ad ad

सुदूरपश्चिम


हात्ती मरेको ठाउँमा एक वर्षअघि हात्तीकै आक्रमणबाट मारिएकी थिइन् किशोरी

हात्ती मरेको ठाउँमा एक वर्षअघि हात्तीकै आक्रमणबाट मारिएकी थिइन् किशोरी

गोकुल जोशी
भदौ २, २०८० शनिबार १३:५५, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालापानीस्थित सेप्टिक ट्यांकी भासिँदा बुधबार राति जंगली हात्ती फस्यो।

वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरको उक्त सेप्टिक ट्यांकीमा अर्को दिन बिहान हात्ती मरेको अवस्थामा भेटियो।

अन्दाजी ३०/३५ वर्षको पोथी हात्तीका चारै खुट्टा सेप्टिक ट्यांकीभित्र झुण्डिए भने पुच्छर र टाउको ट्यांकी बाहिर भए। जसले गर्दा घाँटी च्यापिएर सास फेर्न नपाउँदा हात्ती मरेको हो।

गत वर्ष वातावरण मध्यवर्ती सामुदायिक वन र वेदकोट नगरपालिकाको हात्तीथलास्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा दुई छावा भेटिएका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले उद्धार गरेपछि एउटा त्यसै राति र अर्को हात्तीसारमा १७ दिनपछि मर्‍यो।

वि.सं. २०७८ मा पुनर्वास क्षेत्रमा पनि हात्ती मृत फेला परेको थियो। त्यसको अघिल्लो वर्ष पनि विद्युतीय धरापमा परेर हात्ती मरेको थियो।

पछिल्लो केही वर्षयता कञ्चनपुरमा बर्सेनि हात्ती मरिरहेका छन्। हात्ती हिँड्ने परम्परागत मार्गमा मानव बस्तीका साथै विभिन्न संरचना बन्न थालेपछि मानव–वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन्।

परम्परागत मार्गमा अवरोध आउँदा हात्ती बस्ती पस्न थालेका छन्। जंगली हात्तीले बर्सेनि बालीनाली सखाप पार्नाका साथै मान्छे पनि मार्ने गरेको वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशी बताउँछन्।

सामुदायिक वन कालापानी गाउँसँगै जोडिएको छ। साउन-कात्तिक र माघ–फागुनमा जंगली हात्तीको बथानै आउने गरेको छ।

‘स्थानीय सामुदायिक वनभित्र पस्न डराउँछन्, हात्ती आएकै हुन्छन्,’ उनले भने, ‘सामुदायिक वनमा मानव–वन्यजन्तु द्वन्द्व कम गर्न बाँस रोपेको छौँ, त्यहीँ आहार गर्न हात्ती आउँछन्।’

हात्तीको बासस्थान क्षयीकरण र पूर्वाधार निर्माणले परम्परागत मार्ग खण्डीकृत हुँदा हात्ती संरक्षणमा चुनौती थपिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐर बताउँछन्।

‘हात्तीको जैविक मार्ग डिस्ट्रव छ, जसले हात्ती आफ्नो रुटमा हिँड्न सकिरहेको छैन,’ उनले भने, ‘त्यसैले हात्ती यताउता बस्तीतिर आइरहेका हुन्।’

शुक्लाफाँटाको वातावरण मध्यवर्ती र वेदकोट बैजनाथ मध्यवर्ती सामुदायिक वन हात्तीको करिडोरअन्तर्गत पर्दछन्। भारतको पिलिभित टाइगर रिजर्बबाट हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदान, बडेपानी खोला हुँदै चुरेसम्म पुग्छन्।

चुरेबाट वातावरण, वैजनाथ मध्यवर्ती सामुदायिक वन, तारापुर हुँदै ढक्का, लालझाडी मोहना संरक्षित क्षेत्र, पुनर्वास, भारतको दुधुवा नेशनल पार्क, कर्टिनाघाट हुँदै हात्ती बर्दिया राष्ट्रिय निकुञ्ज पुग्छन्। यो हात्ती हिँड्ने परम्परागत मार्ग हो।

अहिले यो मार्गमा मानव बस्ती विकासका साथै भौतिक संरचना र पूर्वाधार निर्माण हुँदा हात्तीको लागि धराप बनेका छन्।

‘ढक्कामा शिविर छ, पुनर्वास क्षेत्रमा हुलाकी राजमार्ग साथै मानव बस्ती विकास भएको छ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत ऐर भन्छन्, ‘हात्तीलाई विचरणका लागि ठूलो भूभाग आवश्यक पर्छ।’

जैविक मार्गमा रोकावट आएपछि हात्ती बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने गरेको उनले बताए।

सेप्टिक ट्यांकीमा हात्ती मरेको ठाउँमा एक वर्षअघि हात्तीको आक्रमणबाट एक किशोरीको ज्यान गएको थियो।

संरक्षणकर्मीका अनुसार भाले हात्ती आक्रामक हुन्छ। सेप्टिक ट्यांकीमा मरेको हात्ती पोथी हो।

‘जीवजन्तुको संख्या बढाउन र कायम राख्न पोथी अनिवार्य हो, त्यसै त पोथीको संख्या कम छ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरले भने, ‘पोथी हात्ती मर्दा निकै क्षति भएको छ।’

हात्तीको परम्परागत मार्गको अवरोध हटाउन सकिए सहजै ओहोरदोहोर गर्ने र मानव–वन्यजन्तु द्वन्द्वका घटनामा पनि कमी ल्याउन सकिने संरक्षणकर्मी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .