापु हुन्। अनेकौँ समस्यासँग जुधेर यी गाउँका बासिन्दाले नेपाली भूमि बचाइरहेका छन्। 

‘जोगबूढा नदीले साह्रै सताउँछ, वर्षेनी बाढी, डुबान र कटानको समस्या छ,’ हरीशंकरले भने, ‘ज्यान जोगाउनै मुस्किल पर्छ, बिनाबर्दीका सिपाही भएर बसेका हाम्रो पीडा सरकारले कहिल्यै सुनेन।’

सीमामा भारतीय एसएसबीले थिचोमिचो गर्ने गरेको उनको भनाइ छ। नेपाल–भारत ओहोरदोहोर गर्दा एसएसबीले अनावश्यक केरकार गर्ने हरीशंकर बताउँछन्।

‘सागसब्जी किनमेल गर्न भारत जाँदा एसएसबीले कहिले परिचय पत्र देखाउन भन्छन्, कहिले अनावश्यक रुपमा विभिन्न बहाना झिकेर केरकार गर्छन्,’ उनले भने, ‘मननपरे भारततर्फ जान नदिएर घर फर्काइदिन्छन्।’

उनका अनुसार भारतले जोगबूढा नदीमा पानी छोडेर दुःख दिने गरेको छ। शारदा बाँधबाट भारततर्फ लगेको पानी बढी भएमा भारतीय पक्षले कालापुलबाट जोगबूढामा मिसाउँछ। ‘नोमेन्स लेन क्लियर नहुँदा पनि सीमामा समस्या छ, चाँडो नोमेन्स लेन क्लियर गर्नुपर्छ,’ उनले भने। 

सुन्दरनगरमा २ सय परिवारको बसोबास छ। दोधारा चाँदनी–७ कञ्चनभोजका हिरा थापा वि.सं. २०२३ सालमा दैलेखबाट बसाइँ सरेका थिए। कञ्चनभोज भारतीयको पशुचौपाया चराउने ठाउँ थियो।

वि.सं. २०१८ सालदेखि महाकाली पारि दोधारा चाँदनीमा बस्ती विकास भएको हो। ‘जोगबूढा नदीमा पुल थिएन, किस्तीबाट ओहोरदोहोर गर्थ्यौँ,’ हिरा थापा भन्छन्, ‘बाढीको समस्या वर्षौदेखि झेल्दैछौँ।’

सबैभन्दा ठूलो बस्ती कञ्चनभोजमा करिब ४ सय परिवारको बसोबास छ। दोधारा चाँदनी–३ शिवनगरका बासिन्दा जंगली जनावरको समस्याले हायलकायल छन्।

जंगली हात्तीका कारण घरखेत जोगाउनै मुस्किल छ। खेतको पूरै उब्जाउ कहिल्यै भित्र्याउन पाउँदैनन्। जंगली हात्तीबाट बाली जोगाउन रातभर जाग्राम बस्नु परेको महावीर क्षेत्री गुनासो गर्छन्। 

‘दिनहुँ हात्ती आइरहन्छन्, ५ कट्ठा खेतको बाली कहिल्यै भित्र्याउन पाउँदैन,’ उनले भने, ‘हात्ती कतिबेला घरभित्र पस्छन् भन्ने डर छ, त्यसैले भगाउन आगो बालेर रातभर जाग्राम बस्छौँ।’

बालीनाली मात्रै नभएर ज्यानै जोगाउन पनि मुस्किल पर्ने गरेको उनको गुनासो छ। दोधारा चाँदनी–१० कुतियाकबरलाई जोगबूढा र महाकाली नदीले घरेको छ। बर्सेनि आउने बाढीको चपेटामा पर्ने कुतियाकबरका बासिन्दा विस्थापित हुने चिन्तामा छन्। 

‘डेढ/दुई बिगाह जोगबूढा नदीले लग्यो, त्यतिकै महाकालीले पनि,’ कुतियाकबरका स्थानीय लालबहादुर खड्का भन्छन्, ‘कति परिवारको उठीबास भएको छ, तर पनि सरकारको ध्यान परेको छैन, हाम्रो पीडा कहिले सुन्ला?’

कुनै बेला सय भन्दा बढी परिवारको बसोबास रहेको यहाँ अहिले ४२ परिवार मात्रै बस्छन्। 

जोगबूढा पारिको विरानो बस्ती अहिले दोधारा चाँदनीसँग जोडिएका छन्। जसले किनमेलका लागि भारततर्फ जानु पर्ने बाध्यता हटेको छ। 

जोगबूढा नदीमाथि ४ वटा झोलुङ्गे पुल र एक पक्की पुल छ। कञ्चनभोजमा वि.सं. २०६४/०६५ तिर झोलुङ्गे पुल बनेको थियो। २ वर्षअघि पक्की पुल निर्माण भएर त्यहाँका स्थानीयलाई झनै सहज भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .